ओखलढुंगामा एक सिटका लागि १० को उम्मेदवारी

सोमबार, २४ असोज, २०७९
डिजिटल संस्करण

ओखलढुंगामा संघीय प्रतिनिधिसभा सदस्य एक सिटका लागि १० जनाले उम्मेदवारी दिएका छन्। जिल्लाबाट एक स्वतन्त्र र नौ दल गरी १० जनाले प्रतिनिधिसभामा उम्मेदवारी दिएका हुन्। 

जिल्लाका २ प्रादेशिक क्षेत्रमा भने ११ वटा दलका २५ जनाले मनोनयन दर्ता गराएका छन्। आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि जिल्लामा ११ वटा दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी(नेपाल), मंगोल नेसनल अर्गनाइजेसन पार्टी, नेपाल मजदुर किसान पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट), राष्ट्रिय स्वतन्त्र पार्टी र हाम्रो नेपाली पार्टीबाट नेताहरूले मनोनयन दर्ता गराएका छन्।

त्यस्तै, प्रदेश सभा सदस्यका प्रदेश सभा 'क' का लागि ७ जना र प्रदेश सभा सदस्य 'ख'तर्फ एक स्वतन्त्रसहित आठजनाको उम्मेदवारी दर्ता भएको छ।

कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका लागि रामहरि खतिवडा, प्रदेश सभा 'क'मा प्रदीप सुनुवार र प्रदेश 'ख' मा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का बाबुराम गौतम, नेपाल कम्युनिस्ट पार्टी (एमाले) बाट प्रतिनिधिसभा सदस्यमा यज्ञराज सुनुवार, प्रदेश सभा 'क' मा अम्बिरबाबु गुरुङ र प्रदेश सभा ख मा ज्ञानबहादुर खड्का जिवी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) बाट प्रतिनिधिसभा सदस्यको लागि योगेन्द्र बस्नेत, प्रदेश सभा 'क' मा देवराज दाहाल र प्रदेश सभा 'ख' मा कमलबहादुर खड्का, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यमा डिकप्रसाद बाँस्तोला प्रदेश सभा 'क' मा सानुराम दाहाल र प्रदेश सभा 'ख' मा पुष्पराज पोखरेलले मनोनयन दर्ता गराएका छन्। 

जनता समाजवादी पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि जुद्धबहादुर राई, प्रदेश सभा 'क' मा खेमराज खड्का र प्रदेश सभा 'ख'मा शान्तबहादुर विक, मंगोल नेसनल अर्गनाइजेसन पार्टीबाट प्रतिनिधिसभाका लागि बिर्जबहादुर थापामगर, प्रदेश सभा 'क'मा लाक्पा शेर्पा र प्रदेश सभा 'ख'मा बुद्धिमान राईले उम्मेदवारी दिए। 
 
त्यस्तै' नेपाल मजदुर किसान पार्टीबाट प्रतिनिधिसभा सदस्यको लागि कुमार तामाङ, प्रदेश सभा 'क' मा नवराज खत्री, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरूहट) प्रतिनिधिसभा सदस्यका लागि ङिमालमु शेर्पा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यका लागि शोभा कार्की र प्रदेश सभा सदस्य 'ख' मा हाम्रो नेपाली पार्टीबाट हिराबहादुर कटवालले मनोनयन दर्ता गराएका छन्। 
 
स्वतन्त्रमा २ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मनोनयन दर्ता गराउनेमा प्रतिनिधिसभा सदस्यमा हर्कबहादुर खड्का र प्रदेश सभा 'ख'मा टेकनाथ अधिकारीले मनोनयन दिएका हुन्।  

यद्यपि, कुनै पार्टीका आधिकारिक उम्मेदवारलाई धक्का दिनेगरी कुनै दलका नेताहरूले बागी उम्मेदवारी दिएका छैनन्। विगतका निर्वाचनहरूमा दलका आधिकारिक उम्मेदवारविरुद्ध बागी पर्ने गरेको थियो। 
 

सुझावित समाचार