श्रीलंकामा आयोजना हुने यू–१७ साफ च्याम्पियनसिप र भियतनाममा हुने यू–१७ एएफसी एसिया कप छनोट खेल्ने २४ सदस्यीय पुरुष टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले प्रतियोगितामा सहभागी हुने २३ सहित एक वैकल्पिक खेलाडी छनोट गरेका हुन् । यद्यपि, उनले कप्तानको टुंगो लगाएका छैनन् । ‘अझै हामीसँग केही समय बाँकी छ । त्यसैले एक खेलाडी वैकल्पिक राखेका छौँ,’ श्रेष्ठले आइतबार नयाँ पत्रिकालाई भने । नेपाली टोली भदौ तेस्रो साता श्रीलंका प्रस्थान गर्नेछ ।
साफमा नेपालको प्रतिद्वन्द्वी
श्रीलंकामा आयोजना हुने प्रतियोगितामा पाकिस्तानबाहेक सात टोलीको सहभागिता रहनेछ । आयोजकले सहभागी टोलीलाई दुई समूहमा विभाजन गरेको छ । समूह ‘ए’मा आयोजक श्रीलंका, माल्दिभ्स र बंगलादेश छन् । यस्तै, समूह ‘बी’मा नेपालसहित भारत र भुटान छन् । नेपालले आफ्नो पहिलो खेल ७ सेप्टेम्बरमा भुटानसँग खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले भारतविरुद्ध ९ सेप्टेम्बरमा दोस्रो खेलमा सामना गर्नेछ । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।
एएफसी छनोटमा नेपालका प्रतिस्पर्धी
एएफसी एसियन छनोट खेलमा नेपाल समूह ‘एफ’ मा छ । बलियो मानिएको समूहमा आयोजक भियतनामसहित थाइल्यान्ड र चाइनिज ताइपे छन् । नेपालले साफपछि एएफसी छनोट खेल खेल्नेछ । नेपालले पहिलो खेल ५ अक्टोबरमा थाइल्यान्डविरुद्ध खेल्नेछ । यस्तै, भियतनामसँग ७ अक्टोबरमा खेल्दा नेपालले ९ अक्टोबरमा चाइनिज ताइपेसँग खेल्ने तालिका छ ।
नेपाली टिम
गोलरक्षक : कृष्ण मोक्तान, समीर चन्द, रुवेन बोगटी
डिफेन्डर : अश्विन घोरासैनी, सिमन्त थापा, युनेस बुढाथोकी, मदन पौडेल, दीपक थापामगर, निशान्त तामाङ, युनिस मगर, विक्रम तामाङ, प्रितम कार्की, धीरज विश्वकर्मा
मिडफिल्डर : प्रशान्त लक्ष्मण, मिरक लिङ्देन, सरोज धामी, हरिशराज भट्ट, लक्षु थापा
स्ट्राइकर : नीरज कार्की, धनसिंह विक, विनोद केसी, समीर तामाङ, सिजल राई, सुवास बम