आज आउँदै चिनियाँ जनकंग्रेसका अध्यक्ष

सोमबार, २७ भदौ, २०७९
डिजिटल संस्करण

उच्च राजनीतिक नेतृत्वसँग भेट गर्ने

चिनियाँ जनकंग्रेसको स्थायी समितिका अध्यक्ष ली झाङ्सु तीनदिने नेपाल भ्रमणका लागि सोमबार अपराह्न काठमाडौं आउँदै छन् । सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा अध्यक्ष लीसहित उच्च चिनियाँ अधिकारी आउन लागेका हुन् । नेपालमा संसदीय र प्रादेशिक निर्वाचन घोषणापछि भ्रमण गर्ने उनी पहिलो चिनियाँ उच्च अधिकारी हुन् । 

एक साताअघि उनको भ्रमण सार्वजनिक भएको थियो । परराष्ट्र मन्त्रालयका अनुसार सोमबारै सभामुख सापकोटासँग अध्यक्ष लीले प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता गर्ने कार्यक्रमा छ । अध्यक्ष ली र प्रतिनिधिमण्डलको सम्मानमा सभामुख सापकोटाले सोमबार रात्रिभोज आयोजना गरेका छन् । सापकोटासँगको भेटमा दुवै देशको संसद्बीच अनुभव आदान–प्रदानलगायत विषयमा छलफल हुने भएको छ ।

संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुने कार्यक्रम छ ।

अध्यक्ष लीले २८ भदौमा प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग लीको सोही दिन बेग्लाबेग्लै भेटवार्ता हुने कार्यक्रम रहेको परराष्ट्रले जनाएको छ । अध्यक्ष लीले सोही दिन राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नेछन् । परराष्ट्रमन्त्री डा. नारायण खड्काले २८ भदौमा अध्यक्ष लीसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । 

अध्यक्ष लीले भ्रमणको अन्तिम दिन २९ भदौमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । सोही दिन साँझ ली दक्षिण कोरियाको औपचारिक भ्रमणका लागि प्रस्थान गर्नेछन् ।

सुझावित समाचार