पोखरा आइपुगे दसैँका भेडा–च्यांग्रा

प्रतिकिलो च्यांग्राको मासु दुई हजार दुई सय र भेडाको एक हजार सात सयसम्म

बुधबार, २८ असोज, २०८३
प्रिन्ट संस्करण

पाेखरा/लगातारको वर्षापछि आएको बाढीपहिरोका कारण विभिन्न स्थानमा भएको सडक अवरोध छिचोल्दै हिमाली क्षेत्रका भेडा–च्यांग्रा पोखरा आइपुगेका छन् । बडादसैँ र तिहारलाई लक्षित गर्दै प्रत्येक वर्ष हिमाली क्षेत्र मुस्ताङ, मुगु, अछाम, डोल्पा, हुम्ला, कालीकोट, जुम्ला, बझाङ, बाजुरालगायतका जिल्लासँगै छिमेकी देश चीनबाट व्यापारीले भेडा–च्यांग्रा पोखरा ल्याउने गर्छन् ।

पोखरामा भेडा–च्यांग्रा बिक्री–वितरणका लागि पोखरा महानगरको ऐतिहासिक पुरानो टुँडिखेलस्थित मैदानसँगै पोखरा– १ मा पर्ने सिम्पानी, जौबारीसँगै पोखरा– २५ मा पर्ने पोखरा–बाग्लुङ राजमार्गको सडक–किनारमा राख्ने गरिन्छन् । यस वर्ष पोखरामा १८ देखि २० हजारको हाराहारीमा भेडा–च्यांग्रा ल्याइने अनुमान गरिएको छ । अहिलेसम्म करिब ३५ हजार भेडा–च्यांग्रा आइसकेका छन् । व्यापारीका अनुसार बुधबार साँझसम्म र केही बिहीबार बिहानसम्म सबै भेडा–च्यांग्रा पोखरा आइपुग्नेछन् । एकल र समूहमा लगानी गरेर व्यापारीले बिक्रीका लागि भेडा–च्यांग्रा पोखरा ल्याउने गरेका छन् ।

nullपोखरा आइपुगेका व्यापारीले च्यांग्राको मूल्य ४८ हजारसम्म, भेडाको ३५ हजारसम्म तोकेका छन् । जिउँदो जोखेर लैजाँदा भेडाको आठ सय र च्यांग्राको एक हजार चार सय प्रतिकिलो मूल्य तोकिएको छ । यसैगरी, च्यांग्राको तयारी मासु दुई हजार दुई सय र भेडाको एक हजार सात सयसम्ममा बिक्री भइरहेका छन् । हिमाली क्षेत्रको जडीबुटी खाएकाले स्वादिलोसँगै स्वास्थ्यका लागि फाइदाजनक हुने भन्दै उपभोक्ताले भेडा–च्यांग्रा रोज्ने गर्छन् । 

विगत दुई–तीन वर्षदेखि व्यापारीले गोठबाट मुस्ताङ बजार ल्याएका भेडा–च्यांग्रा मुस्ताङ बजारबाट सिधै गाडीमा राखेर नौदेखि १० घण्टाको बिचमा पोखरा ल्याइपुर्याउँछन् । यस वर्ष बाढीका कारण बाटोमा पर्ने विभिन्न स्थानमा सडक बन्द रहेकाले वैकल्पिक मार्ग खोज्नुपर्ने, सँगै गाडी र हिँडाएर ल्याउँदा समयसँगै खर्चसमेत बढी भएको मुस्ताङबाट आएका व्यापारी प्रेम छिरिङले बताए । अघिल्लो वर्ष गोठबाट हिँडाएर तीनदेखि चार दिनमा पोखरा आउने गरेकामा यस वर्ष आठदेखि नौ दिन लागेको उनले बताए । सडकका कारण आउने समय बढ्दा एउटा भेडा–च्यांग्राको लागत करिब दुई हजार हाराहारीमा बढेको समेत उनले बताए ।

nullअर्का व्यापारी पोखरा– १, सिम्पानी बस्ने भक्तबहादुर क्षेत्रीले मुस्ताङमै एउटा च्यांग्राको ३८ हजार र भेडाको २५ देखि २९ हजारसम्म परेको बताए । मुगुबाट आएका व्यापारी कर्णबहादुर शाहीले केही स्थानमा बाटो अवरोध रहेकाले समय केही बढी लागेको बताए । आठ–नौ दिन लगाएर आउँदा लागत केही बढेको उनले सुनाए । 

च्यांग्रा खरिदका लागि आएका पोखरा– ५ का रमेश थापाले ४३ हजार हालेर एक च्यांग्रा खरिद गरेको बताए । आफूले खरिद गरेको च्यांग्राको नेट मासु २५ किलो हुन्छ कि भन्ने अनुमान गरेको उनले बताए । 

सुझावित समाचार