३८१ किलोको लड्डुसहित गणेश मेला महोत्सव

आइतबार, १९ भदौ, २०७९
डिजिटल संस्करण

सिराहा नगरपालिका– १ महावीर चोकमा तीन सय ८१ किलोको सिंगो लड्डुसहित भगवान् गणेशको पूजापाठ भइरहेको छ। गणेश चतुर्दशीको दिनदेखि सुरु भएर सोमबारसम्म चल्ने गणेश मेलामा तीन सय ८१ किलोको लड्डु बनाइएको हो।

देशमै सबैभन्दा धेरै तौलको लड्डुसहित पूजा–अर्चना थालिएको गणेश मेला महोत्सव समितिका सदस्य शम्भु साहले बताए। गत बुधबारदेखि सुरु भएको मेलामा लड्डु हेर्न सिराहा, धनुषा र सीमावर्ती भारतीय गाउँबाट ५० हजारभन्दा बढी श्रद्धालु भक्तजन आइपुगेका आयोजक समितिका अध्यक्ष किरण प्रधानांगले जानकारी दिएका छन्।

०७६ सालमा तीन सय ११ किलोको सिंगो लड्डुसहित पूजापाठ गरिए पनि पछिल्लो दुई वर्ष कोराना संक्रमणका कारण सामान्य पूजापाठ मात्र गरिएको थियो। ‘कोरोना संक्रमणको जटिलता न्यून रहेकाले यस वर्ष भव्य रूपमा मेला आयोजना गर्न सफल भयौँ,’ अध्यक्ष प्रधानांगले भने, ‘पहिलेको तुलनामा यस वर्ष ७० किलो बढी तौलको लड्डु बनाउन सफल भएका छौँ।’

ठूलो लड्डु बनाउन थालेपछि सिराहामा आन्तरिक पर्यटकको संख्या पनि बढ्न थालेको छ। ६ दिने मेला लगाउन स्थानीय आयोजकले स्थानीयस्तरबाटै स्रोत जुटाएका छन्।
 

सुझावित समाचार