किन छाडे दासानायकेले नेपाल ?

शनिबार, ७ साउन, २०७९
डिजिटल संस्करण

नेपालले आइसिसी विश्वकप लिग–२ तथा विश्वकप टी–२० छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास थियो । तर, पुबुदु दासानायकेको सातमहिने प्रशिक्षणमा नेपालले यी दुवै महत्वपूर्ण प्रतियोगितामा अनुमानविपरीत नतिजा हात पार्यो ।

नेपाली क्रिकेटरका नजरमा रोय लुक डायसपछि मनपर्ने प्रशिक्षकका रूपमा पुबुदु दासानायके थिए । श्रीलंकाली पूर्वखेलाडीसमेत रहेका डायसले नेपाली क्रिकेट टोलीको युवाशक्तिको विकासमा ठूलो योगदान पुर्याए । डायसले उमेर समूहमा केन्द्रित रही नेपाली टोलीलाई अन्तर्राष्ट्रिय जगत्मा पुर्याउने काम गरेका थिए । तर, उनी सिनियर टोलीमा त्यति सफल भएनन् । नेपाललाई एकदिवसीय तथा टी–२० विश्वकप खेलाउने डायसको ठूलो चाहना थियो । यो चाहना पूरा नगर्दै उनी नेपाली टोलीबाट बिदा भए । 

यसविपरीत निकै छोटो समयमै दासानायके नेपाली टोलीमा सफल भए । सन् २०११ मा दासानायकेले नेपाली टोलीको कमान्ड सम्हाले । मुख्य प्रशिक्षकका रूपमा कार्यभार सम्हालेको तीन वर्षभित्र नै उनले नेपाललाई आइसिसी टी–२० विश्वकपमा स्थान दिलाउन सफल भए । सन् २०१४ को बंगलादेशमा भएको आइसिसी टी–२० विश्वकपमा नेपालले ऐतिहासिक स्थान मात्र बनाएन, त्यहाँ उत्कृष्ट प्रदर्शनसमेत गर्यो । 

दासानायकेले पहिलोपटक नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा जिम्मेवारी सम्हाल्दा नेपाललाई विश्वकपमा उपस्थिति दिलाउन सफल पारे । उनले नेपाललाई आइसिसी विश्व डिभिजन तीन र दुईको विजेता बनाए । सन् २०१५ मा उनले एक्कासि नेपाली टोली परित्याग गरे । त्यसवेला नेपाली क्रिकेटमा देखिएका विवादकै कारण उनले नेपाल छाडे । दासानायकेको पहिलो कार्य उत्कृष्ट रह्यो । 

गत पुसमा उनी दोस्रोपटक नेपाली टोली सम्हाल्न आइपुगे । त्यसवेला धेरैलाई यो लागेको थियो, सिनियर क्रिकेट टोलीकै जादुगरी प्रशिक्षक आउँदा नेपालले आइसिसी विश्वकप लिग–२ तथा आइसिसी विश्वकप टी–२० छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने विश्वास थियो । तर, सबैले अनुमान गरेभन्दा विपरीत नतिजा निस्कियो । नेपाल टी–२० विश्वकपमा छनोट मात्र भएन, विश्व लिग–२ मा समेत खराब नतिजा व्यहोर्यो ।

नेपाली क्रिकेटमा खेलाडी तथा नेपाल क्रिकेट संघ (क्यान)बीचको विवाद अन्तिम चरणमा पुगेका वेलामा दासानायके आएका थिए । खेलाडीसँग राम्रो हेलमेल भएका दासानायकेले खेलाडी र क्यानबीच सम्बन्ध सुधार गर्ने अपेक्षा थियो । सम्बन्ध सुधार मात्र नभएर उनीसमक्ष नेपाललाई आसन्न ठूला अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोतिगामा समेत राम्रो नतिजा निकाल्नुपर्ने दबाब थियो । तर, उनले कुनै पनि पक्षमा राम्रो गर्न सकेनन् । 

सिनियर र जुनियर खेलाडीबीचको सम्बन्धमा दासानायकेले सुमधुर पार्न सकेनन् । सिनियर खेलाडीबाट राम्रो साथ नपाउँदा नेपालको विश्वकप लिग–२ मा खराब प्रदर्शन प्रमुख कारण बन्यो । यसपटक दासानायकेले सिनियरभन्दा पनि जुनियर खेलाडीमाथि विश्वास गरेका थिए । टी–२० विश्वकप तथा आइसिसी विश्वकप लिग–२ मा कमजोर प्रदर्शन हुनुको कारण पनि त्यही पक्ष नै रह्यो । 

ओमान र स्कटल्यान्ड भ्रमणमा सोचेजस्तो नतिजा हात पार्न नसक्दा दासानायकेले नेपाली टोली परित्याग गरे । सुरुमा उनले लामो समय परिवारबाट टाढिएका कारण मुख्य प्रशिक्षकबाट राजीनामा दिएको जनाए । क्यानडामा रहेको परिवारसँग एक वर्ष बिताउने प्रारम्भिक योजना सुनाए । तर, नेपालको मुख्य प्रशिक्षकबाट राजीनामा दिएको दुई घन्टा बित्न नपाउँदै उनी क्यानडाका मुख्य प्रशिक्षक बने । समग्रमा नेपाली टोलीसँगको दोस्रो इनिङ्स दासानायकेको करिअरकै खराब रूपमा रह्यो । नेपाली टोलीबाट पछाडि हट्नुका यी प्रमुख कारण हुन् । 

छाड्नुका पाँच कारण

१. टोलीको एकता नहुनु
सन् २०११ मा दासानायके प्रशिक्षक हुँदा सिनियर तथा जुनियर खेलाडीबाट राम्रोसँग साथ पाएका थिए । त्यसवेला पारस खड्का, ज्ञानेन्द्र मल्ल, शरद भेसवाकर, सुभाष खकुरेलजस्ता सिनियर खेलाडीले दासानायकेको काँध मिलाएर अगाडि बढे । दोस्रोपटक कार्यभार सम्हाल्दा दासानायकेसँग यी खेलाडी थिएनन् । युवा खेलाडी सन्दीप लामिछाने एक्कासि कप्तान चुनिँदा टोलीमा मुख्य सिनियर खेलाडी थिएनन् । नेपाली टोलीकै भरपर्दाे ब्याट्सम्यान मानिने ज्ञानेन्द्र मल्ललाई टोलीबाट हटाइयो । 

सुरुवाती क्रममा मल्लले दासानायकेको प्रशिक्षणमा अन्तर्राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्ने अवसर पाए । ब्याटिङ राम्रो गर्न नसकेका कारण देखाउँदै मल्ललाई टोलीबाट बाहिर राखियो । अर्कोतिर मध्यक्रमका विश्वासिलो ब्याट्सम्यान भेसवाकरले मौका नै पाएनन् । नेपाली टोलीको यो स्थानसम्म पुर्याउन विशेष योगदान दिएका सिनियर खेलाडीलाई बिर्सेर युवा खेलाडीमाथि विश्वास गर्दा नै दासानायकेले टी–२० विश्वकप छनोट तथा विश्वकप लिग–२ मा खराब नतिजा व्यहोर्न बाध्य भए । अर्कोतिर सिनियर र जुनियर खेलाडीबीचको एकता नहुँदा पनि त्यसको प्रत्यक्ष असर टोलीको प्रदर्शनमा परेको थियो । टोलीलाई एकताको सूत्रमा बाँध्न नसक्नु, गुट र उपगुटका रूपमा रहेको नेपाली टोलीलाई एकताअगाडि नै दासानायकेले क्यानडाको बाटो समाते । 

२. जितभन्दा हार धेरै
सन् २०१४ को टी–२० विश्वकपमा नेपाललाई स्थान दिलाएका दासानायकेले दोस्रोपटक यस्तै नतिजा दिलाउने विश्वास थियो । जस्तोसुकै अवस्थामा पनि नेपाललाई विश्वकपको ढोका पार लगाउन सक्ने शक्ति उनमा थियो । तर, सात वर्षअघिको र वर्तमान नेपाली टोलीमा आकाश–जमिन फरक भइसकेको थियो । यो पक्षलाई उनले बुझ्न सकेनन् । कमजोर प्रतिद्वन्द्वी पाउँदा नेपालले सानदार जित निकाल्यो । आफूभन्दा हल्का बलियो विपक्षी रहँदा नेपाल नराम्रोसँग पराजित भइरह्यो । ओमानमा भएको टी–२० विश्वकपको समूह चरणमा नेपालले सानदार जित निकाल्यो । तर, सेमिफाइनलको खेलमा नेपाल युएईसँग ६८ रनले पराजित भयो । यो हारले नेपालको दोस्रोपटक टी–२० विश्वकप खेल्ने सपना तुहियो । साथै, एकदिवसीय खेलमा नेपालले जितभन्दा हारको सामना धेरै गर्यो ।

३. धरापमा एकदिवसीय मान्यता
आइसिसीले नेपालको एकदिवसीय मान्यता रक्षा गर्न विश्वकप लिग–२ को शीर्ष पाँचभित्र पर्नुपर्ने जनाएको छ । यद्यपि, लिग–२ मा प्रतिस्पर्धा गरिरहेका सबै टोलीमा यो नियम लागू हुन्छ । लिग–२ मा आधाभन्दा बढी खेल खेलिसकेको नेपाल अहिले छैटौँ स्थानमा छ । नेपालले २० खेलबाट १७ अंक मात्र जोडेको छ । दासानायकेको प्रशिक्षणमा लिग–२ मा सात हार व्यहोर्दा नेपाल पुछारबाट दोस्रो स्थानमा रहेको हो । नेपालले एकदिवसीय मान्यता रक्षा गर्न अब बाँकी रहेको १६ खेलमा जित निकाल्नुपर्ने हुन्छ । 

४. क्यानडाबाट अफर
नेपाली टोलीका मुख्य प्रशिक्षकका रूपमा चयन हुँदा दासानायके सात महिना लगातार टोलीसँगै बसे । यसबीचमा उनले खासै क्यानडा जान पाएनन् । यसपटक परिवारबाट टाढा रहँदा उनी लगभग होमसिकजस्तै भइसकेका थिए । मनभित्रको मनोभावना व्यक्त गर्न नसकिरहेका दासानायकेले क्यानडाबाट अफर आउँदा दंग नै परे । क्यानडामा रहेका परिवारसँग २४ घन्टा नै सँगै बस्ने अवसर पाउँदा उनले भित्री रूपमा क्यानडाको मुख्य प्रशिक्षक बन्न सहजै स्वीकार गरे । नेपालले स्कटल्यान्ड भ्रमणअघि क्यानडामा मैत्रीपूर्ण खेलका क्रममा उनले क्यानडा क्रिकेट संघसँग निकै नै गोप्य रूपमा सम्झौता गरिसकेका थिए । उनलाई एक मौका मात्र चाहिएको थियो । नेपालले स्कटल्यान्डमा तीन खेलमा हारको सामना गरेपछि टोली छाड्न राम्रो विकल्प भयो । आलोचना भइरहेका वेलामा उनले नैतिकताका आधारमा राजीनामा दिनु नै उत्तम सम्झिए । तर, परिवारसँगै बस्ने वातावरण क्यानडा क्रिकेट संघले बनाएपछि दासानायकेले एकैपटक नेपाली टोली छाडे ।

५. खस्किँदो ब्याटिङ
जितमा ब्याटिङ, बलिङ तथा फिल्डिङ नै मुख्य मानिन्छन् । यी तीनवटामध्ये एक पक्ष नचल्दा जित्न निकै मुस्किल पर्छ । पछिल्लो समयमा नेपाली टोली सिरिजमा जितविहीन हुनुको पछाडि ब्याटिङ नै प्रमुख पक्ष रह्यो । बलिङकै भरमा नेपालले जित निकालेर लक्ष्य पछ्याउँदा अति नै खराब प्रदर्शन भएको थियो । एकदिवसीय खेलमा दुई सय योगफलको लक्ष्य पार गर्न सहज मानिन्छ । तर, नेपालले यस्तो अवस्थामा पनि लक्ष्य भेट्टाउन सकेन । शीर्ष तथा मध्यक्रमका ब्याट्सम्यानले एकपछि अर्को खेलमा कमजोर प्रदर्शन गर्दा नेपाल अहिले लिग–२ को छैटौँ स्थानमा रहेको छ । दासानायकेले ब्याटिङ सुधार्न निकै प्रयास गरेका थिए । 

तर, उनले सात महिनाको आफ्नो कार्यकालमा ब्याटिङ सुधार भएको देख्न पाएनन् । झन् उल्टै नेपाली टोलीको ब्याटिङ अति नै कमजोर भएको पाए । ब्याटिङकै कारण महत्वपूर्ण खेलमा अंक गुमाउँदा दासानायकेको निकै आलोचना भयो । अमेरिका र स्कटल्यान्डको भ्रमणमा ब्याटिङ नै हारको मुख्य कारण बन्दा दासानायके आलोचनाको पहिलो पात्र बने ।

See More On

सुझावित समाचार