देउवाले भने- प्रतिगमनको खतरा अझै टरेको छैन

आइतबार, ३० असोज, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन्। 

आइतबार काठमाडौंमा आयोजित काठमाडौं २ का प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य उम्मेदवारहरूको परिचय तथा निर्वाचन परिचालन समिति घोषणा सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सत्तागठबन्धनमा आबद्ध दलहरू मिलेर अघि बढ्नुपर्ने बताएका हुन्। 

उनले देशमा प्रतिगमनको खतरा अझै पनि रहेको भन्दै राजनीतिक स्थायित्वका लागि सबै पार्टीहरू एक हुन जरुरी रहेको बताए। प्रधानमन्त्री देउवाले निर्वाचनमा कुनै एक पार्टीको बहुमत आउन गाह्रो हुने भएकाले गठबन्धन बनाउनुपरेको जिकिर गरे। 

मिलेर निर्वाचन लड्ने, लोकतन्त्रको सुदृढीकरण गर्ने र गरिबी हटाउने मौका आएकाले मौकाको सदुपयोग गर्नुपर्नेमा उनको जोड थियो। 

‘जो अहिलेको गठबन्धन बनेको छ, त्यसलाई स्थायित्व दिन आवश्यक छ। प्रतिगमनको खतरा अझै पनि छ। त्यसैले अहिले सबै पार्टीहरू एक हुन जरुरी छ। दोस्रो कुरा अहिलेको संविधान अत्यन्त समावेशी छ। त्यो संविधानमा सबै नेपाली अटाउने ठाउँ छ,’ उनले भने, ‘साथसाथै कुनै पनि पार्टीको बहुमत आउन गाह्रो छ। त्यसैले गठबन्धन मिलाएर लानुपर्ने आवश्यक छ। मिलेर चुनाव लड्ने, मिलेर लोकतन्त्रको सुदृढीकरण गर्ने साथसाथै मिलेर गरिबी हटाउने। त्यो मौका आएको छ। यो हाम्रो लागि ठूलो मौका हो। र, चुनौती पनि हो। त्यसैले चुनौतीको सामना गर्दै मौकाको सदुपयोग गरेर हामीले नेपाललाई सच्चा मानेमा गणतन्त्रात्मक, लोकतन्त्रिक शासन व्यवस्थालाई सुदृढ गर्नु छ।’

उनले काठमाडौं क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार र प्रदेश सभा सदस्य उम्मेदवारहरू आपसमा मिलेर गठबन्धनलाई अत्यधिक मतले विजय गराउने विश्वास व्यक्त गरे। 

सुझावित समाचार