बागमतीको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान

बिहिबार, २९ असोज, २०८३
प्रिन्ट संस्करण

मकवानपुर/ बागमती प्रदेशको आर्थिक वृद्धिदर अघिल्लो वर्षभन्दा सामान्य सुधार हुने अनुमान गरिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक गतिविधि अध्ययन प्रतिवेदन ०८३/८४ अनुसार बागमतीको आर्थिक वृद्धिदर ५.४० प्रतिशत पुग्ने अनुमान गरिएको हो । अघिल्लो आव ०८२/८३ मा यस्तो वृद्धिदर ५.२९ प्रतिशत थियो । यसअनुसार प्रदेशको वृद्धिदरमा ०.११ प्रतिशत विन्दुको सुधार हुने अनुमान छ ।

समीक्षा वर्षमा प्रदेशको कुल गार्हस्थ्य उत्पादन प्रचलित मूल्यमा २४ खर्ब २३ अर्ब पुग्ने अनुमान गरिएको छ । राष्ट्रिय कुल गार्हस्थ्य उत्पादनमा बागमतीको हिस्सा ३६.७१ प्रतिशत छ भने सात प्रदेशमध्ये राष्ट्रिय अर्थतन्त्रमा सबैभन्दा ठुलो योगदान बागमतीकै रहेको छ ।

प्रतिवेदनअनुसार प्रदेशको आर्थिक संरचना भने सेवा क्षेत्रमा केन्द्रित छ । कुल गार्हस्थ्य उत्पादनमा सेवा क्षेत्रको योगदान ७६.५३ प्रतिशत, उद्योगको १२.२४ प्रतिशत र कृषिको ११.२३ प्रतिशत रहने अनुमान छ । प्रतिवेदनअनुसार राष्ट्रिय सेवा क्षेत्रको उत्पादनमा पनि बागमतीको हिस्सा ४५.४५ प्रतिशत छ ।

आर्थिक गतिविधिसम्बन्धी विवरणमा होटेल क्षेत्रको अकुपेन्सीमा सुधार, बैंक तथा वित्तीय संस्थाको निक्षेप र कर्जा विस्तार, घरजग्गा रजिस्ट्रेसन तथा सवारी दर्तामा वृद्धि देखिएको छ ।

सुझावित समाचार