सप्तरीको शम्भुनाथ नगरपालिका कार्यालयमा रातारात भइरहेको भुक्तानीबारे बुझ्न पुगेका एक निवर्तमान वडाध्यक्षले मेयरबाटै कुटिएको गुनासो गरेका छन्। घटनापछि मंगलबार पत्रकार सम्मेलन गर्दै वडा नम्बर ६ का निर्वतमान वडाध्यक्ष मो.याकुव राइनले घटनाबारे जानकारी गराएका हुन्।
‘गत शनिबार राति ९ बजेतिर नगरपालिका कार्यालयमा सयौँ मानिसको भिडभाड देखेपछि म पनि पुगेँ र लेखा शाखामा पुगेर कोरोना प्रभावित विपन्नहरूको खातामा पैसा जम्मा गरिदिनु भनेर बोलेको मात्रै थिए,’ उनले भने, ‘ त्यतिमै मेयर जितेन्द्रप्रसाद गुप्ता, उनका छोरा अनिलप्रसाद गुप्ता, सरोज मण्डल, रहमत अलि र शिवशंकर राम मिलेर आफूलाई कुटपिट गरे।’
उनले आफू पनि निर्वतमान जनप्रतिनिधि नै रहेकोले चालू आर्थिक वर्षमा कोरोना प्रभावितहरूले पाउनुपर्ने रकम पठाइदिन भन्नु आफ्नो दायित्व रहेको भन्दै त्यसैको कारण कुटपिट गर्नु अराजक शैली भएको बताए।
‘मेयर आफैँ र आफ्ना सहयोगीहरूबाट गुण्डागर्दी शैलीमा एउटा जिम्मेवार नेतृत्ववर्गलाई कुट्नु कानुनको ठाडो उल्लंघन हो,’ उनले भने, ‘यसविरुद्ध हामी चुप लागेर त बस्दैनौँ, यहाँ भएका भ्रष्टाचार पनि जनतासामु ल्याएरै छाड्छौँ।’
उनका अनुसार कोरोना प्रभावित ९२६ जनाले १० हजारको दरले ९२ लाख ६० हजार रुपैयाँ पाउनुपर्ने हो। तर, मेयरको मनपरीले आर्थिक वर्ष सकिन लाग्दासमेत कोरोना प्रभावितले रकम पाउन नसकेको उनको दाबी छ।
उता मेयर गुप्ताले घटनाको बेला आफू कार्यालयमा नरहेको बताए। ‘सो दिन राति १२ बजेपछि सर्भर डाउन हुने समय थियो र राति अबेलासम्म बसेर काम गरिरहेका कर्मचारीलाई धम्क्याउँदै लोसपा नेता राइन पक्षका व्यक्तिहरू गालीगलौज गरेपछि सेवाग्राहीहरूले नै प्रतिकार गरेको कुरा बुझियो,’ उनले भने ।