एमाले अध्यक्ष केपी ओलीले तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधव नेपालसहित पाँच सचिवालय सदस्यहरूको जमघट र छलफललाई फेरि अर्को ‘फुट अभियान’का रूपमा टिप्पणी गरेका छन् ।
‘आज तपाईंहरूले अखबारमा हेर्नुभएको होला, सञ्चारमाध्यमबाट सुन्नुभएको होला नि फेरि एकता अभियान । फेरि अर्को फुट चाहिएको छ, अर्को फुटका लागि फेरि एकता अभियान सुरु भएको छ । यो जुट्नका लागि होइन, फेरि फुट्नका लागि हो, त्यो सफल हुँदैन’ पार्टीको बागमती प्रदेशको प्रशिक्षण कार्यक्रमलाई बुधबार सम्बोधन गर्दै ओलीले भने ।
मंगलबार प्रचण्ड र नेपालसहित तत्कालीन नेकपाका सचिवालय सदस्यहरू झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठबीच समाजवादी केन्द्र बनाउने विषयमा छलफल भएको थियो ।
मंगलबार नै प्रचण्ड र बाबुराम भट्टराईले पनि अलग्गै छलफल गरेका थिए । उनीहरूको पछिल्लो प्रयासलाई इंगित गर्दै ओलीले त्यस्तो टिप्पणी गरेका हुन् । ओलीले ‘वास्तविक’ वामपन्थी पार्टीसँग आफ्नो पार्टीले सहकार्य गर्न सक्ने सन्देश दिएका छन् । तर, अहिले आफूलाई वामपन्थी भन्ने पार्टीहरूको चरित्र वामपन्थीको जस्तो नभएको उनले टिप्पणी गरे ।