बाँझो जग्गाजस्तै देखिने मैदानमा अव्यवस्थित क्रिकेट म्याच खेलाइँदै छ । भिडियोमा खेलाडी र एम्पायरले बोलेको आवाज सुनिँदैन । स्क्रिनको तलको नीलो भागमा, ब्याटिङ गर्ने टोलीको स्कोर, ब्याटिङ गर्ने खेलाडी, अनुमानित स्कोर र बलिङ रेकर्ड देखाइएको छ । खेलमा चेन्नई फाइटर्स गान्धीनगर च्यालेन्जर्सले दिएको १५१ रनको स्कोर पछ्याइरहेको छ ।
आउटफिल्ड खैरो र धुलाम्य देखिन्छ र जमिनमा किला ठोकेर राखिएको सेतो गलैँचाले क्रिकेट पिचको काम गरेको छ । चेन्नई फाइटर्सले हरेकजसो ओभरमा सात रन बनाइरहेको छ । कहिलेकाहीँ स्ट्रोकहरू खेलिन्छ, तर बल बाउन्ड्री पुगेको कहिल्यै देखिँदैन । ब्याट्सम्यान प्रयास एक वा दुई रन लिइरहेको देखिन्छ ।
अम्पायर खेलाडीभन्दा बढी उत्साही देखिन्छन् । उनी अत्यन्त जोशका साथ हात हल्लाउँदै वाइड र नो बलको संकेत गर्छन् । खेलको मिलनसार मुडलाई बिथोल्न नचाहेझैँ बलर क्रिजबाट केही पर फसेका ब्याट्सम्यानलाई समेत रनआउट गर्न त्यति रुचि राख्दैनन् । केही समयमा एकजना मानिस आइसबक्सजस्तो देखिने सामग्री लिएर फिल्डमा दौडन्छन् र खेलाडीहरूलाई ड्रिंक ब्रेक सर्भ गर्छन् ।
खेल अवधिभर न खेलाडीको कुनै क्लोजअप सट देखाइन्छ न फिल्डर र दर्शकहरूको कुनै दृश्य नै देखाइन्छ । यो भारतको कुनै स्थानमा भइरहेको स्थानीय टी–२० क्रिकेट प्रतियोगिताको भिडियो रेकर्डजस्तो देखिन्छ । तर, प्रहरीका अनुसार यो दृश्य गुजरातका केही बेरोजगार पुरुष र रुसका सट्टेबाजहरूले आयोजना गरेको ‘नक्कली’ क्रिकेट प्रतियोगिताको एक खेल हो । प्रहरीले प्रतियोगितामा संलग्न आरोपमा गुजरातबाट चारजनालाई पक्राउ गरेको छ ।
कसैले दिएको सूचनालाई पछ्याउँदै जाँदा प्रहरीले गत साता गुजरातको मेहसान जिल्लामा यो जाली प्रतियोगिता खेलाउने चारजनालाई पक्राउ गर्यो । तिनको खेलमा रुसका तीन सहरका सट्टेबाजहरूले बोली लगाउने गरेका पाइयो र यस कामलाई सञ्चालन गर्न सामाजिक सञ्जाल एप टेलिग्राम प्रयोग भएको प्रहरीले बतायो । घटनाको अनुसन्धान गरिरहेका अधिकारी भावेश राठोडका अनुसार पक्राउ परेकामध्ये एकजनाले विगतमा रुसको एक पबमा काम गरेका थिए । उनले त्यसवेला बनाएका साथीहरूलाई क्रिकेटमा सट्टेबाजी गर्न सहमत गराएका थिए ।
आयोजकमध्ये एकजनाले कमेन्टेटरको भूमिका निभाउँछन् । उनी एक चर्चित भारतीय क्रिकेट पण्डितको नक्कल गरेर कमेन्ट्री गर्छन् । दुईवटा हाई–डिफिनिसन क्यामेराले खिचिएको नक्कली प्रतियोगिताको भिडियो जम्मा २५५ सब्सक्राइबर भएको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिएको छ । त्यसपछि आउँथ्यो सट्टेबाजीको पालो ।
भारतले विश्वको सबैभन्दा धेरै पैसा भएको क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) आयोजना गर्ने गर्छ । तमिलनाडुजस्ता केही राज्यहरूले पनि आइपिएलको ढाँचामा आफ्नै स्थानीय लिग सुरु गरेका छन् । भारतीय घोडा दौडमा लगाइने दाउबाहेक अन्य खेलमा सट्टेबाजी गर्न अनुमति दिँदैन । तर, पनि प्रहरीले बारम्बार क्रिकेट खेलमाथि पैसा लगाउनेहरू पक्राउ गरिरहेको हुन्छ । आइपिएलको एक टोलीका पूर्वनिर्देशक जोय भट्टाचार्यले मेहसानामा अहिले खुलासा भएजस्तो नक्कली लिग भने सट्टेबाजी गराउने उद्देश्यले नै सञ्चालन गरिने बताए । ‘आयोजकहरूले निश्चित खेल लाइभ स्ट्रिम गर्छन् र त्यो सबै बनावटी मात्र हुन्छ, वास्तविक खेल हुँदैन,’ उनले भने ।
१०औँ प्रतियोगितामा पक्रिए आरोपी
मोलीपुर गाउँको दुर्गम स्थानमा नौभन्दा बढी खेल खेलाइसकेपछि ‘मेहसान प्रतियोगिता’को खुलासा भएको प्रहरीले जनाएको छ । प्रहरीले जाली प्रतियोगितालाई बढी वास्तविकजस्तो देखाउन प्रयोग भएका क्रिकेट किटहरू, क्यामेरा र स्पिकर पनि जफत गरेको छ । सेन्चुरी हिटर्स नाम दिइएको यस जाली लिगमा भारतका विभिन्न राज्यको नाममा आधा दर्जन ‘टोली’ बनाइएका थिए । गाउँका करिब दुई दर्जन स्थानीय युवा नै कपडा फेरेर सबै टिममा खेल्ने गर्थे । ती खेलाडीबाहेक दुई अम्पायर र दुई आयोजकहरूलाई रकम भुक्तानी गरेर राखिएको थियो ।
एकजना आयोजकले कमेन्टेटरको भूमिका निभाउन थाले र उनी एक चर्चित भारतीय क्रिकेट पण्डितको नक्कल गरेर कमेन्ट्री गर्थे । दुईवटा हाई–डेफिनिसन क्यामेराले खिचिएको प्रतियोगिताको भिडियो जम्मा २५५ सब्क्राइबर भएको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण गरिन्थ्यो । त्यसपछि आउँथ्यो सट्टेबाजीको कुरा । आयोजकहरूले स्थापना गरेको एक टेलिग्राम च्यानलमार्फत प्रतियोगिताका लागि बोली लगाइन्थ्यो । बोली लगाउनेहरू अधिकांश मस्को, भोरोनेझ र टभरमा बस्ने व्यक्ति रहेको प्रहरीले बतायो ।
खेलहरूलाई थप वास्तविक महसुस गराउन आयोजकले इन्टरनेटबाट डाउनलोड गरिएका भिडको ध्वनिहरू मैदानको छेउमा राखिएका स्पिकरमार्फत निरन्तर चलाइन्थ्यो । अम्पायरहरू वाकिटकी प्रयोग गरेर आयोजकसँग कुराकानी गर्ने व्यवस्था मिलाइएको थियो र आयोजकहरू सो समयमा टेलिग्राममार्फत सट्टेबाजसँग सम्पर्कमा हुन्छन् । अम्पायरहरूले खेलको नतिजा प्रभावित बनाउन मैदानमा रहेका खेलाडीहरूलाई निर्देशन दिने गरेको पनि प्रहरीले पाएको छ ।
प्रतियोगितामा सहभागी टोलीका ‘खेलाडीहरू’लाई प्रतिखेल चार सय भारु तिरिएको राठोडले बताए । उनका अनुसार तिनले अहिले यस मुद्दामा पुलिसलाई सघाउन सहमति जनाएका छन् । ‘मैले यस्तो जाली काम अहिलेसम्म देखेको थिइनँ । यी केटाहरूले सट्टेबाजी गराउनकै लागि गाउँको एक खाली भागलाई सफा गरेर क्रिकेट मैदान बनाए र त्यसमा खेल खेलाएर युट्युबमा प्रसारण गर्न थाले । स्थानीयहरूलाई समेत आफू जाली काममा सहभागी भएको भन्ने अनभिज्ञ थिए । यस खेलमा बाजी लगाउने रुसीहरूका बारेमा भने थोरै मात्र थाहा भएको छ,’ राठोडले भने । अनि प्रतियोगितामा दर्शक कसरी ल्याइएको थियो भन्ने प्रश्नमा राठोडले भने– ‘त्यहाँ दर्शक नै थिएनन् !’
एजेन्सी