मखमलीले मगमगाएको गुन्डु, छैन बजारको चिन्ता [तस्बिर]

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

यतिवेला भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डु गाउँ मखमली, सयपत्री र गोदावरीको सुगन्धले मगमगाएको छ। तिहार आउन अझै १२ दिन बाँकी रहँदा यहाँका किसान, गृहिणीलगायत फूल व्यवसायी फूल टिपेर माला उन्न व्यस्त देखिन्छन्। यस क्षेत्रका खेतबारी, करेसाबारी रंगीन फूलले छपक्क छोपेको छ भने स्थानीयवासीलाई फूल टिप्ने, माला बनाउने चटारोले भ्याइनभ्याई छ।

किसानले खेतमा धानका साथै नगदेबालीका रूपमा फूल रोपेर व्यापार गर्दै आएको स्थानीयको भनाइ छ। यो क्षेत्रका किसानले असार, साउनदेखि नै मखमली फूल टिपेर माला गाँस्न थाल्छन्। 

बिहान फूल टिप्ने र दिउँसो माला उन्ने काम साउनयता स्थानीयको दिनचर्या बनेको छ। किसानहरू एक–अर्कामा अर्मपर्म गरेर मखमलीको खेती गर्दछन्। नेपालीको सांस्कृतिक पर्व तिहारमा विशेष माग हुने र नजिकको बजार (काठमाडौं) लाई पायक बनाई माला उन्ने काम गरिरहेको स्थानीयवासीले बताए। 

फूलकै माध्यमबाट गाउँमै राम्रो आयआर्जन भएको स्थानीय नारायणी खत्रीले बताए। उनले गत वर्षको जत्ति नै मखमली फूल लगाएको र अहिले माला उन्ने क्रम धमाधम चलिरहेको बताए। 

तिहारको समय भएकाले फूल र माला बेच्न बजार धाइराख्नु नपर्ने उनको भनाइ छ। घरमा त्यत्तिकै बसिरहनुभन्दा घरमा नै बसेर कुनै काम गर्दा खर्चका लागि पैसा जुट्ने बताए। 

तिहारको वेलामा आफूले पाँच हजारसम्म मखमली फूलका माला उन्ने गरेको उनकाे भनाइ छ । उनले भने, ‘हामीले पोहोर जति बेचेका थियौँ, यस वर्ष पनि त्यत्ति नै बेचेका छौँ। लगाएको उही नै हो। समय कटाउने बाटो हो, काम गरेमा आफूलाई खर्च पनि भयो। घरमा बसिरहनुभन्दा एउटा इलम गरेकै राम्रो।’ 

त्यस्तै, अर्का स्थानीय नारायणी खत्रीले गाउँघरमा फूल लगाउनका लागि धेरै लगानी पनि नलाग्ने र आम्दानी पनि दोब्बर हुने बताए। उनले गाउँघरमा अर्मपर्म गरेर फूल लगाउने काम भइरहेकोसमेत बताए। 

उनका अनुसार एक रोपनी जग्गामा फूल लगाउन चार हजारसम्मको लगानी लाग्छ। दसैँ अघिसम्म प्रतिमाला २० रुपैयाँमा बिक्री गरे पनि तिहारको वेलामा भने प्रतिमाला ३० रुपैयाँमा घरबाटै बिक्री हुन्छ। 

तिहारका लागि आवश्यक फूल उत्पादन हुने सो क्षेत्रका किसानका लागि बजारको समस्या भने नभएको स्थानीयको भनाइ छ। विशेषगरी, राजधानीका फूल व्यवसायी घरमै माला किन्न आउने र माला उनेर ठीक पारेपछि प्रतिमाला ३० रुपैयाँसम्म घरबाटै बिक्री हुने भएकाले बजारको समस्या नभएको स्थानीय बताउँछन्। 

सुझावित समाचार