जोगबनी नाकाको मिरगन्जस्थित नयाँ पुल एक महिनाभित्रै सञ्चालनमा ल्याउने भारतको आश्वासन

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

लामो रुट समस्याले गर्दा सात महिनादेखि समस्या झेलिरहेका उद्योगी व्यापारीहरूलाई भारतले एक महिनाभित्र विराटनगर जोगबनी भन्सार नाकामा पर्ने मिरगन्जमा नयाँ पुल सञ्चालनमा ल्याउने आश्वासन दिएको छ। 

भारत बिहार राज्यको अररिया जिल्लास्थित मिरगन्जमा रहेको परमान नदीको पुरानो फलामे पुल जीर्ण भएपछि सात महिनादेखि १२० किलोमिटर लामो रिरुट मार्ग प्रयोग गर्न बाध्य उद्योगी व्यवसायीहरूलाई भारतले यही अगस्त २ सम्ममा  निर्माणाधीन नयाँ पुल सञ्चालनमा ल्याउने आवश्वासन दिएको हो। 

पछिल्लो समयमा मिरगन्ज पुलमा समस्या आएपछि उद्योगी व्यापारीहरूले गत पुस महिनादेखि रिरुटको समस्या भोगिरहेका थिए। पटक-पटक निर्माण भइरहेको नयाँ पुल चाँडो सञ्चालनमा ल्याउन र  मर्मत भइसकेको पुरानो पुलको भारबहन क्षमता बढाउन उद्योगीहरूले आग्रह गर्देै आए पनि भारतले बेवास्ता गर्दै आएको थियो। 

पटक-पटकको दबाबपूर्ण आग्रहपछि २७ असारमा भारत बिहार राज्यको अररिया जिल्लाकी डिस्ट्रिक्ट मजिस्ट्रेट (डि.एम.) श्रीमती इनायत खानले मिरगन्जमा यही अगस्त महिनाभित्र नयाँ पुल सञ्चालनमा ल्याउने जानकारी गराएको  मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले बताए। उनका अनुसार डिएम खानले नयाँ पुल सञ्चालनमा नआउन्जेलसम्म पुरानो फलामे पुलको भारबहन क्षमता बढाएर मालबाहक सवारी अवातजावत गराउन दिने फोनमार्फत जानकारी गराएकी हुन्। 

सुझावित समाचार