पोखरा कहिले बन्छ पर्यटकीय राजधानी ?

पर्यटकीय राजधानी घोषणा गर्न पोखरा महानगरको पटक–पटकको प्रस्तावमा केन्द्र सरकारले देखाएन चासो

शनिबार, ११ भदौ, २०७९
डिजिटल संस्करण
पोखरा कहिले बन्छ पर्यटकीय राजधानी ?

तस्बिर : रोहितराज पराजुली

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले १२ जेठमा पदभार ग्रहण गरेपछि पहिलो निर्णयमै पोखरालाई ‘नेपालको पर्यटकीय राजधानी’ घोषणा गराउन संघीय सरकारलाई प्रस्ताव पठाउने निर्णय गरे । उनले पोखरालाई केन्द्र सरकारबाटै पर्यटकीय राजधानी घोषणा गराउन संघीय मामिला मन्त्रालयमार्फत पर्यटन मन्त्रालयमा औपचारिक प्रस्ताव पेस गरिसकेका छन् । तर, महानगरको प्रस्ताव पर्यटन मन्त्रालयमा ‘प्रोसेस’मै रहेको विभागीय मन्त्री जीवनराम श्रेष्ठले बताए ।

त्यसो त पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न संघीय सरकारलाई प्रस्ताव पठाएको यो पहिलोपटक भने होइन । यसअघि गण्डकी प्रदेश सरकारले पनि पोखरालाई पर्यटकीय राजधानी बनाउने निर्णय गर्दै कार्यान्वयनका लागि केन्द्र सरकार (मन्त्रिपरिषद्)लाई प्रस्ताव लेखिपठाएको थियो । पोखरा महानगरले चार वर्षअघि नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने निर्णय गरेको थियो । तर, पोखरालाई पर्यटकीय राजधानी घोषण गर्नुपर्ने पटक–पटकको प्रस्तावमा केन्द्र सरकारले खासै चासो देखाएको छैन । नवनियुक्त पर्यटनमन्त्री जीवनराम श्रेष्ठले २२ असारमा पोखरामा निर्मित पर्यटकीय बसपार्क उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गर्दै पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न प्रक्रिया अगाडि बढाएको र आगामी मन्त्रिपरिषद् बैठकमा प्रस्ताव लैजाने तयारीमा रहेको बताएका थिए । तर, अहिलेसम्म प्रस्ताव मन्त्रिपरिषद्मा पेस भइसकेको छैन ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने प्रस्तावमाथि ‘वर्कआउट’ भइरहेको पर्यटनमन्त्री श्रेष्ठले बताएका छन् । ‘अहिले विभागीय सचिव पनि हुनुहुन्न, सो प्रस्तावलाई प्रक्रियामै राखेका छौँ,’ उनले भने, ‘यस्तो अभ्यास पहिलोपटक गर्न लागेका हौँ, के–कति कारणले पोखरालाई पर्यटकीय राजधानी बनाउने भनेर विस्तृत छलफल गरेपछि प्रस्तावलाई परिपक्व बनाई मन्त्रिपरिषद्मा पेस गर्नेछौँ ।’ पर्यटन मन्त्रालयको विभागीय मन्त्रीका तर्फबाट आफू पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गर्न सकारात्मक रहेको उनले बताए ।

देशमा संघीयता लागू भएपछि गण्डकी प्रदेशमा एमाले (तत्कालीन नेकपा) र कांग्रेसको नेतृत्वमा दुईवटा सरकार बनेका छन् । प्रदेशमा एमाले (नेकपा)को सरकार हुँदा केन्द्रमा पनि उसकै पार्टीको दुईतिहाइ बहुमतको बलियो सरकार थियो । नेकपा विघटन भएपछि कांग्रेसको नेतृत्वमा केन्द्रमा सरकार बन्यो । उता गण्डकी प्रदेशमा पनि कांग्रेस नेतृत्वकै सरकार रहेको छ । मुख्यमन्त्रीद्वय पृथ्वी सुब्बा गुरुङ र कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न प्रस्ताव पठाउँदा आफ्नै दलको संघीय सरकारले मौनता साँधेको पोखरेली जनताको गुनासो छ ।

गुरुङ नेतृत्वको प्रदेश सरकारले निर्णय गरेर २८ मंसिर ०७५ मा पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लिखित प्रस्ताव केन्द्रलाई पठाएको थियो । कास्कीबाटै केन्द्रमा पर्यटनमन्त्री बनेका स्व. रवीन्द्र अधिकारीले पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न सकेनन् । त्यसपछि बनेको पोखरेल नेतृत्वको प्रदेश सरकारले २९ कात्तिक ०७८ मा पुनः मन्त्रिपरिषद्बाट निर्णय गर्दै केन्द्रलाई लिखित प्रस्ताव पठाएको थियो । गण्डकी  प्रदेशका दुवै प्रस्ताव केन्द्र सरकारको दराजमै थन्किएका छन् । पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न औपचारिक प्रस्ताव पठाएकै चार वर्ष पुग्न लागिसक्दासमेत केन्द्रमा कुनै निर्णय हुन सकेको छैन । तैपनि, केन्द्र सरकारकै मन्त्रीहरू पोखरालाई देशकै पर्यटकीय राजधानी घोषणा गरेर पर्यटकीय पूर्वाधारहरू विकास गर्ने ‘वाचा’ दिन भने पछाडि पर्दैनन् ।

पोखरालाई पर्यटकीय राजधानी बनाउन पोखरेली व्यवसायीहरूले वर्षौँदेखि बहस चलाउँदै आइरहेका छन् । संघ सरकारका पर्यटनमन्त्री श्रेष्ठले पोखरालाई पर्यटकीय राजधानी बनाउन आफू सकारात्मक भए पनि पर्याप्त छलफल गर्नुपर्ने बताए । ‘पोखरा पर्यटकीय सहर हो, पछिल्लो समय पोखराआसपासका क्षेत्रहरू पनि पर्यटकका आकर्षक गन्तव्य बनिरहेका छन्,’ उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नु राम्रो कुरा हो, तर नयाँ प्रयास थालनी गर्दा छलफल हुनुपर्छ ।’ पर्याप्त छलफल गरेर परिपक्व प्रस्ताव मन्त्रिपरिषद्मा लगेर पारित गरेपछि कार्यान्वयन गर्न पनि सहज हुने उनको विश्वास छ । 

आफ्नो क्षेत्रलाई पर्यटकीय राजधानी घोषणा गर्न अरू प्रदेश र पालिकाहरू पनि इच्छुक देखिएका छन् । केन्द्र सरकारले अहिलेसम्म कुनै पनि ठाउँलाई विशेष क्षेत्रका रूपमा घोषणा गरेको अभ्यास छैन । अरू ठाउँको पनि ‘इन्ट्रेस्ट’ देखिँदा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिहाल्न केन्द्र सरकारले नसकेको स्रोत बताउँछ । केन्द्रीय राजधानी काठमाडौं उपत्यका आफैँमा पर्यटकीय सहर भएको हुँदा मोफसललाई किन ‘पर्यटकीय राजधानी’ घोषणा गर्ने भन्ने मानसिकता केन्द्र सरकारमा हाबी भएको पनि हुन सक्ने एकथरीको आकलन छ । तर, जेसुकै भए तापनि केन्द्र सरकारले पोखरालाई छिट्टै पर्यटकीय राजधानी घोषणा गर्नेमा पोखराका मेयर आचार्य ढुक्क देखिन्छन् । यो विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा, पर्यटनमन्त्री श्रेष्ठलगायत सरोकारवाला सबै सहमत रहेको उनको भनाइ छ । 

त्यसो त पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न ०७५ सालमै देशका सातवटै प्रदेशले स्वीकृति दिइसकेको बताइन्छ । त्यसवेला पोखरामा भएको मुख्यमन्त्रीहरूको भेलाले पोखरालाई पर्यटकीय राजधानी बनाउने गरी अनौपचारिक सहमति गरेको थियो । सबै प्रदेशले औपचारिक सहमति दिएपछि गुरुङ नेतृत्वको प्रदेश सरकारले मन्त्रिपरिषद्बाटै निर्णय गरेर पर्यटकीय राजधानी घोषणा गर्न केन्द्रलाई प्रस्ताव पठाएको थियो । प्रदेश सरकारले देश–विदेशमा राम्रो सन्देश जाने गरी घोषणसभा गरेरै राष्ट्रपति विद्यादेवी भण्डारी वा प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत पर्यटकीय राजधानी घोषणा गर्ने तयारी गरेको थियो । ‘पर्यटकीय राजधानी बनाउने अरू प्रदेश सरकार वा स्थानीय तहको पनि दाबी रहन सक्ला, भोलि अरूले पनि दाबी गरे भने कसरी सम्बोधन गर्ने भनेर पनि छलफल होला,’ पर्यटनमन्त्री श्रेष्ठले भने, ‘यो प्रस्तावलाई म्याचुअर्ड बनाएर अगाडि बढाउँदा परिणाम राम्रो आउँछ, प्रक्रिया मिलाएर अगाडि बढाई कार्यान्वयन गर्छौँ ।’

पर्याप्त बहस र छलफल हुनु जरुरी 
जीवनराम श्रेष्ठ, पर्यटनमन्त्री

पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयमा ‘वर्कआउट’ भइरहेको छ । देशमा यस्तो अभ्यास पहिलोपटक गर्न लागिएको छ । त्यसैले पनि पर्याप्त बहस र छलफल हुनु जरुरी छ । विभागीय मन्त्रीका तर्फबाट म यो प्रस्तावमा सकारात्मक छु । यो राम्रो पनि कुरा हो । तर, प्रस्तावलाई परिपक्व बनाएर मन्त्रिपरिषद्मा पेस गर्नुपर्ने हुन्छ । भोलि अरूले दाबी गर्दा कसरी सम्बोधन गर्ने भनेर तयारी गर्नुपर्छ । हामी प्रक्रिया मिलाएर प्रस्ताव अगाडि बढाउँछौँ र कार्यान्वयन गर्छौँ । 

पोखराको विशेषताका कारण पर्यटकीय राजधानी
 धनराज आचार्य, मेयर, पोखरा महानगर

पर्यटकीय नगरी पोखरा विदेशमा समेत प्रख्यात छ । पोखरा प्राकृतिक संरचना, भूगोल, हावापानीका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ । तालको सयर, ¥याफ्टिङ, टे«किङ, हाइकिङ, कायाकिङ, प्याराग्लाइडिङ र सुन्दर हिमाल हेर्ने र साहसिक खेलका लागि पर्यटकहरू पोखरा आउँछन् । पोखराको यिनै सम्भावनालाई व्यवस्थित गरी पर्यटन व्यवसायको विस्तार गर्न पर्यटकीय राजधानी घोषणा गर्न केन्द्र सरकारलाई प्रस्ताव गरेका हौँ ।

 नयाँ ट्रेकिङ रुटको खोजी
पोखरा क्षेत्रमा ट्रेकिङका लागि नयाँ–नयाँ रुटको खोजी हुन थालेको छ । यसअघि भएका रुटहरूमा गाडी जान थालेपछि ट्रेकिङ रुटहरू जोखिममा परेका छन् । त्यसैले नयाँ क्षेत्रको खोजी गर्न लागिएको मेयर आचार्य बताउँछन् । उनका अनुसार हालै महानगरले अर्गानिक ट्रेकको रुट सुरु गरेको छ । यो रुट फेवातालको दक्षिणतर्फ रहेको जंगलमा पर्छ । 
पन्चासेलाई पनि सम्भावित रुटका रूपमा हेरिएको छ । पन्चासेमा एक सय ४२ प्रकारका सुनाखरी पाइन्छन् । ‘हामीले पञ्चासेलाई पनि नयाँ ट्रेक रुटका रूपमा विकास गर्ने सोच बनाएका छौँ,’ मेयर आचार्यले भने । महानगरले ‘पहिलेकोे पोखरा’ नामक नयाँ आकर्षक गन्तव्य विकास गर्ने रणनीति बनाएको छ । यसका लागि पोखरा र आसपासमा रहेका पुराना बस्ती, कला–संस्कृतिहरूको संरक्षण गर्न सम्भावित स्थानहरूको खोजी भइरहेको उनले बताए । 

 पर्यटनमा खर्बौँ लगानी
पर्यटकीय नगरी पोखरामा होटेल, रिसोर्ट, प्याराग्लाइडिङ, अल्ट्रालाइट, एयरपोर्ट, बन्जी, जिपलाइन, केबलकारलगायत पर्यटकीय पूर्वाधारमा खर्बौँ लगानी भइसकेको छ । पोखरा भ्याली र आसपासका डाँडामा साना–ठूला गरी करिब १२ सय पर्यटकीय होटेल सञ्चालनमा रहेको पश्चिमाञ्चल होटेल संघ, पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए । पोखरा भ्याली, पुम्दिभुम्दी, पुम्दिकोट, सराङकोटलगायत ठाउँमा अझै थुप्रै होटेल निर्माणको चरणमा छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमै सरकारको २२ अर्ब रुपैयाँभन्दा बढी लगानी भइसकेको छ । 

 पोखरा किन पर्यटकीय राजधानी ?
पर्यटनको दृष्टिकोणले पोखरा विदेशमा समेत प्रख्यात छ । यो क्षेत्र प्राकृतिक संरचना, भूगोल, हावापानीका कारण पर्यटकको रोजाइमा पर्ने गरेको छ । तालको शयर, र्‍याफ्टिङ, ट्रेकिङ, हाइकिङ, कायाकिङ, प्याराग्लाइडिङ र सुन्दर हिमाल हेर्ने र साहसिक खेलका लागि पर्यटकहरू पोखरा पुग्ने गरेका छन् । पोखराको यिनै सम्भावनालाई थप व्यवस्थित गरी पर्यटन व्यवसाय थप विस्तार गर्न पर्यटनको राजधानी घोषणा गर्ने प्रस्ताव गरिएको मेयर आचार्यको भनाइ छ ।

केन्द्रीय सरकारले नै पोखरालाई पर्यटकीय राजधानी घोषणा गरी आवश्यक पूर्वाधार निर्माणमा सहजीकरण गर्नु आवश्यक रहेको उनले बताए । पोखरामा विभिन्न मुलुकमा सीधा उडान गर्नका लागि अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको अन्तिम तयारीमा छ । १ जनवरी २०२३ देखि पोखरा विमानस्थल सञ्चालनमा ल्याउने मिति तय भइसकेको छ । यस्तै, पोखराबाट काठमाडौं र नारायणगढसम्म जोड्ने सडक चौडा बनाइँदै छ । पोखरा–लुम्बिनी जोड्ने सिद्धार्थ राजमार्गको स्तरोन्नतिसँगै कोरला–पोखरा, पोखरा–सुस्ता जोड्ने सडक निर्माण कार्य पनि जारी छ । यस्तै, पोखराबाट धनगढी, नेपालगन्ज, भैरहवा, भरतपुर, सिमरा, जनकपुर, विराटनगर र चन्द्रगढी सीधा उडान हुन थालेको छ ।

पोखरामा के–के हुँदै छ ? 

  • १ जनवरी २०२३ देखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइँदै
  • प्याराग्लाइडिङ विस्थापित हुन नदिन क्यानको प्राविधिक टोलीले अध्ययन गर्दै
  • अहिले भइरहेको आन्तरिक विमानस्थललाई सुन्दरपार्कमा विकास गर्न गृहकार्य
  • फेवातालको दक्षिणतर्फ रहेको रानीवनमा अर्गानिक ट्रेक रुट सुरु 
  • ‘पहिलेकोे पोखरा’ थिममा पुरानो बस्ती र संस्कृति संरक्षण गरेर आकर्षक गन्तव्य बनाइने
  • पोखरा महानगरले बेगनास ताललाई ‘लेकसाइड–२’ का रूपमा प्रवद्र्धन गर्ने
  • रिङरोड बनाइँदै, बसपार्क पनि सार्ने तयारी 
  • होटेलमा ठूलो लगानी हुँदै, दुईवटा पाँचतारे निर्माण सुरु
  • देशकै प्रमुख पदयात्रा मार्ग र मुस्ताङको मुक्तिनाथ मन्दिर जाने गेटवे पोखरा, काठमाडौं र नारायणगढबाट चार लेनको बाटो विस्तार गरिँदै
  • पोखरालाई आधार बनाएर देशका विभिन्न ठाउँमा पनि प्रादेशिक उडान सुरु

सुझावित समाचार