सुनकोसी–३ आयोजनाको लगानी मोडालिटी बनाउन नेपाल–बंगलादेशबीच वार्ता हुँदै

बुधबार, ११ साउन, २०७९
डिजिटल संस्करण

६ सय ८३ मेगावाटको सुनकोसी–३ जलाशययुक्त विद्युत् आयोजनामा लगानीको ढाँचा टुंग्याउन नेपाल–बंगलादेश संयुक्त ऊर्जा सचिवस्तरीय बैठक बस्ने भएको छ । बंगलादेशको जलस्रोत मन्त्रालयले सोही एजेन्डालाई केन्द्रित गरेर अगस्टमा संयुक्त सचिवस्तरीय बैठक गर्न नेपाललाई प्रस्ताव गरेको छ । नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पनि अगस्टमै संयुक्त बैठक बस्ने गरी प्रक्रिया अगाडि बढाएको मन्त्रालयका एक उच्च अधिकारीले बताए ।

उक्त बैठकबाट सुनकोसी–३ आयोजनाको लगानी मोडालिटी टुंगो लगाइनेछ । ‘यो आयोजनामा भारत पनि लगानी गर्न तयार हुन सक्छ । तसर्थ, यसमा बंगलादेश र नेपालको मात्रै लगानी हुन्छ भन्न पनि सकिन्न,’ ऊर्जा मन्त्रालयको स्रोतले भन्यो । गत हप्ता मात्रै नेपालका लागि बंगलादेशका राजदूत सलाहुद्दिन नोमान चौधरीले सुनकोसी–३ आयोजना बन्ने ठाउँ (रामेछाप र काभ्रेपलाञ्चोक) को भ्रमणसमेत गरिसकेका छन् । त्यस क्रममा राजदूत चौधरी सुनकोसी–३ प्रति सकारात्मकसमेत देखिएको भ्रमणमा संलग्न विद्युत् विकास विभागका अधिकारीहरू बताउँछन् ।   

यसअघि सेप्टेम्बर २०२१ मा काठमाडौंमा भएको संयुक्त ऊर्जा सचिवस्तरीय बैठकमा नेपाल र बंगलादेशले संयुक्त रूपमा सुनकोसी–३ बनाउने निर्णय गरेको थियो । उक्त बैठकमा नेपालले अरुण चौथो, किमाथाङ्का अरुण, खिम्ती शिवालयलगायतका आयोजनामध्ये कुनै एकमा लगानी गर्न बंगलादेशलाई प्रस्ताव गरेको थियो । सोही प्रस्तावमध्येबाट बंगलादेशले सुनकोसी–३ मा लगानी गर्ने निर्णय गरेको हो । सो आयोजनाबारे विद्युत् विकास विभागले गरेको सर्वेक्षण तथा वातावरणीय  प्रभाव मूल्यांकनले एक खर्ब ६० अर्ब लगानी लाग्ने अनुमान गरेको छ । आयोजनाको वातावरणीय प्रभाव मूल्यांकनसमेत सम्पन्न भइसकेको छ । त्यसको प्रतिवेदन स्वीकृति गर्न वन तथा वातावरण मन्त्रालयमा पेस गरिएको विभागको भनाइ छ । यो आयोजनाको बाधको लम्बाई चार सय ८४ मिटर उचाइ एक सय ८० मिटर बनाइनेछ । 

बिहीबार जलस्रोत समितिको संयुक्त बैठक
बिहीबार काठमाडौंमा नेपाल–बंगलादेश जलस्रोत समितिको सविचस्तरीय बैठक बस्ने भएको छ । संयुक्त बैंठकमा जलवायु परिवर्तनका कारण भइरहेको क्षति नियन्त्रण, जलस्रोत उपभोगको विषयमा छलफल हुनेछ । साथै, दुवै देशको अनुभव आदान–प्रदान गर्ने कार्यतालिका पनि रहेको छ । बैठकमा नेपालको तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव सागर राईसहित जलस्रोत तथा सिँचाइ विभाग, विद्युत् विकासका विभागका प्रमुखहरूको उपस्थिति हुनेछ । यस्तै, बंगलादेशको तर्फबाट जलस्रोत मन्त्रालयका वरिष्ठ सचिव कबिर विन अनवारलगायतको विज्ञ टोली सहभागी हुनेछ । 

ऊर्जा मन्त्रालयका प्रवक्ता मधुप्रसाद भेटुवालका अनुसार बैठकमा जलस्रोतको अधिकतम प्रयोग, जलस्रोत क्षेत्रको विकास तथा जलस्रोतबारे अध्ययन र अनुसन्धानलगायतका मुद्दामा केन्द्रित भएर उक्त बैठक गरिनेछ । बिहीबार काठमाडौंमा संयुक्त बैठक गरेर शुक्रबार बंगलादेशको टोली कुलेखानी जलविद्युत् आयोजनाको अवलोकन गर्न जानेछ । नेपाल–बंगलादेश जलस्रोत समितिको यो बैठक साढे १४ वर्षपछि हुन लागेको हो । यो समितिको पहिलो बैठक फेब्रुअरी २००८ मा भएको थियो ।

सुझावित समाचार