कर्णाली प्रदेशको मुकाम सुर्खेतमा जारी नवौँ राष्ट्रिय खेलकुद छनाेट प्रतियोगिताको पाँच हजार मिटर दौडमा महिला र पुरुष दुवैतर्फ जुम्लाका प्रथम भएका छन्।
पुरुषतर्फ कर्णाली स्पोर्टस् क्लब जुम्लामा आबद्ध खेलाडी प्रकाश कठायत प्रथम भएका छन् भने जुम्लाकै शेरबहादुर अधिकारी द्वितीय र सुर्खेतका अजय विक तृतीय भएका छन्। महिलातर्फ जुम्लाकै अन्तिमा बुढा प्रथम हुँदा सुर्खेतकी विमला कार्की द्वितीय र कालिकोटकी निस्पा मल्ल तेस्रो स्थानमा आएकी छिन्।
सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी बिनु शाही प्रथम तथा जुम्लाकी समिता बुढा र कालिकोटकी रामिरा शाही क्रमशः द्वितीय र तृतीय भएका छन्। यसैगरी, चार सय मिटर दौड प्रतियोगितामा पुरुषतर्फ जुम्लाका अर्जुन बुढा प्रथम, सुर्खेतका भरत राना द्वितीय र सुर्खेतकै गोविन्द श्रेष्ठले तृतीय स्थान हासिल गरेका जिल्ला खेलकुद विकास समिति जुम्लाका एथ्लेटिक्स प्रशिक्षक हरिबहादुर रोकायाले जानकारी दिए।

चार सय मिटर दौड प्रतियोगितामा महिलातर्फ सुर्खेतकी रमिता खड्का प्रथम, जुम्लाकी निशा पाण्डे द्वितीय र सुर्खेतकी नन्दा कुमाल तृतीय भएका कर्णाली स्पोर्टस् क्लब जुम्लाका सचिव धनराज सुनारले बताए।