चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनशनमा बसेका प्रा.डा. गोविन्द केसीले काठमाडौं जान अस्वीकार गरेका छन् । नौ दिनदेखि अनशनरत केसीको स्वास्थ्य अवस्था नाजुक बनेपछि सरकारले उनलाई काठमाडौं लैजान खोजेको थियो । उनलाई लैजान नेपाली सेनाको स्काई ट्रक मंगलबार दिउँसो धनगढी आएको थियो । तर, आफ्ना माग पूरा नभएसम्म आफू अनशन नतोड्ने र काठमाडौं पनि नजाने केसीले अडान लिएका छन् ।
केसीले जान अस्वीकार गरेपछि सेनाको स्काई ट्रक फिर्ता भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ । स्वास्थ्य अवस्था निकै नाजुक भइसकेको भन्दै सेती प्रादेशिक अस्पताल प्रशासनले उनलाई विशिष्टीकृट अस्पताल जान आग्रह गरेको थियो । स्वास्थ्य अवस्था नाजुक बनेकाले जुनसुकै वेला जस्तो समस्या पनि देखिने भन्दै आफूहरूले विशिष्टीकृत अस्पताल जान गरेको आग्रह केसीले अस्वीकार गरेको उपचारमा संलग्न सेती प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमरले बताए ।
अस्पताल प्रशासन र प्रहरी अधिकारीले स्वास्थ्यमा जटिलता आउन सक्ने भन्दै केसीलाई काठमाडौं जान मनाउने प्रयास गरेका थिए । तर, उनले आफ्नो स्वास्थ्य सामान्य रहेको र सेती अस्पतालमै बस्ने भन्दै जबर्जस्ती नलैजान आग्रह गरेको भेटमा सहभागी अस्पतालका एक अधिकारीले बताए । जबर्जस्ती लगिए आफूले त्यसलाई अपहरण ठान्ने उनको भनाइ थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाले केसीको स्वास्थ्यका लागि पनि सुविधासम्पन्न अस्पताल लैजानुपर्ने चिकित्सकको राय जाहेर गरेपछि उनलाई काठमाडौं लैजान संघीय सरकारले जहाज पठाएको बताए । स्वास्थ्यका कारण काठमाडौं लैजान खोजिए पनि केसीले नमानेको उनले बताए । ‘चिकित्सकको भनाइअनुसार उहाँको स्वास्थ्यका लागि पनि काठमाडौं लैजानुपर्ने देखिन्छ,’ प्रजिअ थापाले भने, ‘यो कुरा हामीले केन्द्रमा खबर गरेपछि काठमाडौं लैजाने प्रयास भएको हो ।’
स्वास्थ्यमा जटिलता बढ्दै
अस्पतालले केसीको स्वास्थ्यमा जटिलता बढ्दै गएको भन्दै उनलाई बहुविशेषज्ञ सुविधा भएको विशिष्टीकृत अस्पताल लैजान सोमबार नै आग्रह गरेको थियो । केसीलाई सास फेर्न गाह्रो हुने, मुटुको धड्कनमा गडबडी, रक्तचाप घट्दै गएको र श्वासप्रश्वासदर बढ्दै गएको समस्या देखिएको अस्पतालले जनाएको छ । शरीरमा अक्सिजन र सुगरको मात्रा पनि घट्दै गएको डा. कमरले बताए । उनमा कडा खालको अल्सरको लक्षण देखापरेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।