चिनियाँ जनकंग्रेसका अध्यक्ष चारदिने भ्रमणमा सोमबार काठमाडौं आउँदै

आइतबार, २६ भदौ, २०७९
डिजिटल संस्करण

सभामुख अग्निप्रसाद सापकोटाको निमन्त्रणामा चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली चाङसु सोमबार नेपाल भ्रमणमा आउँदै छन् । चारदिने नेपाल भ्रमणमा आउन लागेका चीनका राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष लीले उच्चस्तरीय भेटघाट गर्ने कार्यसूची छ । 

राष्ट्रिय जनकंग्रेसको स्थायी समिति अध्यक्ष ली र सभामुख सापकोटाबीच गत २४ चैतमा भएको भर्चुअल संवादमा आपसमा अनुकूल समयमा भ्रमण गर्ने निम्तो आदानप्रदान गरेका थिए । दुवै मुलुकका विधायिकीबीच यस्ता भ्रमण र विचार आदानप्रदानले थप घनीभूत सम्बन्ध स्थापना हुने उनीहरूको निष्कर्ष थियो । सभामुख सापकोटाको निमन्त्रणाअनुसार परराष्ट्र मन्त्रालयले भ्रमणको प्रक्रिया सुरु गरेको थियो ।

भ्रमणका क्रममा सभामुख सापकोटा र लीबीच समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रमसमेत छ । संसद् सचिवालयका अनुसार भ्रमणमा संसदीय अनुभव साटासाट र प्राविधिक सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । संसद् सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले भ्रमणमा दुई देशका सभामुखबीच द्विपक्षीय वार्ता, छलफल हुने र त्यहीँबाट सम्झौताको निष्कर्ष निकालिने बताए । परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको र टेबुल वार्तामै सम्झौता हुने पाण्डेले बताए । त्यस्तै, संसद्को प्रभावकारिता र रचनात्मक विकासका लागि पनि थप चिनियाँ सहयोगको घोषणा हुनेछ । 

भ्रमणमा लीले समकक्षी सापकोटाबाहेक प्रधानमन्त्री शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओली, माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनासँग भेटवार्ता गर्ने कार्यक्रम छ । २८ भदौको बिहान शिष्टाचार भेट हुने राष्ट्रिय सभा सचिव राजेन्द्र फँुयालले जानकारी दिए ।

गत चैतमा भएको भर्चुअल संवादमा सभामुख सापकोटाले तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थित र सहज ढंगले सुचारु गर्न चिनियाँ पक्षसँग आग्रह गरेका थिए । कोभिडपछि सीमित परिमाणमा आयात–निर्यात भइरहेको भन्दै नाका सहज ढंगले सुचारु गर्न सापकोटाको आग्रह थियो । 

संवादमा अध्यक्ष लीले खासा, केरुङलगायतबाट हुने व्यापार तथा आवतजावतलाई सुलभ तुल्याइने र नेपालको खेलकुद तथा शिक्षाको विकासमा चीनले योगदान दिने बताएका थिए । 

सुझावित समाचार