प्रहरी पोसाकमै स्टेज चढेर ठुम्का लगाउने सइलाई कारबाही

आइतबार, ५ भदौ, २०७९
डिजिटल संस्करण

प्रहरी पोसाकमा फरक हाउभाउसहित स्टेजमा नृत्य गरेपछि रौतहटका प्रहरीका सइ कारबाहीमा परेका छन्। रौतहट जिल्लाको गढीमाई नगरपालिका-७ धर्मपुर चौकीका इन्चार्ज प्रहरी नायब निरीक्षक (सइ) राजकिशोर शाह प्रहरीकै पोसाकमा सार्वजनिक रूपमै नाचेको भिडियो पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। 

भिडियो सार्वजनिक भएपछि उनको चौतर्फी आलोचना भइरहेको देखिन्छ। उनलाई जिल्ला प्रहरी कार्यालय रौतहटले सो चौकीको इन्चार्जबाट हटाएको छ। भिडियोमा शाह दुईजना कलाकारहरूसँग उर्जाका साथ नाचेका छन्। नाँच्ने क्रममा उनी कहिले ती कलाकार माथि चढेका छन् त कहिले कलाकारलाई कम्मरमा बोकेका छन्।

यस विषयमा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले आफूले घटनालाई एकदमै गम्भीर रूपमा लिएको बताउँदै ती नाच्ने प्रहरी अधिकारीमाथि छानबिन गर्ने बताएका छन्। उनले प्रहरीको अनुशासनभित्र नबस्ने प्रहरी कारबाही भागिदार हुने भन्दै यस विषयमा अनुसन्धान गरिरहेको जनाए। 
अर्कोतर्फ भिडियो सार्वजनिक भएपछि प्रहरी नायब निरीक्षक राजकिशोर साहले आफूलाई नियतवश फसाइएको दाबी गरेका छन्। उनले आफू नाच्न स्टेजमा चढेको नभई साँझ पर्न लागेकाले मान्छेको भिड हटाउँदै मेला र नाच बन्द गराउन चढेको बताएका छन्।

सुझावित समाचार