व्यवसायीको हडतालले आपूर्तिमा असर पर्न नदिन देशभर इन्धन भण्डारण उच्च

मंगलबार, २८ भदौ, २०७९
डिजिटल संस्करण

पेट्रोलियम ढुवानी व्यवसायी महासंघको अगुवाइमा चार दिनदेखि भइरहेको हडतालको असर आपूर्तिमा पर्न नदिन आयल निगमले देशभर उच्च परिमाणमा मौज्दात राखेको छ । निगमको आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइतका अनुसार देशभरका १३ डिपोमा सोमबारसम्म ५५ हजार २० किलोलिटर इन्धन मौज्दात छ । देशभर निगमको भण्डारण क्षमता ६८ हजार चार सय १७ किलोलिटर रहेमध्ये ८० प्रतिशत मौज्दात राखिएको हो । यो मौज्दातले पेट्रोल एक साता, डिजेल र हवाई इन्धन १५–१५ दिन तथा मट्टीतेलको माग करिब एक महिनालाई धान्न पुग्ने निगमले जनाएको छ । खाना पकाउने एलपी ग्यासको आपूर्ति र वितरणमा भने कुनै समस्या छैन ।

इन्धन ढुवानी गर्ने ट्यांकरको भाडादर वृद्धि नगरे २४ भदौबाट आपूर्तिमा अवरोध गर्नेबारे पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आयल निगमलाई २२ भदौमा लिखित जानकारी दिएका थिए । उनीहरूको मागअनुसार ढुवानी भाडादर वृद्धिको प्रस्ताव निगम व्यवस्थापनले सञ्चालक समितिमा पेस गरिसकेको छ ।  अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेअनुसार नेपाली बजारमा मूल्य समायोजन गर्न नसक्दा निगमले तेल किनेको २३ अर्ब रुपैयाँ बक्यौता तिर्न बाँकी छ । त्यस्तै, तेल किन्ने पैसा नै नभएपछि १० अर्ब रुपैयाँ ऋण पनि लिएको छ । यस्तो नाजुक आर्थिक अवस्थाबाट गुज्रिरहेको निगमले वार्षिक ४४ करोड रुपैयाँ व्ययभार थपिने गरी ढुवानी भाडादर वृद्धिको प्रस्ताव लगेपछि सञ्चालक समितिले अस्वीकार गरेको थियो ।

आपूर्ति तथा वितरण विभागका निर्देशक वीरेन्द्र गोइत भन्छन् ‘ देशभरका १३ डिपोमा सोमबारसम्म ५५ हजार २० किलोलिटर इन्धन मौज्दात छ । यसले पेट्रोल एक साता, डिजेल र हवाई इन्धन १५–१५ दिन तथा मट्टीतेलको माग करिब एक महिनालाई धान्छ । 

त्यसपछि ढुवानी भाडादर वृद्धिको विषयमा सैद्धान्तिक स्वीकृति लिन मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने निर्णय भएको छ । ढुवानी व्यवसायीले भने सञ्चालक समितिबाटै हुनुपर्ने निर्णय विभिन्न बहानामा रोक्दै आएको ठहर्दै २४ भदौबाट भारतमा तेल लिन जाने ट्यांकर थन्क्याएका छन् । जसकारण भारतबाट आयात हुने पेट्रोल, डिजेल, मट्टीतेल र हवाई इन्धनको आपूर्तिमा अहिले असर परिरहेको छ ।

देशभर आइतबार पेट्रोल दुई हजार चार सय ५६ किलोलिटर, डिजेल तीन हजार सात सय ७८ किलोलिटर र हवाई इन्धन चार सय ६३ किलोलिटर खपत भएको थियो । दैनिक बिक्रीको यो आँकडाअनुसार अहिलेको मौज्दातले खासै चिन्ता लिनुपर्ने अवस्था नरहेको निर्देशक गोइतले बताए ।  पेट्रोलियम व्यवसायीले कानुनविपरीत हडताल जारी राख्दा भारतबाट आयात हुने परिमाणमा असर देखिन थालेको छ । साउन र भदौलाई पेट्रोलियम खपतको बेमौसम मानिने भएकाले यो वेला सरदर भारतबाट दैनिक दुई सय ५० ट्यांकरमा तेल लोड हुने गरेको थियो । तर, हडतालका कारण व्यवसायीले ट्यांकर भारत नपठाउँदा सोमबार २५ ट्यांकरमा मात्र तेल लोड भएको छ । आयल निगमसँग अहिले एक हजार आठ सय ५६ ट्यांकरले करार सम्झौता गरी इन्धन ढुवानी गर्दै आएका छन् । यीमध्ये करिब ४० प्रतिशत ट्यांकर भने स्वरोजगारमूलक (ट्यांकरधनी नै चालक भएर चलाउने) छन् । बाँकी ट्यांकर भने संस्थागत व्यवसायीहरूले चालक, सहचालक राखेर निगमलाई भाडामा लगाउँदै आएका छन् ।

अहिलेको हडतालमा स्वरोजगारमूलक ट्यांकरचालकको समर्थन छैन । त्यसैले स्वरोजगारमूलक ट्यांकरहरूलाई आयल निगमका डिपोहरूले गोप्य रूपमा भारतमा तेल लिन पठाउन थालेका छन् । यसैबीच, व्यवसायीको हडतालकै कारण काठमाडौंबाहिर हवाई इन्धन पाउन छाडेपछि काठमाडौं विमानस्थलबाटै दोहोरो रुटका लागि इन्धन बोकेर उडान गर्नुपर्दा पर्कामा परेको भन्दै वायुसेवा सञ्चालक संघले नागरिक उड्डयन प्राधिकरणलाई ध्यानाकर्षण गराएको छ । संघका अध्यक्ष रामेश्वर थापाले सोमबार लेखेको पत्रमा हवाई उडान नै बन्द गर्नुपर्ने अवस्था सिर्जना हुन लागेको भन्दै सहजीकरणका लागि प्राधिकरणलाई आग्रह गरिएको छ ।
 

See More On

सुझावित समाचार