पोखराका पूर्वमेयरले गरेको जग्गा भाडा सम्झौता प्रकरण : पाँच सदस्यीय छानबिन समिति गठन

आइतबार, २६ असार, २०७९
डिजिटल संस्करण

पोखरा महानगरपालिकाका पूर्वमेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिने दुई दिनअघि पोखराका तीन ठाउँका ६३ रोपनी जग्गा ज्वाइँलगायतलाई भाडामा दिएको प्रकरण छानबिनका लागि समिति गठन गरिएको छ । पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको अध्यक्षतामा शनिबार बसेको बैठकले नापी कार्यालय कास्कीका प्रमुख दिनेश काफ्लेको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

मेयर आचार्यका प्रेस संयोजक गोविन्द सुवेदीका अनुसार समितिमा विष्णु बराल, झपिन्द्रराज रेग्मी, देवेन्द्र रानाभाट र सुकदेव गौतम सदस्य छन् । समितिलाई सत्य–तथ्य छानबिन गरेर एक हप्ताभित्र प्रतिवेदन पेस गर्ने समय दिइएको छ । त्यस्तै, बैठकले ती जग्गा भाडामा लिने सम्झौता गरेका कम्पनीलाई तत्काल कुनै काम अगाडि नबढाउन पत्राचार गर्ने निर्णयसमेत गरेको छ । 

पोखरा नगर विकास समितिको नाममा रहेको राष्ट्र बैंक चोकस्थित पर्यटन बसपार्क, नयाँ बजारस्थित यातायात कार्यालयअगाडिको तथा राष्ट्र बैंक चोक र मुस्ताङ चोकको बीचमा पर्ने सडकको आडमा रहेको गल्फ कोर्सको जग्गा १० देखि २५ वर्षसम्मका लागि भाडामा दिने गरी ३ जेठमा सम्झौता गरेका थिए । गल्फ कोर्सको ४० रोपनी जग्गा ज्वाइँ विष्णु भण्डारीको कम्पनी गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई मासिक दुई लाख ७२ हजारका दरले २५ वर्षका लागि भाडामा दिएका थिए । जग्गाको सम्झौतामा जिसी र भण्डारीको हस्ताक्षर छ । भण्डारी जिसीकी जेठी छोरी मञ्जुका देवर हुन् । 

भाडामा दिन सम्झौता गरिएका तीन स्थानमध्ये राष्ट्र बैंक चोक र मुस्ताङ चोकको बीचमा पर्ने सडकको तल्लो भागमा रहेको गल्फ कोर्सको जग्गा भने जिसीले आफ्ना ज्वाइँलाई भाडामा दिएका थिए । २५ वर्षका लागि दिइएको ४० रोपनी क्षेत्रफल रहेको गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई मासिक दुई लाख ७२ हजार भाडा लिने गरी गरिएको सम्झौता समितिका तर्फबाट जिसी र प्रालिका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । 

जिसीले १८ रोपनीमा निर्माण गरिएको पर्यटन बसपार्क १० वर्षका लागि शिला शालिग्राम निर्माण सेवा प्रालिलाई मासिक दुई लाख ७५ हजार र यातायात कार्यालयअगाडिको पाँच रोपनी जग्गा राइजिङ कन्स्ट्रक्सन प्रालिलाई १० वर्षका लागि मासिक एक लाख ३५ हजार भाडामा दिने सम्झौता गरेका थिए । ५ जेठसम्म कार्यकाल रहेका उनले समितिका अन्य १० जनालाई पत्तै नदिई ३ जेठमा जग्गा भाडामा दिने सम्झौता गरेका थिए । उक्त सम्झौता हुँदा स्थानीय तह निर्वाचनको मतगणना चलिरहेको थियो । 

See More On

सुझावित समाचार