आइसिसी टी–२० विश्वकपको आठौँ संस्करण आइतबारदेखि अस्ट्रेलियामा सुरु हुँदै छ । आइतबार उद्घाटन खेलमा श्रीलंका र नामिबियाबीच प्रतिस्पर्धा हुँदै छ । विश्वकपमा बलिङतर्फ उमर गुलको नाममा रोचक कीर्तिमान छ । उनी लगातार दुई संस्करण सर्वाधिक विकेट लिने एक मात्रै खेलाडी हुन्, उनले सन् २००७ र २००९ मा यस्तो उपलब्धि हासिल गरेका थिए ।
उमर गुल, विकेट : १३
सन् २००७ मा विश्वकपको पहिलो संस्करण दक्षिण अफ्रिकामा भएको थियो । पाकिस्तानले फाइनलमा स्थान बनाउँदा उमर गुलले सर्वाधिक १३ विकेट लिएका थिए । उनले स्कटल्यान्डविरुद्ध चार, न्युजिल्यान्डविरुद्ध तीन र फाइनलमा भारतविरुद्ध तीन विकेट लिएका थिए । यद्यपि, पाकिस्तान उपाधि जित्न सफल भएन । सन् २००९ मा पनि उमरले १३ विकेट लिए । यसपटक भने उनी पाकिस्तानलाई उपाधि जिताउन सफल भए ।
डर्क पिटर नान्स, विकेट : १४
सन् २०१० मा वेस्ट इन्डिजमा भएको तेस्रो संस्करणको विश्वकपमा डर्क पिटरले सर्वाधिक धेरै १५ विकेट लिए । यस विश्वकपमा उनको औसत १३.०७ रहेको थियो । नान्सले पाकिस्तान, बंगलादेश र भारतविरुद्ध तीन विकेट लिएका थिए । फाइनलमा उनी विकेटविहीन रहँदा अस्ट्रेलिया इंग्ल्यान्डसँग पराजित भएको थियो ।
अजन्था विन्सलो मेन्डिज, विकेट : १५
सन् २०१२ मा श्रीलंकामा आयोजना भएको विश्वकपमा अजन्था विन्सलो मेन्डिसले सर्वाधिक १५ विकेट लिए । मेन्डिजले जिम्बाबेविरुद्ध पहिलो खेलमा ६ रन खर्चिएर ८ विकेट लिएका थिए । फाइनलमा वेस्ट इन्डिजविरुद्ध उनले १२ रन खर्चेर चार विकेट लिएका थिए । यद्यपि, यस खेलमा वेस्ट इन्डिज ३६ रनले विजयी भयो ।
इम्रान ताहिर, विकेट : १२
सन् २०१४ मा पाँचौँ संस्करणको विश्वकप बंगलादेशले आयोजना गरेको थियो । श्रीलंका च्याम्पियन भएको यस विश्वकपमा दक्षिण अफ्रिकाका इम्रान ताहिर र नेदरल्यान्ड्सका असान मालिकले समान १२–१२ विकेट लिएका थिए । विश्वकपमा असानले उत्कृष्ट प्रदर्शन गर्दा नेदरल्यान्ड्स पहिलोपटक दोस्रो चरणमा प्रवेश गरेको थियो ।
मोहम्मद नाबी, विकेट – १२
सन् २०१६ मा भारतमा आयोजना भएको छैटौँ संस्करणको विश्वकपमा अफगानिस्तानका तत्कालीन कप्तान मोहम्मद नाबीले सर्वाधिक १२ विकेट लिएका थिए । नाबीको औसत १३.६६ रहेको थियो । नाबीपछि अफगानिस्तानकै रसिद खानले ११ विकेट लिएका थिए । यद्यपि, अफगानिस्तान दोस्रो चरणमा स्थान बनाउन असफल भयो । विश्वकपको उपाधि भने वेस्ट इन्डिजले जितेको थियो ।
वानिन्दु हसारंगा, विकेट : १६
सन् २०२१ मा आयोजना भएको सातौँ संस्करणको विश्वकपमा श्रीलंकाका वानिन्दु हसरंगाले सर्वाधिक १६ विकेट लिए । हसारंगा एकै संस्करणमा १६ विकेट लिने पहिलो खेलाडीसमेत हुन् । स्पिनर वानिन्दुले दक्षिण अफ्रिका र इंग्ल्यान्डविरुद्ध समान तीन–तीन र अस्ट्रेलियाविरुद्ध दुई विकेट लिएका थिए । यस संस्करणको विश्वकप अस्ट्रेलियाले जित्यो ।