हिंसापीडितको विवरण उपलब्ध गराउन निहारिकालाई प्रदेश मुख्य न्यायाधिवक्ताको प्रस्ताव

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले हिंसापीडित, बलात्कार र जबर्जस्ती कुमारीआमा बनाइएका पीडितहरूको विवरण उपलब्ध गराइदिन निहारिका राजपुतलाई आग्रह गरेका छन्।

आफूजस्तै अन्य कैयौँ पीडित भएका र उनीहरूलाई प्रदेश सरकारले आर्थिक तथा कानुनी सहयोग गरिदिनुपर्ने भन्दै आइतबार मुख्य न्यायाधिवक्ता झालाई भेट्न पुगेकी निहारिकासमक्ष झाले सो प्रस्ताव राखेका हुन्।

मुख्य न्यायाधिवक्ता झाले हिंसापीडित, बलात्कारपीडित र बलात्कारकै कारण कुमारीआमा बनेका सम्पूर्ण पीडितको सहयोगका लागि आफू सदैव तयार रहेको बताएका थिए। उनले आफू धेरै दिन पदमा नरहने भन्दै जतिसक्दो चाँडै विवरण उपलब्ध गराए आफ्नो पद र अधिकारले भ्याएसम्मको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

झाले आफू कानुनको विद्यार्थी भएकाले पदमा नरहेको समयमा पनि हिंसापीडितहरूको सहयोगका लागि सदैव कानुनी लडाइँ लड्न तयार रहने बताए। हिंसापीडितहरूको न्यायका लागि आफूसँग केही योजना रहेको बताउँदै उनले निकट भविष्यमै यसले पीडितहरूलाई कानुनी लडाइँ लड्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कुमारीआमा खोज्दै निहारिका
यता उच्च अदालत जनकपुरले डिएनए जाँचको आदेश दिएसँगै जाँचको पूर्वतयारीमा केही दिन लाग्ने भएकाले निहारिका महोत्तरी आइपुगेकी छिन्। गत शनिबार उनले जिल्लाका बलात्कारपीडित बालिका र युवतीलाई भेटिन्। कुमारीआमा निहारिकाले बलात्कारले कुमारीआमा बनेका तथा विभिन्न  हिंसामा परेका महिला तथा बालिकालाई न्याय दिलाउन आफूसँगै जोड्न उनीहरूलाई भेट्ने क्रम बढाएकी हुन्।

उनले शनिबार भेटेकी एक १६ वर्षीया बलात्कारपीडित चारमहिने गर्भवती छिन् भने अर्की बलात्कारपीडितको चार महिनाकी छोरी छिन्। १६ वर्षीया बलात्कारपीडितको आरोपित फरार छन् भने चारमहिने छोरी बोकेकी पीडितको आरोपित पुर्पक्षका लागि थुनामा छन्। 

निहारिकाले अब आफ्नो अभियान आफूमा मात्र सीमित नभई हिंसामा परेका सम्पूर्ण महिला तथा बालिकाका साथै बलात्कार र बलात्कारकै कारण कुमारीआमा बनेका सम्पूर्णका लागि रहेको नयाँ पत्रिकासँग बताइन्।

सुझावित समाचार