नि:शुल्क शौचालयको संख्या एक सय २०, सबै खर्च सेवाप्रदायकले नै व्यहोर्ने
काठमाडौं महानगरपालिकाभित्र नि:शुल्क शौचालय सञ्चालन गर्ने संस्थाको संख्या ३७ पुगेको छ । आफूसँग भएका शौचालयलाई सार्वजनिक उपयोगमा ल्याउने इच्छा देखाएका संघ–संस्थासँग महानगरले सम्झौता गरेको हो ।
बैंक, रेस्टुरेन्ट, स्कुल, प्रकाशनगृह, बिजनेस कम्प्लेक्ससहित ३२ वटा संघ–संस्थाका प्रतिनिधिसँग ८ असारमा महानगरले एकै दिन सम्झौता गरेको थियो । त्यसपछि लगत्तै नबिल बैंक, महालक्ष्मी विकास बैंकलगायत पाँच संघ–संस्थाले पनि नि:शुल्क शौचालय सञ्चालन गर्ने गरी सम्झौता गरेपछि यो संख्या ३७ पुगेको हो । ३७ संघ–संस्थाका विभिन्न शाखाहरू गरेर एक सय २० ठाउँमा सर्वसाधारणले नि:शुल्क शौचालय प्रयोग गर्न पाउने भएका हुन् ।
पाँच वर्षसम्म सेवा दिने गरी सम्झौता
ती संस्थाहरूले आगामी पाँच वर्षसम्मका लागि सेवा दिने गरी महानगरसँग सम्झौता गरेका छन् । यस अवधिमा संघ–संस्थाले आफूसँग भएका शौचालयलाई सार्वजनिक प्रयोगका लागि उपलब्ध गराउनेछन् । यसरी उपलब्ध गराइएका शौचालयको मर्मत–सम्भार गर्ने, सरसफाइ गर्न आवश्यक सामग्री तथा पानी, सुगन्धका सामान व्यवस्था गर्ने जिम्मा पनि उनीहरूकै हुनेछ । यसबापत सेवाग्राहीलाई सेवा लिन करकाप वा प्रोत्साहन गरिनेछैन । ती संस्थाले दिने सेवाको अनुगमन तथा मूल्यांकन गर्न दुवै पक्षबाट एक–एकजना प्रतिनिधि तोकिएको छ । उनीहरूले हरेक चार महिनामा अनुगमनपछि प्रतिवेदन दिनेछन् ।
महानगर क्षेत्रभित्रका होटेल, रेस्टुरेन्ट, बैंक, व्यापारिक भवन, कम्पनी, फर्म, गैरसरकारी संघ–संस्थाका शौचालयलाई सार्वजनिक बनाउन इच्छुकहरूलाई महानगरको सार्वजनिक–निजी साझेदारी एकाइमा सम्पर्क राख्न आह्वान गरेको थियो । प्रकाशित सूचनाका आधारमा सात दिनमा ३७ वटा संघ–संस्था सम्पर्कमा आएका थिए । तीमध्ये केहीले सार्वजनिक शौचालयको लोगो निर्माणसमेत गरेका थिए ।
‘यो स्वतस्फूर्त कार्यक्रम हो । कसैलाई कर गरिएको छैन,’ सम्झौतापछि संक्षिप्त प्रतिक्रिया दिँदै महानगरका मेयर बालेन्द्र साहले भने, ‘व्यापार गर्नेले सेवा पनि गर्छु भनेर आउनुभयो । यसको म प्रशंसा गर्न चाहन्छु । यसमा कसैलाई दबाब छैन । अब दबाबले होइन, मिलेर काम गर्नुपर्छ ।’
दैनिक ४० भन्दा बढीले सेवा लिन्छन् : राकेश विष्ट, म्यानेजर, अनुपम फुडल्यान्ड
हामीले अहिले दुईवटा ट्वाइलेट नि:शुल्क प्रयोग गर्न दिइरहेका छौँ । हाम्रो फुडल्यान्ड पशुपतिनजिक भएकाले पनि हुन सक्छ, ट्वाइलेट प्रयोग गर्ने सर्वसाधारण धेरै नै हुन्छन् । हामीले उपलब्ध गराएको ट्वाइलेट दैनिक ४० भन्दा बढीले प्रयोग गर्छन् । ट्वाइलेट प्रयोगपश्चात् सर्वसाधारणबाट एकदमै राम्रो प्रतिक्रिया पाइरहेका छौँ । सर्वसाधारणले फ्री ट्वाइलेट सजिलै पहिचान गर्न सकून् भनेर हामीले देखिने गरी गोलो रेखाभित्र नीलो पृष्ठभूमि, त्यसको माथिल्लो भागमा नेपाली भाषामा सेतो अक्षरले ‘सार्वजनिक शौचालय’ लेखिएको बोर्ड पनि राखेका छौँ ।
अहिले सम्झौता गर्न आउन छाडे : नूरनिधि न्यौपाने, निर्देशक, काठमाडौं महानगर
संघ–संस्थाले शौचालय प्रयोगका लागि दिएका ठाउँमा हामीले बोर्ड लगेर फिट गरिसकेका छौँ । कतिपयले आफैँ पनि टाँस्नुभयो । बालाजु क्षेत्रका एक–दुई निजी घरले कम्पाउन्ड फुटाएर शौचालय प्रयोगका लागि भन्नुभएको छ । एक साताका लागि मात्रै भनेर महानगरले सूचना जारी गरेकाले अहिले सम्झौता गर्न आउन छाडेका छन् ।
यी संघ–संस्थाका शौचालय नि:शुल्क प्रयोग गर्न सकिने
- टाइम्स स्क्वायर, लङ एन्ड बार, बालुवाटार
- पशुपति भ्यु होटेल एन्ड रेस्टुरेन्ट, बालकुमारी टोल
- डेन्टल भिल्ला, वडा नम्बर १४, बल्खु
- देवयानी इन्टरनेसनल नेपाल प्रालिअन्तर्गतका
- पिजा हट, वडा नं. १ दरबारमार्ग
- केएफसी, वडा नं. १ दरबारमार्ग
- केएफसी, वडा नं. ६ बौद्ध
- डाक गल्वी कोरियन हाउस, ल्याकसु गल्ली, वसन्तपुर
- होटेल रत्नज्योति, पेरिसडाँडा
- नेक्सस ग्लोबल भिसा एन्ड इमिग्रेसन प्रालि, शंखमूल
- खानेकुरा प्रालि, गौशाला
- सांग्रिला डेभलपमेन्ट बैंक, बालुवाटार
- बेबिलोन नेसनल स्कुल, शान्तिनगर
- ओटिसी किचेन रेस्टुरेन्ट, बालुवाटार
- नेपालय पब्लिकेसन, डिल्लीबजार
- वसुन्धरा एन्ड गोंगबु एरिया रेस्टुरेन्ट, वसुन्धरा
- गोमा लक्ष्मी इन्टरनेसनल, ठमेल
- घराना लन्च एन्ड बार, बानेश्वर
- कामना सेवा विकास बैंक, कुलेश्वर, बौद्ध, ठमेल, ज्ञानेश्वर, कलंकी, भीमसेनगोला, नयाँ बानेश्वर, न्युरोड
- सिटी एक्सप्रेस मनी ट्रान्सफर, कमलादी
- नेम इन्स्टिच्युट फर मेडिकल एजुकेसन प्रालि, पुतलीसडक
- आरडिएक्स बार प्रालि ठमेल
- नेपालगन्ज बिरयानी, डिल्लीबजार पीपलबोट
- कार्निभल रेस्ट्रो एन्ड मिटिङ, बिजुलीबजार
- बार्दली रेस्ट्रो एन्ड मिटिङ, शंखमूल
- नेसनल बिजनेस ट्रेड सेन्टर, कलंकी
- सांग्रिला डिपलपमेन्ट बैंक, बालुवाटार
- बिन्का लङ, छाउनी
- प्रोग्रेसियो विस्ट्रो पिबिज रेस्टुरेन्ट, बौद्ध
- मिलाल्यान्ड डेभलपमेन्ट प्रालि, कलंकी
- क्रिम्पजी एड्भान्चर हब, बौद्ध
- बर्गर हब एन्ड केसिए चिकेन, बिजुलीबजार
- अनुपम फुडल्यान्ड, बत्तीसपुतली
- रिट्रिप क्याफे, बौद्ध
- स्तूपा हब, बौद्ध
- चिकेन स्टेसन (सबै शाखा)
- ज्योति ग्रुपको स्याकार कम्पनी (सबै शाखा)
- महालक्ष्मी विकास बैंक (सबै शाखा)
- ओटिसी किचेन रेस्टुरेन्ट (सबै शाखा)
- नबिल बैंक (सबै शाखा)