रघुगंगा र तनहुँ जलविद्युत् निर्माणमा किन भयो ढिलाइ ?

सन् २०२५ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ३५ प्रतिशत मात्रै

सोमबार, १३ भदौ, २०७९
डिजिटल संस्करण

नेपाल विद्युत् प्राधिकरणको पूर्ण स्वामित्वका एक सय ४० मेगावाटको तनहुँ जलाशययुक्त जलविद्युत् र ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाको निर्माणमा विभिन्न समस्या रहेको संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको एक अध्ययनले देखाएको छ । दुवै आयोजना निर्माणले गति नलिएपछि समितिले अध्ययन गरेको थियो । अध्ययनका क्रममा सो आयोजनाहरूको निर्माणमा थुप्रै पक्षले बाधा पुर्‍याएको देखाएको र सोही कारण आयोजनाहरूको निर्माणमा प्रगति नभएको समितिका सचिव उदय भण्डारीले बताए । मिलन विश्वकर्माको रिपोर्ट :

अध्ययनअनुसार जग्गा प्राप्तिको समस्या र वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनको स्वीकृतिमा ढिलाइ हुँदा निर्माण कार्य प्रभावित भएको छ । साथै, आयोजनाले वन क्षेत्र प्रयोग गरेबापत सुरुमा २६ करोड रुपैयाँ क्षतिपूर्ति दिने मूल्यांकन भएको थियो । तर, अहिले त्यसको मूल्यांकन एक अर्ब ७८ करोड पुगेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यसले पनि आयोजना निर्माण कार्य अगाडि बढाउन समस्या देखिएको अध्ययनले देखाएको छ । हालसम्मको आयोजनाको भौतिनक प्रगति ३८ प्रतिशत पुगेको कम्पनीले जनाएको छ ।

वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनलगायत वनसँग सम्बन्धित फाइल स्वकिृति गराउँदा पहिला विद्युत् विकास विभागमा पेस गर्नुपर्ने हुन्छ । त्यहाँबाट ऊर्जा मन्त्रालय हुँदै वन मन्त्रालय जान्छ । वन मन्त्रालयबाट वन विभाग, जिल्ला वन कार्यालय, इकाइ वन कार्यालय र सामुदायिक वन कार्यालयसम्म पुग्छ । त्यसपछि त्यो फाइल सोही निकाय हुँदै फर्किन्छ ।

ऊर्जामा आएर परामर्श भएपछि बल्ल मन्त्रिपरिषद् जाने गर्छ । यसो गर्दा वनसँग सम्बन्धित फाइल स्वीकृत गर्न न्यूनतम दुई वर्ष लाग्ने गरेको अध्ययनले देखाएको छ । अब यस्तो प्रक्रियालाई अधिकतम तीन महिनाभित्र सक्ने व्यवस्था गर्नुपर्ने प्रतिवेदनमा उल्लेख छ । सचिव भण्डारीले पनि अधिकांश आयोजनाको निर्माण कार्य यही कारण ढिलाइ भएको बताए । 
यस्तै, प्रसारण लाइन पर्ने जग्गाको क्षतिपूर्ति कम भएको गुनासो स्थानीयले गरेको पनि अध्ययनमा उल्लेख छ । विशेष गरी ड्याम बन्ने जग्गाको मुआब्जा वितरणमा जग्गाधनीबाट केही विवाद आएको छ । अहिले ड्याम निर्माणको काम सुरु नभएकाले उक्त विवादले निर्माणमा खास बाधा नपुगेको कम्पनीको भनाइ छ । स्थानियलाई कुल एक अर्ब ३५ करोड मुआब्जा दिनुपर्नेमा हालसम्म एक अर्ब २२ करोड वितरण भइसकेको कम्पनीले जनाएको छ । 

सरकारले जलाशययुक्त आयोजनाहरू प्राथमिकताका साथ निर्माण गर्ने भने पनि हालसम्म यससम्बन्धी कार्यविधि बनाएको छैन । यस्तै, पुस्तौँ तथा वर्षाैँदेखि ऐलानी जग्गामा बसोवास गर्दै आएका प्रभावितको जग्गा उपयोगमा कानुनी जटिलता देखिएको छ । त्यस अवस्थामा भोगचलन गरेका आधारमा निश्चित अवधि तोकी मुआब्जा दिने कानुनी व्यवस्था ल्याउनुपर्ने अध्ययन समितिको सुझाव छ । 

यस्तै, नदीजन्य पदार्थको प्रयोगमा स्थानीय निकायसँग हरेक वर्ष सम्झौता गर्नुपर्दा पनि निर्माणमा ढिलाइ भएको देखिएको छ । तसर्थ, नदीजन्य पदार्थको सहज उपलब्धताका लागि आवश्यक समन्वय गर्न निर्देशन दिनुपर्ने बताइएको छ । साथै, आयोजना निर्माणमा बहुवर्षे ठेक्का प्रणाली अपनाई सहजीकरण गर्दा राम्रो हुने बताइएको छ । यस्तै, आयोजना निर्माणमा प्रयोग गरिने विस्फोटक पदार्थको आयात एवं प्रयोगमा समस्या रहेको पाइएको छ । चाइनिज ठेकेदारहरूलाई विस्फोटक पदार्थ आयात गर्न भारत सरकारबाट सहज नभएको भन्ने गुनासोसमेत आएको छ । साथै, एक ठेकेदारको विस्फोटक पदार्थ अर्काे ठेकेदारले प्रयोग गर्न नपाउने व्यवस्था छ । यसमा सहज हुने नीति ल्याउनुपर्ने बताइएको छ । यसका अलावा आयोजनाको विभिन्न संरचना निर्माणमा पनि बाधा भएको अध्ययनले देखाएको छ । 

आयोजनाको बाँधस्थलको जलाधार क्षेत्र १५०२ वर्ग किलोमिटर रहेको छ । १४० मिटर बाँधको उचाइ रहने आयोजनाको भूमिगत विद्युत्गृहको लम्बाई ८९ मिटर, चौडाई २२ मिटर र उचाई ४४ मिटर रहनेछ । कम्पनीको पूँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कूल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको ब्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ । यसका लागि एडिबिले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार/नेपाल विद्युत् प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

सन् २०२३ सम्म निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको ४० मेगावाटको रघुगंगा जलविद्युत् आयोजनाको  भौतिक प्रगति २० प्रतिशत मात्रै 

म्याग्दीको रहुगंगा गाउँपालिकामा रहेको यस आयोजनाको क्षमता ४० मेगावाट छ । यसमा विशेष गरी विदेशी ऋणदाताको सर्तले समस्या भएको देखिएको छ । यस आयोजनामा भारतीय एक्जिम बैंकको ऋण सहयोग रहेको छ । उक्त बैंकसँग ऋण सम्झौता गर्दा ठेकेदार छनोट गर्नेदेखि हरेक वस्तुहरूको आयात ८० प्रतिशत भारतबाट गर्नुपर्ने सर्त राखिएको छ । त्यसले गर्दा पनि आयोजनाको निर्माणमा ढिलाइ भएको अध्ययनले देखाएको छ । 

उक्त सर्त पूरा गर्नका लागि कतिपय अवस्थामा गिट्टी, बालुवासमेत भारतबाटै ल्याउनुपर्ने अवस्था सिर्जना भएको छ । सरकारले भारतीय बैंकको अनुकूलका सर्तहरू सहमत गरी ऋण स्वीकार गर्दा समस्या भएको अध्ययनले निष्कर्ष निकालेको छ । साथै, उक्त अव्यावहारिक सर्तका कारण आयोजना सम्पन्न हुन नै समस्या हुने प्रतिवेदनमा उल्लेख छ । यस विषयमा पुनः वार्ता गर्नुपर्ने पनि बताइएको छ । 

यस्तै, सर्वाेच्च अदालतको आदेशका कारण कालिगण्डकी नदीको ढुंगा, गिट्टी, बालुवा प्रयोगमा रोक लागेको छ । अब आइइई गरेर मात्रै त्यहाँको ढुंगा, गिट्टी, बालुवा झिक्ने सहमति भएका कारण यो आयोजना निर्माणमा ढिलाइ भएको छ । सो अवस्थामा सर्वाेच्चमा शालिग्रामको संरक्षणमा हानि नपु¥याई नदीजन्य पदार्थ निकाल्न सरकारको फैसला र आदेश सच्याउन पुनरावलोकन गर्न निवेदन दिनुपर्ने बताइएको छ ।

रघुगंगा जलविद्युत् आयोजनाको भौतिक प्रगति करिब २० प्रतिशत छ ।   सर्तअनुसार वस्तु आयात नभएको भन्दै ऋणदाता एक्जिम बैंकल किचलो गरेका कारण निर्माणले गति लिन नसकेको समितिका सचिव भण्डारीले बताए । यस्तै, समितिकी सभापति पूर्णकुमारी सुवेदीले दुई आयोजनाको निर्माणमा थुप्रै समस्याहरू देखिएको बताइन् । त्यसलाई समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन पनि दिएको उनको भनाइ छ ।
 

सुझावित समाचार