भारतमा थुप्रै अर्बपति छन् । तीमध्ये दुई यस्ता अर्बपति हुन्, जो सधैँ एक–अर्कासँग प्रतिदिन, प्रतिघन्टा प्रतिस्पर्धा गरिरहेका हुन्छन् । एसियाकै धनाढ्यभित्र पर्ने यी दुई अर्बपति सर्वाधिक चर्चामा पनि आइरहन्छन् । ती हुन्, रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी र अडानी ग्रुपका अध्यक्ष गौतम अडानी ।
अहिले अडानी चर्चा र विरोधबीच छन् । हालै मात्र उनीसम्बद्ध अडानी ग्रुपले प्रसारण संस्था एनडिटिभीको २९.१८ प्रतिशत सेयर खरिद गरेको छ । यस्तै, बाँकी २६ प्रतिशत सेयर खरिद गर्न खुला प्रस्ताव (ओपन अफर) गरेको छ । यसको कतै प्रशंसा त कतै ‘होस्टायल’ बनाएर अधिग्रहण गरेको आरोपसमेत लागिरहेको छ ।
खासमा यो प्रकरण के हो ?
बिजनेस टाइकुन अडानीले नयाँदिल्लीस्थित एनडिटिभीको सेयर खरिद गरेको समाचारले भारतमा आमदर्शक भड्किएका छन् । उनीहरूले यसलाई होस्टायल टेकओभर अर्थात् जबरजस्ती अधिग्रहण भनेका छन् । यता, एनडिटिभीले पनि उक्त २९.१८ प्रतिशतको खरिद प्रस्तावलाई विनाकुनै छलफल, सूचना र सहमतिको दाबी भनेको छ ।
के हो खुला प्रस्ताव ?
खुला प्रस्तावमा लगानीकर्ताले सम्बन्धित कम्पनीको ठूलो हिस्सा लिने कोसिस गर्छन् । अन्य पब्लिक सेयरहोल्डरमार्फत अतिरिक्त सेयर किन्न खोज्दा अपनाइने प्रक्रिया हो, यो । सेयर खरिदका लागि भिन्नै बाटो हुँदा पनि खुला प्रस्ताव गर्ने चलन भारतमा रहेको सञ्चारमाध्यमहरूले जनाएका छन् । अडानी–एनडिटिभी खरिदबिक्री प्रकरणमा बुझ्नुपर्ने मुख्य तीन विषय छन् । एक, टार्गेट कम्पनी, दुई, कम्पनीको टार्गेट र तीन, सेयरहोल्डर । अहिले अडानी–एनडिटिभी मसलामा टार्गेटमा एनडिटिभी परेको छ । टार्गेट गर्ने समूह अरू कोही नभएर अडानी ग्रुप हो । यसरी खुला प्रस्तावअन्तर्गत अडानीले एनडिटिभीका सेयरहोल्डरलाई बोली लगाउँछ । उनीहरूले विशेष मूल्य अर्थात् बजारमा प्रचलित मूल्यभन्दा बढीमा सेयर बेच्नेछन् ।
कहिले ल्याइन्छ ओपन अफर ?
जब कुनै कम्पनीले विशेष गरी भारतमा कुनै लिस्टेड कम्पनीको १५ प्रतिशत सेयर खरिद गर्छ भने यस्तो अफर ल्याउने चलन रहेको छ । यस्तो वेला लक्षित कम्पनीका सेयरहोल्डरलाई २० प्रतिशतसम्म अतिरिक्त सेयर खरिद गर्न प्रस्ताव गरिन्छ । अडानी ग्रुपले यही प्रस्तावका लागि आग्रह गरेको हो ।
अडानीले राखेको अफर
एनडिटिभीको एक करोड ६७ लाख ६२ हजार पाँच सय ३० कित्ता इक्विटी सेयर आमलगानीकर्ताबाट खरिद गर्न प्रतिसेयर दुई सय ९४ रुपैयाँ भारुको मूल्य अडानी ग्रुपले लगाएको छ । यस्तो अफर गर्ने अडानी एक्लो भने होइन । ऊबाहेक अन्य केही कम्पनीले पनि प्रस्ताव गरेका छन् । एएमजी मिडिया नेटवक्र्स लिमिटेडका सिइओ सञ्जय गुप्ताका अनुसार अधिग्रहण नयाँ जमानाको मिडियाका लागि मार्गप्रशस्त गर्ने कम्पनीको लक्ष्यतर्फको एउटा महत्वपूर्ण उपलब्धि हो । यसले समाचार वितरणमा एनडिटिभीको पकड बलियो बनाउने सञ्चारमाध्यमसँग उनले दाबी गरेका छन् ।
गत वर्ष अडानी मिडिया ग्रुपअन्तर्गतको अडानी इन्टरप्राइजेजले पनि क्विन्टिलिअन बिजनेस मिडिया अधिग्रहण गरेको थियो । हालको अडानी ग्रुपको अधिग्रहणले भारतीय कर्पोरेट इन्डस्ट्रीमा ‘होस्टायल टेकओभर’लाई पुनः चर्चामा ल्याएको छ ।
एनडिटिभीका संस्थापक प्रणव राय र राधिका रायको कम्पनीमा कुल ३२.२६ प्रतिशत सेयर छ । यस्तो स्थितिमा अडानी समूहका तीन कम्पनीले एनडिटिभीमा झन्डै चार अर्ब ९३ करोड भारुमा २६ प्रतिशत अतिरिक्त सेयर खरिद गर्न खुला प्रस्ताव गरेको हो ।
हाई प्रोफाइल सट्टेबाजी
अडानी ग्रुपको यो अधिग्रहणलाई मिडिया सेक्टरमा हाई प्रोफाइल सट्टेबाजी भनेर टिप्पणी गरिएको छ । यसअघि अर्बपति मुकेश अम्बानीले नेटवर्क–एट्टिनमार्फत आफ्नो उपस्थिति जनाइसकेका छन् । यसले सिएनएन न्युज–एट्टिन र बिजनेस च्यानल सिएनबिसी सञ्चालन गर्छ । गत वर्ष अडानी मिडिया ग्रुपअन्तर्गतको अडानी इन्टरप्राइजेजले पनि क्विन्टिलिअन बिजनेस मिडिया अधिग्रहण गरेको थियो । हालको अडानी ग्रुपको अधिग्रहणले भारतीय कर्पोरेट इन्डस्ट्रीमा ‘होस्टायल टेकओभर’लाई पुनः चर्चामा ल्याएको छ ।
के हो होस्टायल टेकओभर ?
जब कम्पनी वा व्यक्तिले लक्षित कम्पनीको बोर्ड वा व्यवस्थापनको सहमतिविना सेयर खरिद गर्न खोज्छ, त्यस्तो अवस्थालाई होस्टायल टेकओभर भनिन्छ । मानौँ, कुनै ‘ए’ नामक कम्पनीले ‘बी’ नामक अर्को कम्पनी खरिद गर्न बिड अफर लगाउँछ । तर, बीले आकर्षक मूल्य नपाएको भन्दै अस्वीकार गर्छ । यस्तो अवस्थामा ए नामक कम्पनीले विभिन्न हतियार प्रयोग गरेर खरिद गर्ने कोसिस गर्छ ।
भारतमा होस्टायल टेकओभरका उदाहरण
भारतको व्यापारिक इतिहासमा यस्ता होस्टायल टेकओभर प्रयासका थुप्रै उदाहरण छन् । यद्यपि, दुईवटा मात्रै सफल भएका छन् ।
उदाहरण एक : राशि सिमेन्ट
सन् १९८८ मा बिभी राजुले राशि सिमेन्टको ३२ प्रतिशत सेयर इन्डिया सिमेन्टलाई बेचेका थिए । भारतीय बिजनेस इन्डस्ट्रीमा यसलाई पुरानो इतिहास मानिन्छ ।
उदाहरण दुई : एल एन्ड टी माइन्डट्री
राशि सिमेन्टको सफल अधिग्रहणपश्चात् एल एन्डी टी माइन्डट्री दोस्रो सफल उदाहरण हो । लार्सेन एन्ड टुब्रो लिमिटेड (एल एन्ड टी) ले सन् २०१९ मा बैंगलोरस्थित माइन्डट्री कम्पनीको ६० प्रतिशत सेयर प्राप्ति गरेको थियो । यस्तै, एल एन्ड टीले माइन्डट्रीको ३१ प्रतिशत अतिरिक्त सेयर उनन्पचास अर्ब ८९ करोड भारुमा ओपन अफरमार्फत खरिद गरेको थियो ।