सुदूरपश्चिममा समाजवादीलाई धक्का

बिहिबार, १६ भदौ, २०७९
डिजिटल संस्करण

बहालवाला मन्त्रीसहित दुई सांसद, प्रदेश कमिटी अध्यक्षसहितका नेता एमाले फर्किए

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनको मुखैमा सुदूरपश्चिममा एकीकृत समाजवादीलाई धक्का लागेको छ । एकीकृत समाजवादीका निवर्तमान प्रदेश अध्यक्ष, दुईजना प्रदेश सभा सदस्यसहित केही नेता समाजवादी छोडेर एमाले फर्किएका छन् । निवर्तमान प्रदेश अध्यक्ष विक्रम शाही, पूर्वमन्त्री एवं प्रदेश सभा सदस्य तारा लामा तामाङ, राज्यमन्त्री कुलवीर चौधरी, वेदकोट नगरपालिकाका निवर्तमान मेयर अशोक चन्दसहित समाजवादीका नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन् । उनीहरू सबै कञ्चनपुरका हुन् । 

नेता र कार्यकर्ता एमालेमा फर्किएपछि समाजवादीलाई कञ्चनपुरमा बढी असर पर्ने देखिएको छ । तामाङ कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ र चौधरी प्रदेश सभा क्षेत्र २ बाट निर्वाचित हुन् । बुधबार महेन्द्रनगरमा आयोजित एक कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरूलाई खादा लगाएर एमालेमा स्वागत गरे । 

तामाङ समाजवादीको प्रदेश कमिटीका उपसचिव थिए । एमाले प्रवेश गर्ने तयारीमा रहेका उनलाई समाजवादीले यही मंगलबार पदबाट हटाएको थियो । उनी आफ्नो निर्वाचन क्षेत्रमा बलियो प्रभाव भएका नेता हुन् । तामाङ समाजवादीबाट १ असोज ०७८ मा प्रदेशको आर्थिक मामिलामन्त्रीमा नियुक्त भएका थिए । तर, पार्टीले ६ महिनामै मन्त्रीबाट फिर्ता बोलाएपछि उनी असन्तुष्ट थिए । समाजवादीले तामाङलाई फिर्ता बोलाएर प्रकाशबहादुर रावललाई आर्थिक मामिलामन्त्री बनाएको थियो । एमाले विभाजन हुँदा पनि अन्तिम समयमा मात्र पार्टी छोडेका तामाङलाई मन्त्री बन्नकै लागि समाजवादीमा गएको आरोप लाग्ने गरेको छ ।

तामाङ कञ्चनपुर १ बाट प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारका दाबेदार हुन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी बुहारीसमेत रहेकी माओवादी नेतृ बिना मगरको क्षेत्र पनि त्यही हो । समाजवादीमै रहँदा तामाङले प्रतिनिधिसभामा टिकट पाउने सम्भावना करिब थिएन । एमालेका एक नेताका अनुसार तामाङले एमालेबाट संघमा टिकट पाउने सम्भावना छ । तामाङनिकट चौैधरी समाजवादीबाटै प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री थिए । राज्यमन्त्रीकै हैसियतमा उनी बुधबार पार्टी प्रवेश कार्यक्रममा सहभागी थिए । तर, कार्यक्रममा सहभागी रहेकै वेला उनको राज्यमन्त्रीको हैसियत खोसिएको छ । समाजवादीको सिफारिसमा मुख्यमन्त्री त्रिलोचन भट्टले बुधबार नै चौधरीलाई पदबाट हटाएका हुन् । 

कञ्चनपुरकै बासिन्दा रहेका निवर्तमान प्रदेश अध्यक्ष शाही स्थानीय तहको निर्वाचनअघि नै पार्टीमा निष्क्रिय थिए । समाजवादीले उनलाई हटाएर हर्कबहादुर सिंहलाई प्रदेश अध्यक्षको जिम्मेवारी दिएको थियो । 

सुझावित समाचार