तेस्रो गोरखकाली मेलामा उत्तरी गोरखामा उत्पादन भएको ‘चुमनुब्री स्याउ’ बिक्रीका लागि राखिएको छ । चुमनुब्री गाउँपालिका–४, पोरमा उत्पादित स्याउको स्वाद गोरखावासीलाई चखाउने उद्देश्यले स्याउ व्यवसायी लाक्पाडुण्डुप लामाले हेलिकोप्टरबाट स्याउ ढुवानी गरी बिक्री सुरु गरेका हुन् । हेलिकोप्टरबाट ढुवानी गरेर तीन हजार केजी स्याउ मेलामा ल्याइएको लामाले बताए । मेलाको स्टलमा गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस स्याउ राखिएको छ ।
प्रतिकिलो पाँच सय रुपैयाँमा बेच्ने गरिएको लामाले बताए । ‘चुमनुब्री स्याउ’ नाममा ब्रान्डिङ गरिएको स्थानीय अर्गानिक स्याउ प्रवद्र्धन गर्न र बजारीकरणका लागि गोरखा बजारमा ल्याइएको उनको भनाइ छ । सडक सञ्जालबाट वञ्चित भएकाले नाम्रुङबाट कैलाश, हेली एभरेस्ट र मनाङ एयरको हेलिकोप्टरमा स्याउ ढुवानी गरिएको उनले जानकारी दिए ।
गोरखामा स्याउ फल्छ भनेर धेरैलाई थाहा नभएको र २७ सय मिटर उचाइमा रहेको हिमाली चिसो हावामा फलेको स्याउ भएकाले यो निकै स्वादिलो भएको उनको दाबी छ । चुमनुब्रीको पोरमा फलेको स्याउ शतप्रतिशत अर्गानिक रहेको दाबी गर्दै जिल्लावासीले आफ्नै जिल्लामा उत्पादन भएको स्याउको उपभोग गरिदिनसमेत उनको आग्रह छ । चुमनुब्री ब्रान्डको स्याउ बगैँचामा थोक प्रतिकेजी दुई सय ५० र खुद्रा तीन सय ५० मा बेच्ने गरिएको उनले जानकारी दिए ।
उक्त स्याउ काठमाडौंमा भने प्रतिकेजी आठ सयमा बेच्ने गरेको उनको भनाइ छ । लामाले चमनुब्री गाउँपालिका–४, पोरमा विगत तीन वर्षदेखि लोकल स्याउ उत्पादन गर्दै आएका छन् । गोल्डेन, गाला, किङरेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारका स्याउ उत्पादन गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय र किसानको लागत साझेदारीमा इटलीबाट बिरुवा ल्याएर नाम्रुङ (पोर)मा स्याउखेती गरिएको हो ।
पहिलो वर्ष एक सय ५० रोपनी क्षेत्रफलमा चार हजार तीन सय ७० स्याउको बोट रोपिएको थियो । सोही वर्षबाट स्याउ उत्पादन हुन थालेको, तर सुरुको वर्षमा फलेको सबै स्याउ नष्ट गरिएको उनले बताए । दोस्रो वर्षमा आठ हजार केजी फलेको उनले जानकारी दिए । सो वर्ष एक केजीलाई दुई सय ५० रुपैयाँका दरले बिक्री गरिएको थियो । एउटा बोटमा चार केजीसम्म स्याउ फलेको र गत वर्ष दुई हजार केजी स्याउ काठमाडौंमा लगेर बेचेको उनको भनाइ छ ।
चुमनुब्री स्याउ काठमाडौं नलगे पनि बजारको समस्या नरहेको व्यवसायी लामाले बताए । स्थानीयस्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्य पदार्थ बनाउने गरिएको उनको भनाइ छ ।