पोखरालाई चलायमान बनाउँदै फ्लाई दुबई, १३ महिनासम्म टिकट बुकिङ खुला

६ महिनाका लागि खुलेको बुकिङ अवधि सात महिना थपियो, उडान नियमित हुनेमा पर्यटन व्यवसायी आशावादी

बुधबार, २८ असोज, २०८३
डिजिटल संस्करण

कास्की/ संयुक्त अरब इमिरेट्स (युएई) को वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडानका लागि सन् २०२७ अक्टोबर ३० सम्म टिकट बुकिङ खुला गरेको छ।

सुरुमा ६ महिनाका लागि खुला गरिएको बुकिङ अवधि सात महिना थपिएसँगै पर्यटन व्यवसायीमा पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान नियमित हुने आशा बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट दुबई–पोखरा–दुबई उडानका लागि गत २५ जेठमा अनुमति पाएपछि फ्लाई दुबईले २८ जेठमा उडान तालिका सार्वजनिक गर्दै टिकट बुकिङ खुला गरेको थियो। कम्पनीले ७ असोज (२३ सेप्टेम्बर २०२६) देखि उडान सुरु गर्ने गरी सुरुमा १२ चैत २०८३ (२६ मार्च २०२७) सम्मका लागि बुकिङ खुला गरेको थियो।

सुरुमा ६ महिनाका लागि खुला गरिएको बुकिङ अवधि सात महिना थपेर १३ कात्तिक २०८४ (३० अक्टोबर २०२७) सम्म पुर्याइएको हो।

फ्लाई दुबईका बिक्री प्रतिनिधिमध्ये एक तथा पोखरास्थित नमस्ते ट्राभल्सका प्रबन्ध निर्देशक एवं पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष पोमनारायण श्रेष्ठले मंगलबार कम्पनीले टिकट बुकिङको अवधि बढाएको जानकारी दिए। यात्रुको चाप बढ्दै गएपछि बुकिङ अवधि थपिएको उनको भनाइ छ।

अहिलेको तुलनामा दसैँपछि दुबई जाने र दुबईबाट पोखरा आउने यात्रुको सङ्ख्या बढ्ने क्रममा रहेको श्रेष्ठले बताए। काठमाडौंको तुलनामा पोखराबाट दुबई आउजाउ गर्दा टिकटमा करिब पाँच हजार रुपैयाँ सस्तो पर्ने भएकाले पनि यात्रुले पोखरालाई रोज्न थालेको उनले बताए।

दुबईलाई ट्रान्जिट बनाएर विश्वका २५० भन्दा बढी गन्तव्यमा जान सकिने भएकाले गण्डकी प्रदेशसहित छिमेकी जिल्लाका यात्रुले समेत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रा गर्न थालेको उनको भनाइ छ। बुकिङ अवधि थपिएसँगै उडान नियमित रूपमा सञ्चालन हुनेमा पर्यटन व्यवसायी आशावादी रहेको श्रेष्ठले बताए।

उडान नियमित हुनेमा आशावादी

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पनि टिकट बुकिङ अवधि थपिनुलाई सकारात्मक रूपमा लिएका छन्। सुरुमा ६ महिनाका लागि मात्र बुकिङ खुला गरिएकामा अवधि थपेर आगामी कात्तिकसम्म पुर्याइनु खुसीको विषय भएको उनले बताए। यसले उडान निरन्तर हुने सङ्केत गरेको उनको भनाइ छ।

पोखराबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु भए पनि यसबारे धेरैलाई जानकारी नभएकाले सरोकारवाला सबै मिलेर सूचना प्रवाह गर्न आवश्यक रहेको आचार्यले बताए। महानगरपालिकाले यस विषयमा वैदेशिक रोजगार व्यवसायीसँग छलफल गरिसकेको उनले जानकारी दिए।

पोखरा तथा आसपासका जिल्लामा बसोबास गर्ने नागरिकसम्म उडानसम्बन्धी जानकारी पुर्याउन सके यात्रुको संख्या बढाउन र उडानलाई नियमित बनाउन थप सहयोग पुग्ने उनको विश्वास छ।

हाल दुबईबाट पोखरा आउने यात्रुको तुलनामा पोखराबाट दुबई जाने यात्रुको संख्या केही कम भए पनि दसैँपछि जाने यात्रुको संख्या बढ्ने अपेक्षा गरिएको आचार्यले बताए। अहिले विमान पोखरा अवतरण गरेको एक घण्टापछि नै दुबईका लागि उड्ने गरेकामा उक्त अन्तराल बढाएर दुई घण्टा पुर्याउने तयारी भइरहेको उनले जानकारी दिए। यसले पनि यात्रुको संख्या बढाउन सहयोग पुग्ने उनको भनाइ छ।

चार्टर्ड उडानबाट व्यावसायिक उडानसम्म

२०७९ पुस १७ मा उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा २०८० फागुन ११ मा इन्स्ट्रुमेन्ट फ्लाइट रुल्स (आइएफआर) लागू भएपछि अन्तर्राष्ट्रिय तथा रात्रिकालीन उडानका लागि आवश्यक व्यवस्था भएको थियो। विमानस्थलमा २०७९ फागुन १८ देखि रात्रिकालीन उडान सुरु भए पनि अन्तर्राष्ट्रिय चार्टर्ड उडानबाहेक नियमित व्यावसायिक उडान हुन सकेको थिएन।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय उडान २०८० असार ६ मा भएको थियो। चीनको छेन्दु विमानस्थलबाट आएको सिचुवान एयरलाइन्सको ए–३१९ जहाजले चार्टर्ड उडानमार्फत पोखरामा अवतरण गरेको थियो।

त्यसपछि २०८० भदौ २३ मा भुटानको ड्रुक एयरले पारो अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि चार्टर्ड उडान गरेको थियो। उक्त उडानबाट चालक दलका सात सदस्य र तीन पर्यटक गरी १० जना पोखरा आएका थिए। पोखराबाट भने ४२ यात्रु र चालक दलका सात सदस्य गरी ४९ जनालाई लिएर जहाज थिम्पुका लागि उडेको थियो। उक्त उडान पोखराबाट भएको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान थियो।

त्यसयता पोखरामा विभिन्न चार्टर्ड उडान हुँदै आएका थिए। फ्लाई दुबईले ७ असोजदेखि व्यावसायिक उडान सुरु गरेपछि भने पोखराको अन्तर्राष्ट्रिय हवाई सम्पर्क विस्तार हुने र पर्यटन गतिविधि बढ्ने अपेक्षा गरिएको छ।

फ्लाई दुबईले हाल १६५ यात्रु क्षमताको बोइङ ७३७ म्याक्स ८ जहाजबाट दुबई–पोखरा–दुबई उडान गरिरहेको छ। उडानमार्फत पोखरा आउने यात्रुलाई लक्षित गर्दै यहाँका पर्यटन व्यवसायीले विभिन्न सेवामा छुट तथा विशेष प्याकेजसमेत सार्वजनिक गरेका छन्।

विमानस्थल प्रयोग गर्ने कम्पनीलाई सरकारी सहुलियत
सरकारले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीलाई आकर्षित गर्न २०८५ भदौसम्मका लागि विभिन्न सहुलियत घोषणा गरेको छ। उक्त व्यवस्थाअनुसार पार्किङ, ल्यान्डिङ र नेभिगेसन शुल्कमा शतप्रतिशत तथा ग्राउन्ड ह्यान्डलिङ सेवाको शुल्कमा ५० प्रतिशत छुट दिने घोषणा गरिएको छ।

होटेल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले फ्लाई दुबईले उडानको बुकिङ अवधि थप गर्नुलाई सकारात्मक संकेतका रूपमा लिएका छन्। यसले उडान निरन्तर हुने आशा जगाउनुका साथै पोखराको पर्यटन क्षेत्रमा मात्र नभई समग्र आर्थिक गतिविधिमा उत्साह थपेको उनको भनाइ छ।

साढे तीन हजार यात्रु पोखरा आए
फ्लाई दुबईको उडान तालिकाअनुसार जहाज हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्छ भने साँझ ७ः१५ बजे दुबईका लागि उडान भर्छ।

७ असोजदेखि हालसम्म फ्लाई दुबईको उडानमार्फत करिब तीन हजार पाँच सय यात्रु पोखरा आएका छन् भने पोखराबाट करिब एक हजार आठ सय यात्रु दुबईतर्फ गएका छन्।

यात्रुको संख्या बढ्दै जानु र टिकट बुकिङको अवधि विस्तार हुनुले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने अपेक्षा बढाएको छ। यसबाट पोखरा र समग्र गण्डकी प्रदेशको पर्यटन तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने पर्यटन व्यवसायीको विश्वास छ।

सुझावित समाचार