संसारभर हृदयाघातका बिरामीको संख्या बढ्दो छ । त्यसबाट नेपाल अछुतो छैन । व्यायामको कमी तथा बदलिएको खानपान र जीवनशैलीका कारण बर्सेनि हृदयाघातको ग्राफ उकालो लागिरहेको छ । ज्यानै जान सक्ने यो समस्या कसरी आउन नदिने ? हृदयाघात भएको कसरी थाहा पाउने ? अनि, हृदयाघात भइहाले के गर्ने ? यस्तो छ, मनमोहन कार्डियो भास्कुलर सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेलको सुझाव :

कोही व्यक्तिलाई हृदयाघात भइहाले वा भएको शंका लागे तत्कालै अस्पताल जानुपर्छ । छातीको मध्यभाग तथा दायाँबायाँ दुख्यो भने हृदयाघात भएको हुन सक्छ । त्यो दुखाइ सहन गाह्रो हुने किसिमको हुन्छ । आराम गर्न खोज्दा पनि आराम हुँदैन ।
देब्रे कुहिना वा कुमतिर दुखाइ बढी हुन्छ । उक्त दुखाइ चिउँडो अथवा कानसम्म पनि सरेर जान सक्छ । त्यो दुखाइ हुँदा बिरामीलाई लुगा भिज्ने गरी पसिना आउँछ । कसैलाई वाकवाक हुने हुन्छ भने कसैलाई बान्ता पनि हुने हुन्छ । योचाहिँ हृदयाघातको लक्षण हुन सक्छ ।
अस्पताल आउनु वा पुग्नुअघि बिरामीले मलाई हृदयाघात पनि भएको हुन सक्छ भन्ने सोचेर अलि सहज पोजिसनमा बस्नुपर्छ । तनाव लिनुहुँदैन । सक्दो छिटो अस्पताल पुग्ने र स्प्रिन भन्ने औषधि चपाउनुपर्छ । यसले हृदयाघातलाई रोक्न नसके पनि हृदयाघातबाट हुन सक्ने मुटुको अन्य ड्यामेज रोक्न सक्छ । त्यस्तै, बिरामीलाई सकेसम्म सहज पोजिसनमा राख्नुपर्छ । तनाव कम लिँदा र आरामले बस्दा मुटुमा हृदयाघातले दिने असरलाई कम गर्न सकिन्छ । कतिपयले लामो–लामो सास लिने अभ्यास गर्दा मुटु क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने गरेको पनि पाइन्छ ।
हृदयाघातका वेला शारीरिक व्यायाम गर्नुहुँदैन । छिटो–छिटो सास फेर्नेजस्ता गतिविधि गर्नुहुँदैन । उक्त अवस्थामा मुटुलाई असर पर्ने किसिमका गतिविधि गर्नुहुँदैन । शान्त भएर र आराम गरेर बस्नुपर्छ । मुटुलाई दह्रो बनाउनुपर्छ । आनन्द लिनुपर्छ ।