ताप्लेजुङमा राष्ट्रिय सेवा दलको तालिम सुरु

आइतबार, १ साउन, २०७९
डिजिटल संस्करण

ताप्लेजुङका दुई सामुदायिक विद्यालयमा आइतबारबाट एकसाथ राष्ट्रिय सेवा दलको तालिम सुरु भएको छ । फुङलिङ नगरपालिका–७ को युवावर्ष माध्यमिक विद्यालय र वडा नं ९ को जनता माध्यमिक विद्यालयमा सिसं ४८ औँ ब्याचको ‘एनसिसी’ तामिल सुरु गरिएको हो । 

युवावर्षमा सञ्चालित तालिमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी महेशकुमार पोख्रेलले तालिमबाट राष्ट्रिय भावनाले ओतप्रोत, स्वयंसेवी र इमान्दार जनशक्ति उत्पादन हुने विश्वास आफूले लिएको बताए ।  ‘एनसिसी’ बारेमा जिल्लाको भीमकाली गुल्मका गुल्मपति अदित श्रेष्ठले तालिमको महत्व र यसको उपयोगिताबारे बताएका थिए । उनका अनुसार १०० दिनको तालिममा ७९ दिन स्थानीय रूपमै  प्रशिक्षण गराइने र २१ दिन मोरङको याङसिलामा तालिम दिइनेछ । राष्ट्रिय सेवा दल एक स्वयंसेवक दस्ताको रूपमा परिचित छ । 

तालिम लिने विद्यार्थीको उमेर १४ देखि २४ वर्षको हुनुपर्छ । तालिमको मुख्य उद्देश्य कुशल युवा दस्ता बनाउनु रहेको भीमकाली गुल्मका गुल्मपति श्रेष्ठले बताए । तालिममा मास, पिटी, ड्रिल, विपद्को अवस्थामा स्वयंसेवकको भूमिका तथा कर्तव्यलगायतका विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ । 
 

सुझावित समाचार