डिजिटल प्लेटफर्म क्रिकएचक्यू र क्यानबीच साझेदारीको सहमति

शनिबार, ४ भदौ, २०७९
डिजिटल संस्करण

डिजिटल प्लेटफर्म क्रिकएचक्यू न्यूजील्याण्ड र नेपाल क्रिकेट संघ (क्यान)ले साझेदारी गर्ने भएका छन्। क्रिकेटमा नवीनता बढाउने उद्देश्यले क्यानले विश्वको सबैभन्दा ठूलो डिजिटल प्लेटफर्म क्रिकएचक्यूसँग तीन वर्षका लागि साझेदारीको सहमति गरेको हो।

यो साझेदारीले क्यानलाई नवप्रवर्तन गर्न र प्राविधिक उन्नति ल्याउन मद्दत गर्ने क्यानको विश्वास छ। लाइभ स्कोरिङ र क्रिकेटका सबै तहको स्ट्रिमिङसहित क्रिकेटलाई प्रशंसकहरूसँग जोड्न प्रविधिको प्रयोग गर्ने उत्कृष्ट ट्र्याक रेकर्ड क्रिकएचक्युसँग छ।

यो प्लेटफर्मले लाइभ स्कोरिङ, म्याच रिपोर्ट, ऐतिहासिक तथ्याङ्कको विश्लेषण, खेलाडीहरूको डिजिटलाइजेशन, प्रतियोगिता तथा विश्वभरका क्रिकेट संस्था, क्लब र विद्यालयहरूका लागि सामाजिक सञ्जालहरूमा लाइभ स्ट्रिमिङ सुविधा दिनेछ।

क्रिकएचक्यूका सिइओ इरिन वाल्सेले क्यानसँगको साझेदारीबाट धेरै खुसी र उत्साहित रहेको बताएका छन्। कार्यक्रममा उनले भने, 'हामी उनीहरूको क्रिकेट समुदायलाई खेलका सबै तहहरूमा डिजिटलाइज गर्न मद्दत गर्न तत्पर छौं। क्रिकएचक्यूसँगै 'माइ एक्सन रिप्ले'ले क्यानलाई आफ्ना खेलाडी, प्रशंसक र क्रिकेट समुदाय पनि संलग्न हुनसक्ने डेटा सङ्कलन गर्न मद्दत गर्नेछ।'

कार्यक्रममा क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले क्रिकएचक्यूसँगको साझेदारीले एक पूर्ण डेटाबेस विकास गर्न सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्। यसले प्रशिक्षक, सहयोगी कर्मचारी र  खेलाडीहरूलाई अझै राम्रो प्रदर्शन गर्न मद्दत पुग्ने अपेक्षा गरिएकाे छ।

सुझावित समाचार