बलात्कार मुद्दामा उजुरीको हदम्याद बढाउने विधेयक प्रतिनिधिसभाबाट पारित

मंगलबार, २८ असार, २०७९
डिजिटल संस्करण

राष्ट्रिय सभाबाट पनि पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनी मान्यता पाउने 

यौनजन्य हिंसा तथा बलात्कारका घटनामा उजुरीकोे हदम्याद बढाउने विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ । प्रतिनिधिसभाको सोमबारको बैठकले पारित गरेको ‘यौन हिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न बनेको विधेयक’ ६० दिनभित्र राष्ट्रिय सभाबाट पारित भएर राष्ट्रपतिले प्रमाणीकरण गरेपछि कानुनी मान्यता पाउनेछ । 

संशोधनअनुसार नाबालिग अवस्थामा भएका बलात्कार घटनामा उजुरी गर्ने हदम्याद अब तीन वर्ष कायम हुनेछ । यसअघि मुलुकी अपराधसंहिता, २०७४ को दफा २२९ मा यससम्बन्धी घटनामा हदम्याद एक वर्ष मात्र थियो । घटनाको एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था रहेकामा अरू दुई वर्ष बढाइएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयकअनुसार नाबालिकाको उमेर १८ वर्ष पूरा भएको मितिले तीन वर्षभित्र उजुरी दिन सकिनेछ । त्यस्तै, बलात्कार घटनामा पूर्ण अशक्त, अपांगता भएका, सुस्त मनस्थिति भएका र ७० वर्षभन्दा माथिका पीडितले पनि तीन वर्षभित्र उजुरी दिन सक्नेछन् ।

बालिग उमेरको हकमा पनि उजुरीको हदम्याद बढेको छ । १८ वर्षदेखि ७० वर्ष उमेरका पीडितले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था थियो । तर, अब संशोधनमार्फत दुई वर्ष कायम गरिएको हो ।

कैद सजायको अतिरिक्त जरिवाना 
बलात्कार एवं यौनजन्य हिंसाका मुद्दामा कैद सजायको अतिरिक्त जरिवानाको व्यवस्था हुने गरी विधेयक पारित भएको छ । १० वर्षभन्दा कम उमेरका बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेरका महिलामाथि बलात्कारको पुष्टि भएमा पीडकलाई जन्मकैदको व्यवस्था मुलुकी संहिता ऐन, २०७४ मा छ । अब कसुरदारलाई सात लाख जरिवाना पनि हुने व्यवस्था राखिएको छ । १० वर्ष वा १० वर्षभन्दा बढी १४ वर्षभन्दा कम उमेरका बालिका बलात्कार मुद्दामा कसुरदारलाई १८ देखि २० वर्षसम्म कैदको व्यवस्था रहेकामा सात लाख जरिवाना थपिएको छ ।

१४ वर्ष वा १४ वर्षभन्दा बढी र १८ वर्षभन्दा कम उमेर समूहमाथि बलात्कार पुष्टि भएमा पीडकले थप पाँच लाख जरिवाना तिर्नुपर्नेछ । यसअघि १४ वर्ष वा १४ वर्षभन्दा बढी १६ वर्षभन्दा कम उमेरकाको हकमा १२ देखि १४ वर्ष र १८ वा १८ वर्षभन्दा कम उमेर समूहमाथि बलात्कार पुष्टि भएमा १० देखि १२ वर्षसम्म कैद सजायको व्यवस्था थियो । १८ वर्षभन्दा माथि उमेरका महिलामाथि बलात्कार पुष्टि भए पीडकलाई सातदेखि १० वर्षसम्म कैदको व्यवस्था छ । प्रतिनिधिसभाले पारित गरेको विधेयकमा कसुरदारलाई तीन लाख जरिवाना गराउने व्यवस्था समेटिएको छ ।

झुटो उजुरी गर्नेलाई आधा सजायको प्रस्ताव भने हटाइयो
सरकारले १६ जेठमा संसद्मा विधेयक प्रस्तुत गर्दा झुटो उजुरी गर्नेलाई आधा सजाय हुने व्यवस्था समेटेको थियो । तर, प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त प्रस्ताव हटाइदिएको थियो । यसअघि यौनहिंसाविरुद्धका केही ऐनलाई संशोधन गर्न अध्यादेश, २०७८ ल्याइएको थियो, जुन खारेज भइसकेको छ । सरकारले ल्याएको विधेयकमाथि संशोधन गर्दै समितिले २४ असारमा संसद्मा प्रतिवेदन पेस गरेको थियो । सोही प्रतिवेदनका आधारमा प्रतिनिधिसभाले विधेयक पारित गरेको हो । यद्यपि, मुलुकी फौजदारी कार्यविधि संहितामा ‘झुटो बकपत्रमा कारबाही हुने’ व्यवस्था छ । झुटो बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सकिने व्यवस्था छ । 

कहाँ–कहाँ भयो संशोधन ?
- नाबालिग बलात्कार मुद्दामा उजुरी हदम्याद तीन वर्ष कायम ः नाबालिग अवस्थामा भएका बलात्कार घटनामा उजुरी गर्ने हदम्याद अब तीन वर्ष कायम हुनेछ । यसअघि मुलुकी अपराधसंहिता, २०७४ को दफा २२९ मा यससम्बन्धी घटनामा हदम्याद एक वर्ष मात्र थियो । घटनाको एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था रहेकामा अब थप दुई वर्ष बढाइएको हो । प्रतिनिधिसभाले पारित गरेको विधेयकअनुसार नाबालिकाको उमेर १८ वर्ष पूरा भएको मितिले तीन वर्षभित्र उजुरी दिन सकिनेछ । त्यस्तै, बलात्कार घटनामा पूर्ण अशक्त, अपांगता भएका, सुस्त मनस्थिति भएका र ७० वर्षभन्दा माथिका पीडितले पनि तीन वर्षभित्र उजुरी दिन सक्नेछन् ।

- १८ वर्षमाथिका व्यक्तिका हकमा उजुरीको म्याद दुई वर्ष ः बालिग उमेरको हकमा पनि उजुरीको हदम्याद बढेको छ । १८ वर्षदेखि ७० वर्ष उमेरका पीडितले बलात्कारको घटनामा एक वर्षभित्र उजुरी दिइसक्नुपर्ने व्यवस्था रहेकामा अब संशोधनमार्फत दुई वर्ष कायम गरिएको छ ।

सुझावित समाचार