काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सभापति जो भए पनि चारतारे झन्डा नछाड्ने बताएकी छिन्। १५औँ महाधिवेशनस्थल खुलामञ्चमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले आधिकारिक कांग्रेस नछाड्ने प्रस्ट पारेकी हुन्।
नयाँ युगमा युवाको माग सम्बोधन गर्न पुरानो तरिकाले नहुने बताउँदै उनले सभापति गगन थापालाई पूर्ण सहयोग रहने प्रतिबद्धता जनाइन्।
‘म चारतारे झन्डालाई छोड्दिनँ, चाहे जोसुकै सभापति होस्। अहिले गगन थापाजी सभापति हुनुहुन्छ। मेरो सम्पूर्ण सहयोग उहाँलाई रहनेछ,’ उनले भनिन्, ‘पार्टी बलियो बनाउन बलियो मान्छे चाहिन्छ, युवा चाहिन्छ। सधैँ पुराना कुरा गरेर हुँदैन।’
लामो समय आफ्नो पुस्ताले नेतृत्व गरेको कांग्रेसमा अब नयाँ पुस्ता नेतृत्वमा आएकोमा खुसी व्यक्त गर्दै कोइरालाले भनिन्, ‘यो एकदम खुसीको कुरा हो। नेपाली कांग्रेस अब अगाडि बढ्छ। अब युवाहरू आउँछन् । यसले देशको पनि विकास गर्छ, पार्टी पनि बलियो हुन्छ।’