काठमाडौंको कुमारीगालमा रहेको इलिक्सर एकेडेमीले आफ्नो विद्यालयबाट ०७८ सालको एसइई परीक्षामा ४ जिपिए ल्याउने दुई विद्यार्थीलाई एक लाख रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेको छ । विद्यालयले एसइईमा सहभागी ४५ जना विद्यार्थीमध्ये प्रतीक पौडेल र कृतिका सिवाकोटीलाई एक लाख रुपैयाँका दरले पुरस्कृत गर्ने भएको हो ।
देशभरबाट ४२ जना विद्यार्थीले मात्र ४ जिपिए ल्याएकामा काठमाडौं जिल्लाका १० जनामध्ये आफ्नो विद्यालयबाट दुईजना पर्न सक्नु सफलताको मापक भएको भन्दै विद्यालयले पुरस्कृत गर्ने घोषणा गरेको जनाएको छ । विद्यालयका प्रधानाध्यापक रविन दाहालले देशलाई विश्वका विकसित मुलुकको दाँजोमा पुर्याउन सक्ने २१औँ शताब्दी सुहाउँदो योग्य, सक्षम, इमानदार एवं कर्तव्यनिष्ट नागरिक तयार गर्नु विद्यालयको प्रमुख उद्देश्य रहेको बताए ।
यस वर्ष काठमाडौं जिल्लामा ठहरिएको इलिक्सर एकेडेमीले यसअघि पनि राम्रो नतिजा हासिल गरेको प्रधानाध्यापक दाहालले बताए । पुरस्कारले विद्यार्थीमा मिहिनेत गरेपछि प्रतिफल प्राप्त हुन्छ भन्ने भावनाको विकास गराउने उनको धारणा छ । प्रधानाध्यापक दाहाल भन्छन्, ‘आउँदा वर्षहरूमा पनि विद्यार्थीको मनोबल उच्च राख्न हामीले पुरस्कार घोषणा गरेका हौँ ।
आउँदा वर्षहरूमा पनि ४ जिपिए ल्याउने विद्यार्थीलाई एक–एक लाखको पुरस्कार प्रदान गरिनेछ ।’ विद्यालयका अंग्रेजी शिक्षक उमेश अधिकारीले यो वर्ष काठमाडौं जिल्लामा उत्कृष्ट विद्यालय ठहरिए पनि आगामी वर्षहरूमा देशकै एक नम्बर विद्यालय बन्ने लक्ष्य रहेको बताए ।