एनएमबि बैंक लिमिटेडले विश्व बैंक समूहको सदस्य इन्टरनेसनल फाइनान्स कर्पोरेसन (आइएफसी)बाट दुई करोड ५० लाख अमेरिकी डलरको तेस्रो आवधिक कर्जा भित्र्याएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत सुनील केसी र आइएफसीका दक्षिण एसिया क्षेत्रीय निर्देशक हेक्टर गोमेज आंगबीच कर्जासम्बन्धी समझदारीपत्र आदान–प्रदान भएको हो ।
यो कर्जाले हालको असहज परिवेशमा उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी बढाउन मद्दत पुग्ने बैंकले जनाएको छ । एनएमबि बैंक चार वर्षको अवधिमा आइएफसीबाट लगातार तीनपटक कर्जा प्राप्त गर्ने नेपालको एक मात्र बैंक भएको जनाइएको छ ।
यसरी विस्तार गरिएको क्रेडिट लाइनले कोभिड–१९ का कारणले गर्दा साना तथा मझौला कर्जाको क्षेत्रमा भएको खाडललाई परिपूर्ति गर्न र उक्त क्षेत्रहरूमा नयाँ उद्यमीहरूलाई प्रोत्साहित गर्न सक्षम बनाउने बैंकले विश्वास व्यक्त गरेको छ ।
एनएमबि बैंक दी फाइनान्सियल टाइम्स, लन्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो । यो बैंकले २०१७, २०१८, २०२० र २०२१ का लागि पनि उक्त पत्रिकाद्वारा चारपटक नेपालकै उत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दी इयर नेपाल’ प्राप्त गरिसकेको जनाइएको छ ।
हाल बैंकले देशभरमा दुई सय एक शाखा, एक सय ३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।