सुराकीको सहयोगमा प्रहरीले समातेको सुन र डलर नक्कली, ३ वटा पेस्तोल भने सक्कली

बिहिबार, १९ साउन, २०७९
डिजिटल संस्करण

धादिङको खनियाँबास गाउँपालिका–४ को बेगबहादुर तामाङ (बेगे) बाट बरामत गरेको सुन र अमेरिकन डलर दुवै नक्कली भएको पुष्टि भएको छ। 

मंगलबार उत्तरी धादिङको लपाङफेदीबाट धादिङबेँसी आउँदै गर्दा बेगेको साथबाट बरामद भएको १ किलो फाइनगाेल्ड ९९९.९ लेखिएको बिस्कुट आकारको पहेलो धातु र ५० रुपैयाँको ९७ र १०० रुपैयाँको १६३ थान डलर नोट परीक्षणको क्रममा नक्कली पुष्टि भएको जिल्ला प्रहरी कार्यालय धादिङका एसपी राकेश सिंहले बताए। 

मंगलबार ग १ ज ६७५३ नम्बरको गाडीमा सदरमुकाम धादिङबेँसी आउँदै गर्दा बेगे र उनकै गाउँकी शोभा तामाङ पक्राउ परेका थिए। 

एसपी सिंहले भने–‘१ किलो सुन र नक्कली नोटसहित बेगे पक्राउ परेपछि बुधबार प्रहरीले घर खानतलासी गर्यो। बेगेको घरबाट ५ सय ग्राम लेखिएको सुनजस्तो देखिने ४ थान पहेँलो धातु बरामत गरेको थियो। बरामद भएको पहेँलो धातु सुन हो या नक्कली हो भनेर जाँच गर्न नेपाल सुनचाँदी कला व्यवसायी संघमा पठायौँ। चेकजाँचपछि नक्कली प्रमाणित भएर आयो। डलर त हेर्दै थाहा हुन्छ, सिरियल नम्बरसमेत छैन नक्कली नै हो।

बेगेको घरबाट प्रहरीले ३ वटा पेस्तोल र पेस्तोलमा लाग्ने २० वटा गोलीहरू पनि पक्राउ गरेको छ। सुन ल्याउँदै छ भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको एसपी सिंहले बताए। घरमा फेला परेको पेस्तोल एक थान अमेरिकी, एक थान चाइनिज र अर्काे कटुवा पेस्तोल रहेको छ। 

सुझावित समाचार