राजस्वको संशोधित लक्ष्य पनि भेट्टाउन मुस्किल

सरकारले यो वर्ष ११ खर्ब ५२ अर्ब राजस्व संकलन गर्ने संशोधित लक्ष्य लिएको छ, यो लक्ष्य भेट्न एक सातामा झन्डै दुई खर्ब राजस्व उठाउनुपर्ने देखिन्छ, आयात निरुत्साहनको नीति र कमजोर पुँजीगत खर्चका कारण अपेक्षाअनुसार राजस्व उठेन

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

सरकारले चालू आर्थिक वर्ष ०७८/७९ मा लिएको राजस्व संकलनको लक्ष्य पूरा नहुने देखिएको छ । चालू आर्थिक वर्षमा सरकारले ११ खर्ब ८० अर्ब राजस्व संकलन गर्ने लक्ष्य लिएको थियो । तर, आर्थिक वर्ष सकिनुभन्दा ४५ दिनअघि १५ जेठमा आगामी आर्थिक वर्षको बजेट वक्तव्यमार्फत सरकारले चालू आवको राजस्व संशोधन गर्दै ३२ अर्ब रुपैयाँ घटाइएको छ । अर्थात्, यस वर्ष ११ खर्ब ५२ अर्ब राजस्व संकलन गर्ने संशोधित अनुमान गरिएको छ । तर, बुधबारसम्म नौ खर्ब ८७ अर्ब मात्रै राजस्व संकलन भएको छ, जुन झन्डै दुई खर्ब रुपैयाँले कमी हो । 

सरकारले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा गर्दै बजेटको आकार घटाएको थियो । तर, राजस्वको लक्ष्य भने संशोधन गरेको थिएन । संशोधित लक्ष्य पूरा गर्न अझै एक खर्ब ६५ अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ । भन्सार विभाग र आन्तरिक राजस्व विभागले लक्ष्यअनुसार कर संकलन गर्न गाह्रो हुने सन्देश मन्त्रालयमा दिइसकेका छन् । सरकारले लिएको आयात निरुत्साहनको नीति र कमजोर पुँजीगत खर्चकै कारण लक्ष्यअनुसार राजस्व संकन हुन नसकेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । अबको एक सातामा दुई खर्ब राजस्व संकलन हुने सम्भावना नरहेको उनीहरूको भनाइ छ । ‘आयात निरुत्साहनको नीतिले भन्सार राजस्वमा कमी आएको र अपेक्षाअनुसार आर्थिक गतिविधि नबढेकाले आन्तरिक राजस्व न्यून उठ्दा राजस्व संकलनको वार्षिक लक्ष्य नभेटिने भएको हो,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘वार्षिक लक्ष्यमा एक–डेढ खर्ब नपुग्ने देखिएको छ ।’

आन्तरिक तथा बाह्य कारण मुलुकको अर्थतन्त्र अहिले दबाबमा छ । खासगरी अर्थतन्त्रको बाह्य क्षेत्रमा दबाब देखिएपछि सरकारले आयात निरत्साहनको नीति लिएको हो । यसले गर्दा अपेक्षाअनुसार भन्सार राजस्व संकलन हुन सकेको छैन । सरकार आफैँले लक्ष्यअनुसार पुँजीगत खर्च गर्न नसक्दासमेत आन्तरिक कर अपेक्षाअनुसार उठ्न सकेको छैन । मूल्यवृद्धि, तरलता संकटलगायत कारणले पनि आर्थिक गतिविधि अपेक्षाअनुसार बढ्न नसकेको अर्थ मन्त्रालयका अधिकारीहरू बताउँछन् । यसले गर्दा लक्ष्यअनुसार आन्तरिक राजस्व उठ्न नसकेको उनीहरूको भनाइ छ । 

चालू आवमा सरकारले पाँच खर्ब ३० अर्ब भन्सार राजस्व संकलन गर्ने लक्ष्य लिएको छ । तर, हालसम्म करिब चार खर्ब ९० अर्ब भन्सार राजस्व संकलन भएको छ । भन्सार राजस्वको लक्ष्य पूरा गर्न अबको एक सातामा ४० अर्ब राजस्व संकलन गर्नुपर्ने हुन्छ । तर, यो वर्षभरि उठेको मासिक राजस्वको दर र असारको बुधबारसम्म भएको संकलनको दरलाई हेर्दा अब ४० अर्ब उठ्ने सम्भावना नरहेको मन्त्रालयका अधिकारीहरू बताउँछन् । 

सरकारले यस वर्ष पाँच खर्ब ३७ अर्ब आन्तरिक राजस्व उठाउने लक्ष्य लिएको थियो । तर, हालसम्म चार खर्ब २५ अर्ब रुपैयाँ मात्रै राजस्व संकलन भएको छ । आन्तरिक राजस्वको लक्ष्य पूरा गर्न अबको एक सातामा एक खर्ब १२ अर्ब रुपैयाँ संकलन गर्नुपर्ने हुन्छ । तर, यो सम्भव नभएको ती अधिकारीले बताए । ‘विभागले नै लक्ष्यअनुसार राजस्व नउठ्ने भनिसकेको छ, हाम्रो मूल्यांकन पनि त्यही हो,’ उनले भने, ‘खासगरी सरकारले पुँजीगत खर्च गर्न नसकेकै कारण आन्तरिक राजस्वमा धक्का लागेको हो ।’ चालू आवमा सरकारले एक खर्ब १२ अर्ब ६३ करोड गैरकर राजस्व उठाउने लक्ष्य लिएको छ । तर, हालसम्म ७१ अर्ब ९४ करोड मात्रै संकलन भएको छ । 


आन्तरिक राजस्व विभागका महानिर्देशक रितेशकुमार शाक्यले लक्ष्यअनुसार राजस्व संकलनका लागि प्रयास गरिरहेको बताए । तर, लक्ष्य भेट्न मुस्किल देखिएको उनले स्विकारे । ‘पुँजीगत खर्च कमजोर हुँदा भ्याट उठेन, तरलतालगायत कारण रकमको मोबिलिटी कम भयो, यसले गर्दा पनि आन्तरिक राजस्व अपेक्षाअनुसार उठ्न सकेन,’ उनले भने, ‘तर, अन्तिमसम्ममा लक्ष्य भेट्टाउन प्रयासरत छौँ ।’

भन्सार विभागका महानिर्देशक कमलप्रसाद भट्टराईले अन्तिमसम्ममा लक्ष्यअनुसार भन्सार राजस्व उठ्ने दाबी गरे । ‘आयात निरुत्साहनको नीतिले भन्सार राजस्व अपेक्षाअनुसार उठ्न नसकेकै हो,’ उनले भने, ‘तर, टाइट–टाइट गरेरै भए पनि अन्तिमसम्म लक्ष्य पुग्ने हाम्रो अनुमान छ ।’

See More On

सुझावित समाचार