सवारी पार्किङका लागि बनाइएको ‘अन्डरग्राउन्ड’ अन्य प्रयोजनमा प्रयोग गर्न नपाइने

मंगलबार, ३ साउन, २०७९
डिजिटल संस्करण

काठमाडौं उपकत्यकामा सवारीसाधन पार्किङका लागि बनाइएका ‘अन्डरग्राउन्ड’ अन्य प्रयोजनमा प्रयोग भएको पाइएको छ । विभिन्न सरकारी, निजी तथा व्यावसायिक भवनमा बनाइएको ‘अन्डरग्राउन्ड’ पार्किङस्थल डिस्को, सोरुम, क्यान्टिन, पसल, राहदानी वितरण, गोदामजस्ता कार्यमा प्रयोग भएको पाइएको हो । 

उपत्यका ट्राफिक प्रहरी कार्यालयले त्यस्ता पार्किङ स्थललाई कारबाही गर्ने भएको छ । सोमबार पत्रकार सम्मेलन गर्दै महाशाखा प्रमुख डिआइजी मीरा चौधरीले जे प्रयोजनका लागि बनाइएको स्थल हो, त्यहीअनुसार प्रयोग गर्नुपर्ने बताइन् । उनका अनुसार पार्किङ स्थललाई अन्य प्रयोजनमा प्रयोग भएकोबारे ट्राफिक प्रहरीले नै अनुगमन गर्नेछन् । यदि कुनै भवनको पार्किङस्थललाई पार्किङमै परिणत नगरे कारबाहीसमेत हुनेछ । 

महाशाखाले नियमित ट्राफिक चेकजाँचमा समेत कडाइ गर्ने भएको छ । जथाभावी हर्न बज्न थालेको भन्दै महाशाखाले त्यसमा पुनः कडाइ गर्न लागेको हो । व्यस्त सडक र चोक क्षेत्रका फुटपाथ व्यवस्थापनमा पनि ट्राफिक प्रहरी परिचालन हुनेछन् । भत्किएका सडक, खाल्डाखुल्डी, खानेपानी तथा विद्युत्ले खनेर छाडेका सडक, बिजुलीको तारलगायत व्यवस्थापनका लागि महाशाखाले सम्बन्धित निकायलाई पहल गर्नेछ ।  

महाशाखाको वार्षिक तथ्यांकअनुसार आर्थिक वर्ष ०७८/७९ मा १२ हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरिएको छ । यसलाई थप कडाइ गर्न सिसिक्यामेरा बढाइएको छ । हाल काठमाडौं उपत्यकाका २२ स्थानमा ट्राफिक प्रहरीले २४ घन्टे ड्युटी गरिरहेको छ । 

त्यस्तै, ३२८ स्थानमा अस्थायी ड्युटीका प्रहरी परिचालन गरिएको छ भने ९३ स्थानमा पिक आवरमा ड्युटी गर्न ट्राफिक खटाइएको छ । २६ वटा मोबाइल कारबाही टोली, २७ वटा क्विक रेस्पोन्स टिम परिचालन, ४० स्थानमा दैनिक तीन घन्टा चेकिङ, ३६ स्थानमा जनपद प्रहरीसँग संयुक्त चेक प्वाइन्ट र प्रहरी नायब उपरीक्षकको कमान्डमा सेक्टरअनुसारका अनुगमन भइरहेको महाशाखाले जनाएको छ । 

See More On

सुझावित समाचार