विशेष गरेर महिलाहरूले महान् चाड तिजमा मेकअप र पहिरनमा विशेष ध्यान दिने गर्छन् । साडी–चोली, रातो कुर्था तथा रातै लेहेंगालगायतका पहिरनमा महिलाहरू सजिन्छन् । पहिरनसँगै तिजमा हेयर स्टाइलले पनि नारीको व्यक्तित्वमा त्यत्तिकै निखार ल्याउँछ । अहिले विभिन्न प्रकारका हेयर स्टाइल चलेको छ ।
तथापि, पछिल्लो समय लोकप्रिय हेयर स्टाइल भनेको रसियन हेयर स्टाइल हो । यसका पनि विभिन्न डिजाइनका जुरोहरू छन् । त्यसैले नवदुलहीदेखि युवतीहरूलाई विशेष गरेर रसियन हेयर स्टाइलको जुरो नै आकर्षक देखिन्छ र अहिले बजारमा पनि यही जुरो चलेको छ ।
यसरी रसियन स्टाइलको जुरो बनाउँदा यस्तो जुरो सजाउन बजारमा विभिन्न प्रकारका आकर्षक कृत्रिम फूलका गुच्छाहरू आएका छन् । यसले गर्दा पनि रसियन जुरो अझ आकर्षक बन्ने गरेको छ । फूलगुच्छायुक्त जुरोले नवदुलहीलगायतका युवतीहरूको सुन्दरतामा अझ निखार ल्याउँछ ।
टिनएजरलाई यस्तो हेयर स्टाइल
नजिकिँदै गरेको तिजलाई लक्षित गर्दै टिनएजरहरूले कर्ली स्टाइलसँगै मेस्सिबन बनाउँदा राम्रो हुन्छ । यदि टिनएजरहरू साडीमा उत्रँदै छन् भने मेस्सिबन स्टाइल नै उपयुक्त हुन्छ । कपाल लामो र सर्लक्क परेको छ भने स्ट्रेट कपालमा पनि टिनएजरहरूलाई तिजमा राम्रो देखिन्छ । यदि उनीहरू जुरोका लागि सौखिन छन् भने ‘बो जुरो’ टिनएजरहरूका लागि स्पेसल मानिन्छ ।