खुद्रा व्यापार संघको ४३औँ साधारणसभाले पवित्र बज्राचार्यको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । खुद्रा व्यापारमा लामो समय काम गरेका उनीसँग यसअघि पनि संघको अध्यक्ष भएर काम गरिसकेको अनुभव छ ।
बज्राचार्यको नेतृत्वमा गठित नयाँ कार्यसमितिका उपाध्यक्ष नरेशबहादुर शाही, महासचिव अमुलकाजी तुलाधर, सचिव रन्जु काफ्ले, कोषाध्यक्ष वसन्त श्रेष्ठ र सहकोषाध्यक्ष ध्रुवकुमार अधिकारी चयन भएका छन् । त्यस्तै, सदस्यहरूमा सुरज होना, शिव महर्जन, दिनेश तुलाधर र धीरेन्द्र सिंह चयन भएका छन् ।
साधारणसभाको उद्घाटन सत्रमा कार्यवाहक अध्यक्ष रामकृष्ण मानन्धरले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि रहेका चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले कोरोना महामारी, तरलता अभाव, बढ्दो ब्याजदरलगायत समस्याका बाबजुद पनि व्यवसायीहरू निराश नभई काम गर्नुपर्ने बताएका थिए । उनले सबै व्यवसायी मिलेर मुलुकको निजी क्षेत्रलाई अगाडि बढाउनुपर्ने बताए ।
अध्यक्ष मल्लले वस्तु तथा सेवाको आपूर्ति बढाई देशको अर्थतन्त्र सुधार गर्न सबै व्यवसायी एकजुट भएर अघि बढ्नुपर्ने बताएका थिए । कार्यक्रममा नवनियुक्त अध्यक्ष बज्राचार्यले कोरोनाको असर अहिलेसम्म खुद्रा व्यापारमा परिरहेको र कोरोनाका कारण देशभर २८ प्रतिशत खुद्रा व्यवसायी पलायन भएर अहिलेसम्म फर्कन नसकेको जानकारी दिएका थिए । ‘दुई–तीन वर्षसम्म कोरोनाको असर देखिँदा धेरै खुद्रा व्यवसायी पलायन हुनुप¥यो,’ उनले भने । कार्यक्रममा पूर्वसचिव कृष्णहरि बास्कोटा, अर्थविद् चन्द्रमणि अधिकारीलगायतको उपस्थिति थियो ।