सञ्चालन खर्च धेरै र यात्रुहरू कम भएकाले यो रेलले वार्षिक दशौँ लाख घाटा व्यहोर्छ । यसका बाबजुद चीनले ६ सय किलोमिटर प्रतिघन्टा चल्ने अर्को माग्लेभ रेल सञ्चालनको तयारी गरिरहेको छ ।
विश्वकै सबैभन्दा तीव्र गतिको व्यापारिक रेल चीनमा गुड्छ । सांघाई माग्लेभ नामक यो रेललाई सांघाई माग्लेभ यातायात विकासले सञ्चालन गर्ने गरेको छ । यो रेलको उच्च गति चार सय ३१ किलोमिटर प्रतिघन्टा छ । यो रेल तयार गर्नका लागि चीनले जर्मनीसँग प्राविधिक सहयोग लिएको थियो ।
सन् २००४ देखि यो रेल सञ्चालनमा आएको थियो । यो परियोजना निर्माणका लागि दुई वर्ष ६ महिनामा १.३ बिलियन डलर खर्च भएको थियो । यद्यपि, यो रेलले अहिलेसम्म नाफा कमाउन सकेको छैन ।
सञ्चालन खर्च धेरै हुन आउने र यात्रुहरू कम हुने भएकाले माग्लेभले प्रतिवर्ष दशौँ लाख घाटा व्यहोर्छ । यसका बाबजुद विश्वलाई देखाउनका लागि यो रेलमा भव्य लगानी गर्न चीनले कुनै कसर बाँकी राखेको छैन ।
बरु ६ सय किलोमिटर प्रतिघन्टा चल्ने अर्को माग्लेभ रेल सञ्चालनको तयारी चीनले गरिरहेको छ । प्रतिस्पर्धामा अन्य देश पनि छन् । जस्तो ६ सय दुई किलोमिटर प्रतिघन्टा चल्ने माग्लेभ रेल सञ्चालनको तयारीमा जापान लागिरहेको छ ।