नेपाली नागरिकका छोराछोरीले नागरिकता पाउने विषय राष्ट्रघात भन्नु पाखण्ड मात्रै हो : प्रचण्ड

बुधबार, ८ भदौ, २०७९
डिजिटल संस्करण

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली आमाबुबाबाट जन्मिएका छोराछोरीले नागरिकता पाउने विधेयक पास गर्दा राष्ट्रघात भन्नु पाखण्ड भएको बताएका छन् । बुधबार गृहजिल्ला चितवन आइपुगेका प्रचण्डले अहिलेको नागरिकता विधेयक नेपाली नागरिकका छोराछोरीले नागरिकता नपाएर छटपटिइरहेको वेला त्यो अधिकार दिलाउने विधेयक मात्र भएको उल्लेख गरे ।

उनले अहिले पनि नेपाली नागरिकका ६–७ लाख छोराछोरी नागरिकता नभएकै कारण राज्यले दिने विभिन्न अवसरबाट वञ्चित भइरहेको अवस्थामा उनीहरूलाई अधिकार दिने कुरा कसरी राष्ट्रघात हुन्छ भनेर प्रश्न गरे । 

आमाबुबा दुवै नेपालका नागरिक भएको छोराछोरीले नारिकता पाउने विधेयक नै अहिलेको सारतत्व भएको उनकाे भनाइ छ । उनले यो विधेयक केपी ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत लगिएको, तर अहिले संसदमा ल्याउँदा राष्ट्रघात भन्नु बेइमानीबाहेक केही नभएको बताए । ‘अध्यादेशका रूपमा ओलीले लगेको विधेयक संसदले पास गर्दा कसरी राष्ट्रघात भयो ?’ उनले प्रश्न गरे । 

निर्वाचनको मिति घोषणापछि पहिलोपटक गृहजिल्ला आएका प्रचण्डले आफ्नो निर्वाचन क्षेत्र चितवन ३ मा भएका विकास योजनाको अवलोकनसँगै शिलान्यास गर्ने कार्यक्रम छ । उनले चितवनको माडीमा निर्माण सम्पन्न पुल र सडकको शिलान्यास, तटबन्धनको शिलान्यास गर्ने कार्यसूची छ । उनीसँगै  वनमन्त्री प्रदीप यादव र भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इस्तियाक राई पनि चितवन आएका छन् ।

See More On

सुझावित समाचार