उदयपुरमा वार्षिक झन्डै ८ हजार मेट्रिकटन मासु उत्पादन, ६१ प्रतिशत जिल्लामै खपत

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण


उदयपुर/ उदयपुरमा मासु उत्पादन बढ्दै गएको छ। गत आर्थिक वर्ष ०८२/८३ मा जिल्लामा सात हजार ७९१ मेट्रिकटन मासु उत्पादन भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा दुई सय २१ मेट्रिकटन बढी हो।

जिल्लामा उत्पादन हुने मासुको ६१ प्रतिशत स्थानीय बजारमै खपत हुने गरेको छ भने बाँकी ३९ प्रतिशत अन्य जिल्लामा बिक्री तथा ढुवानी हुने गरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको तथ्यांकले देखाएको छ। 
केन्द्रका अनुसार आर्थिक वर्ष ०८१/८२ मा जिल्लामा सात हजार ५७० मेट्रिकटन मासु उत्पादन भएको थियो । त्यसअघि आर्थिक वर्ष ०८०/८१ मा सात हजार ६०७ मेट्रिकटन उत्पादन भएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरका प्रमुख सुकराज लिम्बूले जानकारी दिए।

तथ्यांकअनुसार आर्थिक वर्ष ०८०/८१ को तुलनामा ०८१/८२ मा मासु उत्पादन ३६ मेट्रिकटन घटेको थियो। तर, त्यसपछिको आर्थिक वर्षमा उत्पादन उल्लेख्य बढेको छ । पछिल्लो एक वर्षमा मासु उत्पादन करिब २.९२ प्रतिशतले वृद्धि भएको हो । लिम्बूका अनुसार दुई वर्षको अवधिमा भने कुल उत्पादन एक सय ८५ मेट्रिकटन अर्थात् करिब २.४३ प्रतिशतले बढेको छ ।

लिम्बूका अनुसार गत आर्थिक वर्ष जिल्लामा सबैभन्दा धेरै सुँगुर–बंगुरको मासु उत्पादन भएको छ । उक्त अवधिमा दुई हजार १३९ मेट्रिकटन सुँगुर–बंगुरको मासु उत्पादन भएको थियो । त्यसैगरी खसीबोकाको एक हजार ९४४, कुखुराको एक हजार ८३५ र राँगाको एक हजार ७५८ मेट्रिकटन मासु उत्पादन भएको थियो । भेडाको एक दशमलव पाँच र हाँसको १० मेट्रिकटन मासु उत्पादन भएको केन्द्रले जनाएको छ। 

लिम्बूले जिल्लामा आवश्यकताभन्दा बढी मासु उत्पादन हुने गरेको बताए। ‘हाम्रो तथ्यांकअनुसार जिल्लामा कुल उत्पादनको ६१ प्रतिशत खपत हुन्छ । बाँकी मासु जिल्ला बाहिर जाने गरेको छ,’ उनले भने। उनका अनुसार उदयपुरमा आवश्यक पर्ने मासुमध्ये कहिलेकाहीँ मात्रै बाहिरी जिल्लाबाट बोइलर कुखुरा ल्याउनुपर्ने हुन्छ। सुनसरीको बराह क्षेत्रआसपास र सप्तरीको सिसवारी क्षेत्रबाट कुखुरा आउने गरेको उनले बताए।

दसैँको समयमा उदयपुरका आठवटै स्थानीय तहबाट खसीबोका, राँगा र सुँगुर–बंगुर जिल्लाबाहिर बढी बिक्री हुने गरेको लिम्बूले बताए। चाडपर्वबाहेकका समयमा पनि पशुपन्छी तथा मासुजन्य उत्पादन बाहिरी जिल्लामा ढुवानी हुने गरेको उनको भनाइ छ। 

सुझावित समाचार