सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा तारानाथ अधिकारीलाई पठाएको छ। प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार विभागको महानिर्देशकमा अधिकारीलाई पठाउने निर्णय गरेका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत भएकाले विभागीय मन्त्रालयको प्रमुखका हिसाबले विभागको प्रशासकीय नेतृत्वसम्बन्धीको निर्णय प्रधानमन्त्रीबाटै हुन्छ।
हाल विभागको महानिर्देशक रहेका प्रेमप्रसाद भट्टराईको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सरुवा गरेर त्यहाँ अधिकारीलाई पठाइएको हो। गत वर्ष असोजमा विभाग पुगेका भट्टराईलाई एक वर्ष नपुग्दै सरुवा गरिएको छ।
सरुवाको निर्णय भएका अधिकारी हाल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत छन्। यही ५ भदौमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको थियो।
अधिकारीले यसअघि पर्यटन विभागमा २० महिना महानिर्देशक भएका हुन् भने त्यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा करिब दुई वर्ष कार्यरत थिए।
भट्टराई भने हाल सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय निकाय ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटिएफ) को आयोजनामा सिंगापुरमा आयोजित इन्टरपोलसम्बन्धी कार्यक्रममा छन्। उनी गत शनिबारदेखि सिंगापुरमा छन्।
सम्पत्ति शुद्धीकरण अनुसन्धानसम्बन्धी अन्तर्राष्ट्रिय मूल्यांकन (म्युचुअल इभ्यालुएसन) जारी रहेको अवस्थामा विभागको प्रशासकीय नेतृत्व फेरिन लागेको हो। एफएटिएफको एसिया प्यासिफिक क्षेत्र हेर्ने निकायले नेपालसहितका यस क्षेत्रका मुलुकको मूल्यांकन गर्दै छ। मूल्यांकनले सम्पत्ति शुद्धीकरण सम्बन्धमा नेपालको स्थिति देखाउनेछ।