एमालेका मधेस प्रदेश प्रमुख सचेतक साहद्वारा पार्टी परित्याग

शनिबार, २२ असोज, २०७९
डिजिटल संस्करण

 नेकपा एमालेका मधेस प्रदेशका प्रमुख सचेतक किशोरी साह (कमल) पार्टी परित्यागको घोषणा गरेका छन्।  

पार्टीले प्रतिनिधिसभा र प्रदेश सभाका लागि टिकट नदिएपछि उनले शनिबार पार्टी परित्यागको घोषणा गर्दै स्वतन्त्र वा जनमत पार्टीबाट उम्मेदवारी दिने बताए। उनलाई सिके राउत नेतृत्वको जनमत पार्टीले धनुषा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभातर्फकाे उम्मेदवार बनाउने बताएकाे छ। 

नयाँ पत्रिकासँग कुराकानी गर्दै नेता साहले भने,‘पार्टीमा नातावाद कृपावाद हाबी भयो, मधेस प्रदेशमा पार्टीभित्र एक परिवारको वर्चस्व छ। अध्यक्ष ओलीलाई गुनासो गरे पनि कुनै सुनुवाइ भएन । त्यसकारण पार्टी परित्याग गरेको छु।’ 

कुन पार्टीबाट चुनाव लड्ने भने जिज्ञासामा नेता साहले भने, ‘अहिलेसम्म क्लियर भएको छैन, कतिपय साथीहरूले स्वतन्त्र रूपमा उम्मेदवारी दिन भन्दै छन्, कतिले जनमत पार्टीबाट पनि भन्दै छन् । तर, मैले अहिलेसम्म कुनै निर्णय लिन सकेको छैन। बहुसंख्यक साथीको जे निर्णय हुन्छ त्यही गर्छु।’

पछिल्लो समय एमालेका सचिव रघुवीर महासेठसँग नेता साहको खटपट चलिरहेको छ । महासेठले नै नेता साहको टिकट काटेको एमालेका नेताहरूको भनाइ छ।

२०७४ सालको निर्वाचनमा नेता साह राम्रो मतान्तरले निर्वाचित भएका थिए। उनी मधेस प्रदेश सभामा पार्टीका प्रमुख सचेतकको जिम्मेवारीमा थिए। 
 

सुझावित समाचार