साल्ट ट्रेडिङ ६१औँ वर्षमा

पूर्वअध्यक्ष स्वर्गीय लक्ष्मीदास मानन्धरको स्मृतिमा स्थापित बाल हितकारी पुरस्कार निःसहाय बालबालिका सेवा आश्रमलाई

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थापनाको ६०औँ वार्षिकोत्सवको अवसर पारेर अघिल्लो वर्ष दिवंगत भएका संस्थाका अध्यक्ष लक्ष्मीदास मानन्धरको स्मृतिमा ‘लक्ष्मीदास मानन्धर बाल हितकारी पुरस्कार’ स्थापना गरेको छ । यो वर्ष उक्त पुरस्कार इटहरीमा रहेको श्री निःसहाय बालबालिका सेवा आश्रमलाई दिएको छ । उक्त संस्थालाई ताम्रपत्रसहित ७५ हजार नगद प्रदान गरिएको हो । 

काठमाडौंमा आयोजित समारोहमा संस्थानले वृद्धि र विकास गर्न भूमिका खेल्ने दुईजना कर्मचारीका छोरा र छोरीलाई एसइई परीक्षामा उत्कृष्ट अंक ल्याउने अनंगमान शेरचन छात्रवृत्ति पुरस्कार धनगढी प्रदेश कार्यालयका तेजबहादुर कुँवरका छोरा पार्शव कुँवरलाई र साल्ट टे«डिङ लोकनाथ जोशी छात्रवृत्ति पुरस्कार विराटनगरका कर्मचारी कृष्णकुमार आचार्यकी छोरी तेजस्वी आचार्यलाई प्रदान गरिएको छ । छात्रवृत्तिका लागि प्रमाणपत्रसहित मासिक तीन हजार रुपैयाँका दरले दुई वर्षसम्म उपलब्ध गराइने संस्थानले जनाएको छ ।

यस वर्ष कर्पोरेसनको अधिकृतस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी विष्णुप्रसाद न्यौपाने र सहायकस्तरमा रही उल्लेखनीय काम गर्ने कर्मचारी तेजबहादुर कार्की र स्तरविहीन कर्मचारी पुरस्कार राधेश्याम खड्कालाई ३० हजार रुपैयाँ तथा सम्मानपत्रसहितको हेमबहादुर मल्ल उत्कृष्ट सेवा पुरस्कारबाट सम्मान गरिएको छ । संस्थानले ३५ हजार रुपैयाँ तथा सम्मानपत्रसहितको ईश्वरलाल श्रेष्ठ उत्कृष्ट सेवा पुरस्कार अधिकृतस्तरबाट सबल रिजाल, सहायकस्तरबाट काजीबहादुर पराजुली र स्तरविहीन पुरस्कार मंगलबहादुर लामालाई प्रदान गरेको छ । कार्यक्रममा कर्पोरेसनको निरन्तर सेवामा रही २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई पनि सम्मान गरिएको थियो ।

 समारोहमा नेपाल उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नारायण रेग्मीले कर्पोरेसनले विभिन्न कालखण्डमा दैनिक उपभोग्य वस्तुमा पु¥याएको योगदान प्रशंसा गर्न योग्य रहेको बताए । यतिमा मात्र सन्तुष्ट नभई अझ सशक्त भएर लाग्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘दैनिक उपभोग्य वस्तुमा दिँदै आएको सहुलियत र सेवालाई अझै विस्तार गरी जानु कर्पोरेसनको दायित्व हो ।’

संस्थानकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले संस्थानका अध्यक्ष लक्ष्मीदास मानन्धरको अघिल्लो वर्ष निधन भएकोमा अभिभावक गुमाउनुपरेकोमा मर्माहत भएको बताइन् । स्वर्गीय मानन्धरको सक्रियताले संस्थाले विकासको गति लिन सकेको उनको भनाइ थियो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले उपभोक्ताको हितका लागि गुणस्तरीय उपभोग्य वस्तुहरू सुपथ मूस्ल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेकी थिइन् । उनले भनिन्, ‘कर्पोरेसनले आपूर्ति र वितरणका क्षेत्रमा विषम परिस्थितिका बाबजुद पनि उपभोक्ताको सेवामा सदैव सक्रिय रहिआएको छ भने भविष्यमा अझ सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्दछु ।’ 

सुझावित समाचार