कांग्रेसले आर्थिक विकास र सुशासनलाई प्राथमिकता दिँदै घोषणापत्र तयार पारेको छ । शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रारम्भिक मस्यौदामाथि आएका सुझाव समेट्ने गरी घोषणापत्र पारित गरेको छ ।
सहमहामन्त्री जीवन परियारका अनुसार बैठकमा सभापति शेरबहादुर देउवासहित १२ पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्यले घोषणापत्रको मस्यौदामाथि सुझाव दिएका थिए । सुझावसहित मस्यौदा समितिले यसलाई अन्तिम रूप दिएर सार्वजनिक गर्ने कांग्रेसको तयारी छ । पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शनिबार साँझ ७ बजेसम्म लिखित सुझाव पेस गर्न समय दिएको छ ।
घोषणापत्रमा केपी ओली नेतृत्वको सरकारकले गरेको संसद् विघटनलगायत संविधानविपरीतका गतिविधि, कांग्रेस नेतृत्वमा संविधान संरक्षणको प्रतिबद्धता, ०४८ देखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य काम र निर्वाचनपछि कांग्रेस नेतृत्वमा बन्ने सरकारको रोडम्याप समेटिने सहमहामन्त्री परियारले बताए । घोषणापत्र तयारी समितिका प्रवक्तामा सहमहामन्त्री परियारले निरन्तरतामा नवीनता दिने संकल्पअनुसार घोषणापत्र तयार हुने बताए ।
‘मूलत घोषणापत्रमा हामीले ०७४ को निर्वाचनपछि ओली नेतृत्वको सरकारले संसदीय शासन प्रणालीकै विरुद्धमा गरेका गतिविधि समेटेर ०७२ मा कांग्रेस नेतृत्वमा बनेको संविधान संरक्षणकोे मूल नेतृत्व कांग्रेसले नै गर्छ भन्ने पहिलो प्रतिबद्धता घोषणापत्रमा आउँछ,’ उनले भने, ‘०४८ देखि कांग्रेस नेतृत्वको सरकारले गरेका मुख्य कामलाई समेट्नेछौँ । साथै, आगामी निर्वाचनपछि पाँच वर्षका निमित्त बन्ने कांग्रेस नेतृत्वको सरकारको रोडम्याप घोषणापत्रमार्फत सार्वजनिक गछौँ ।’
समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्दै छौँ : डा. स्वर्णिम वाग्ले प्रारम्भिक मस्यौदा उपसमिति संयोजक
घोषणापत्रमा तीन खण्ड छन् । पहिलो खण्डमा समसामयिक राजनीति, एजेन्डा र दृष्टिकोण, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने गरी फराकिलो आर्थिक सामथ्र्यका विषय र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताका विषय रहेको छ ।
कांग्रेसले तत्कालीन आर्थिक एजेन्डासहित समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने गरी तीन खण्डमा घोषणापत्र तयार हुने जनाएको छ । प्रारम्भिक मस्यौदा उपसमिति संयोजक डा. स्वर्णिम वाग्लेले घोषणापत्रमा तीन खण्ड रहने जानकारी दिए । उनका अनुसार पहिलो खण्डमा समसामयिक राजनीति, एजेन्डा र दृष्टिकोण, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने गरी फराकिलो आर्थिक सामथ्र्यका विषय र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताका विषय रहेको उनले बताए ।
घोषणापत्र समग्रमा आर्थिक विकासमा केन्द्रित हुने वाग्लेको भनाइ छ । साथै, ३० वर्षअघि कांग्रेसले सुरु गरेको आर्थिक विकाससँग अन्तर्निहित हुने गरी घोषणापत्र तयार हुने बताए । ‘घोषणापत्रको सार सुशासन नै हुन्छ । अझै आर्थिक सुशासनलाई घोषणापत्रमा प्राथमिकता दिइनेछ । त्यसपछि युवा, रोजगारी र उद्यमशीलताका आर्थिक एजेन्डा रहनेछन् । ३० वर्षअघि कांग्रेसले सुरु गरेको आर्थिक विकाससँग अन्तर्निहित हुने गरी घोषणापत्र तयार गर्नेछौँ,’ उनले भने, ‘विभिन्न कारणबाट अघि बढ्न नसकेका कांग्रेस नेतृत्वले अघि सारेका विकासका कामलाई निरन्तरता दिने गरी घोषणापत्र तयार हुनेछ । साथै सुशासनको थेम र जलवायु परिवर्तनलगायत मुद्दामा अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुने विषयलाई पनि जोडदार रूपमा उल्लेख गर्नेछौँ ।’
वाग्लेका अनुसार पहिलो खण्डमा संविधान र सुशासनबारे कांग्रेस नेतृत्वको सरकार आइसकेपछि कोरोना नियन्त्रण, कांग्रेसको अडान र सफलताबारे संसद् पुनस्र्थापनापछि संसद् र सकारकामार्फत भएका नागरिकता विधेयकलगायत महत्वपूर्ण विषय समेटिनेछन् । दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्रसहित आगामी पाँच वर्षको रणनीति र सन् २०३० सम्म अन्तर्राष्ट्रिय रूपमा नेपाल आबद्ध भएका दिगो विकासका लक्ष्यका विषयले निरन्तरता पाउने गरी सैद्धान्तिक आधार प्रस्तुत हुनेछन् । दोस्रो खण्डलाई ‘फराकिलो आर्थिक सामथ्र्य’ उल्लेख गरिनेछ । तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकता, जसमा १० विषयमा वित्तीय व्यवस्थाको आकलनसहितका विकास योजना रहनेछन् ।
सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको विषय पनि सशक्त रूपमा समावेश हुनेछ । यसबाहेक घोषणापत्रमा शिक्षा, स्वास्थ्यमा कांग्रेसको योजना, सुरक्षाअन्तर्गत गत निर्वाचनकै वेलाबाट ‘कोषदेखि शोकसम्म’ भन्ने एकीकृत सामाजिक सुुरक्षालाई ठोस रूपमा प्रस्तुत गर्ने र कोरोनापछिको विकास र जलवायु परिवर्तन र तात्कालीन आर्थिक एजेन्डासहितको नयाँ सम्भावनाको क्षेत्रका विषय समेटिने उनले जानकारी दिए ।
कार्यसम्पादन समिति बैठकमा घोषणापत्र तयारी समितिका संयोजक महामन्त्री विश्वप्रकाश शर्माले घोषणापत्रको मस्यौदा प्रस्तुत गरेका थिए । प्रारम्भिक मस्यौदा उपसमितिका तर्फबाट संयोजक डा. स्वर्णिम वाग्लेले मस्यौदाबारे व्याख्या गरेका थिए । सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, डा. रामशरण महत, अर्जुननरसिंह केसी, डा. प्रकाशशरण महत, उमा रेग्मी र जिपछिरिङ लामाले घोषणापत्रमा सुझाव दिएका थिए ।
शुक्रबार बैठकमा उपसमिति सदस्यहरू डा. गेजा शर्मा वाग्ले, डा. कृष्ण पौडेल, प्रताप पौडेल, समिति सदस्य डा. गोविन्दराज पोखरेल सहभागी रहेका थिए । कांग्रेसले घोषणापत्र निर्माणका लागि २२ भदौमा महामन्त्री शर्माको संयोजकत्वमा ४१ सदस्यीय समिति बनाएको थियो । आएका सबै सुझाव समावेश गरेर घोषणापत्रलाई अन्तिम रूप दिने कांग्रेसले जनाएको छ ।
के–के छन् घोषणापत्रको मस्यौदामा ?
- घोषणापत्रको सार सुशासनलाई बनाइएको छ । अझै आर्थिक सुशासनलाई प्राथमिकतामा राखिएको छ । त्यसपछि युवा, रोजगारी र उद्यमशीलताका आर्थिक एजेन्डा छन् ।
- ३० वर्षअघि कांग्रेसले सुरु गरेको आर्थिक विकाससँग अन्तर्निहित हुने गरी कार्यक्रम तय गरिएका छन् । जलवायु परिवर्तनलगायत मुद्दामा अन्तर्राष्ट्रय मञ्चमा सशक्त रूपमा प्रस्तुत हुने विषय पनि कांग्रेसले जोडदार रूपमा उठाउँदै छ ।
- समुन्नत नेपालको मार्गचित्रसहित आगामी पाँच वर्षको रणनीति र सन् २०३० सम्म अन्तर्राष्ट्रिय रूपमा नेपाल आबद्ध भएका दिगो विकासका लक्ष्यहरूका विषयले निरन्तरता पाउने गरी सैद्धान्तिक आधार प्रस्तुत गरिएका छन् ।
- सार्वभौमिक समानता र अन्तर्राष्ट्रिय भूमिकाको विषय पनि सशक्त रूपमा समावेश गरिएको छ । शिक्षा, स्वास्थ्यमा कांग्रेसको योजना, ‘कोषदेखि शोकसम्म’ भन्ने एकीकृत सामाजिक सुुरक्षा कार्यक्रम, कोरोनापछिको विकास र जलवायु परिवर्तन तथा तत्कालीन आर्थिक एजेन्डासहितको नयाँ सम्भावनाको क्षेत्रमाथि घोषणापत्रको मस्यौदाले जोड दिएको छ ।
घोषणापत्रमा तीन खण्ड छन् । पहिलो खण्डमा समसामयिक राजनीति, एजेन्डा र दृष्टिकोण, दोस्रो खण्डमा समुन्नत नेपालको मार्गचित्र प्रस्तुत गर्ने गरी फराकिलो आर्थिक सामथ्र्यका विषय र तेस्रो खण्डमा क्षेत्रगत प्राथमिकताका विषय रहेको छ ।