बालबालिकालाई चेस खेलाउन आवश्यक

शुक्रबार, २८ असोज, २०७९
डिजिटल संस्करण

चेसले सोच्ने क्षमता बढाइदिन्छ 

श्यामसुन्दर श्रेष्ठ अध्यक्ष, मध्यपुर चेस क्लब 

चेसका नियमहरू सिक्न सुरुमा केही अप्ठेरो हुन सक्छ । तर, जानिसकेपछि यो खेल निकै रमाइलो लाग्छ । प्रतियोगिताका केही निश्चित मापदण्ड भए पनि घरमै बसेर खेल्नका लागि साधारणतया तपाईंले एउटा बोर्ड र गोटी मात्रै पनि किने पुग्छ । अन्य खेलजस्तो ठूलो समूहको जरुरी पनि पर्दैन, केवल एकजना साथी भए खेल्न मिल्छ । कहिलेकाहीँ आफैँ गोटी चालेर एक्लै पनि खेल्न सकिन्छ । 

आजकल त कम्प्युटर र मोबाइलसँग पनि चेस खेल्न सकिन्छ । यस खेलले मानिसको दिमागलाई ‘स्मार्ट’ बनाउँछ । प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धि गर्छ । कुनै समाधान नै नभएको घडीमा पनि शान्त र धैर्यपूर्वक सोचेर नयाँ स्टेप चाल्न सक्नु तथा प्रतिस्पर्धीको चाल बुझ्न सक्नु चेस खेलाडीको खुबी हो । व्यक्तिगत जीवनमा पनि यो लागू हुन्छ । यसले समस्या समाधान गर्ने तपाईंको खुबी बढाइदिन्छ । 

चेसले सोच्ने क्षमता बढाइदिन्छ । एउटा सकारात्मक दृष्टिकोण विकास गर्छ, तपाईंको स्मरण शक्ति बढाउँछ, ध्यानलाई गहिरो पार्छ र सिर्जनशीलता बढाउँछ । योजना बनाउने खुबीलाई पनि यसले तिखार्छ । सारमा, तपाईंमा एउटा अलग जागरण ल्याउँछ । 

अहिलेको समय बालबालिकालाई चेस खेलाउन निकै आवश्यक छ । किनकि, बच्चादेखि नै उनीहरूको मानसिक वृद्धिविकास, समस्या समाधान गर्ने खुबी र सोच्ने क्षमता अभिवृद्धि गर्न सकियो भने भविष्यमा देशमा राम्रो जनशक्ति उत्पादन हुनेछ । आजकल विद्यार्थीहरू विभिन्न अनलाइन खेलको लतमा फसेका छन् ।

त्यस्ता खेलले बच्चाको मानसिक स्वास्थ्यमा प्रतिकूल असर गरेको कुरा आइरहेकै छ । तर, चेस फरक छ । चाहे साथीहरूसँग खेल्नुस् वा एक्लै कम्प्युटर वा मोबाइलमा खेल्नुस्, जहाँसुकै खेले पनि यसले नकारात्मकताबाट टाढा राख्छ र फ्रेस गराउँछ । चेसले समाजमा घुलमिल हुने तथा सम्बन्ध विकास गर्ने क्षमता अभिवृद्धि गर्छ ।

See More On

सुझावित समाचार