सामान्यतया किशोरी अवस्थामा प्रवेश गरेपछि महिलाहरूमा महिनावारी चक्र सुरु हुन्छ । महिनावारी एक प्राकृतिक प्रक्रिया हो । हरेक महिलामा महिनावारी हुने समयावधि फरक हुन्छ ।
जस्तै, एउटा महिलाको महिनावारी २८ दिनमा भयो भने अर्को महिलाको २६ दिनमा हुन सक्छ । कसैकसैको ३२ देखि ३४ दिनसम्म पनि हुन सक्छ । हामीले २६ दिनदेखि ३५ दिनसम्म हुने महिनावारीलाई नर्मल मान्छौँ । कुनै महिलाहरू आत्तिएर मेरो चार–पाँच दिन महिना बढी नाघ्यो भन्नुहुन्छ । तर, आत्तिनु पर्दैन, ३५ दिनसम्म हामी त्यसलाई नर्मल नै मान्छौँ ।
कुनै महिलाको रक्तश्राव निकै कम हुन्छ भने कसैको दुई–तीन दिनमै रोकिन्छ । कसैलाई अति रक्तस्राव हुन्छ । कोही अति दुखाईले अस्प्ताल पनि पुग्छन् । रक्तश्राव हुँदा एकदम गन्ध आउने, बान्ता हुने, खाना नरुच्ने हुन्छ । यो समयमा रिंगटा लाग्ने पनि हुन सक्छ ।
महिनावारीको क्रममा महिलाले सरसफाइमा विशेष ध्यान दिनु आवश्यक छ । महिनावारी हुँदा प्रयोग गरिने प्याडदेखि सरसफाइका क्रममा ध्यान नदिँदा यसले विभिन्न रोगको जोखिम पनि निम्त्याउन सक्छ । सरसफाइमा ध्यान नदिए कीटाणुहरू पाठेघरमा जान सक्छ । जसले गर्दा इन्फेक्सन हुन सक्छ ।
के–के कुरामा ध्यान दिने ?
- महिनावारी हुँदा सरसफाइमा धेरै ध्यान दिनुपर्छ ।
- दुईदेखि तीन घन्टाभित्रमा प्याड परिवर्तन गर्ने ।
- कपडाको प्याड प्रयोग गरिएको छ भने राम्रोसँग धुने । लामो समय एउटै कपडा प्रयोग नगर्ने ।
- झोलिलो तथा पोषिलो खानेकुरा खाने । प्रशस्त मात्रामा पानी पिउने ।
- धेरै दुखाइ छ भने आराम गर्ने । धेरै दुखाइ÷वाकवाकी हुनेलगायतको समस्या देखिएमा चिकित्सकको सल्लाह लिने र औषधि सेवन गर्ने ।